Sansar News- Nepal's Fast Khabar Online News Portal

कथा : समानान्तर

बिष्णु थापा,सिलिगुडी, भारत 
४ हप्ता पहिले

छेउको गाउँमा तीन चार जना एस एल सी ( दशौं श्रेणी ) को छात्रहरूलाई पढ़ाउनु जान्थ्यो मदन । हप्तामा पाँच दिन । बिस्तार बिस्तार पढ़ाईको प्रेशर अझ बढ़्नु लाग्यो । हप्तामा सातै दिन पढ़ाउन जानु थाल्यो । शायद जाँच नजिकै लाग्यो क्यारे’ !

बुबा रणबहादुर साह्रै सोझो भए तापनि उमेर त्यसै बितेको होइन क्यारे’ ! मनमनै सोचे, ‘यति साह्रो मन लगाएर पढ़ाउने सर मेरो छोरो मात्र रहेछ क्यारे’ यो संसारमा ।’ आजभोलि भन्दा भन्दै कानमा information ( सूचना ) आयो , छोरो त पढ़ाउने सर मात्र होइन, भविष्यको निम्ति ज्वाँईं बन्न पनि जाँदोरहेछ । पशुपतिको यात्रा सिद्राको ब्यापार भने जस्तो ।

समय बित्दै गयो, कुरा बढ्दै गयो । नभन्दै मदनको बुबा मुमालाई छात्राको मुमा बुबाको पक्षबाट भेटघाटको निम्ति निम्तो भयो । छोराको मुमा बुबा न हो , तोकिएको दिन निकै ग्वाँक्क भएर नै गए । छात्राको बुबामुमासम्म आउने खबर पुगेकोले गेटमा छात्राको मुमा बुबा स्वागतको निम्ति उपस्थित थिए ।

“नमस्कार ! हजुरहरूलाई स्वागत छ !” पहिला कहिल्यै नदेखेको हुनाले रणबहादुरले अड़कल लगायो । केटीको बुबा नै हुनुपर्छ । हाँस्दै प्रत्यूत्तर दियो ।”नमस्कार ! ” एकछिन अक्मकिंदै केही सोच्दै रणबहादुरले भन्यो “यहाँलाई कहीं देखेको जस्तो लाग्यो ?” “हजुर ! सही भन्नु भयो । यहाँले ऐनामा देख्नु भाको मलाई ।” उहाँको भन्नुको तात्पर्य बुझेर मरी मरी हाँस्यो । केटीको बुबाको अनुहार पनि आफू जस्तै रहेछ काटाकुटी । जुम्ल्याहा जस्तै । चारैजना आँगनमा प्रवेश गरे । केटीको घर के भन्नु आलिशान बिल्डिङ नै रहेछ । चारैपटि पक्का रंग गरिएको देवल, ठूलो गेट, आँगन पनि पक्का र छेउछेउमा ठूला ठूला गमलाहरूमा फूलको लटरम्म बोट , पार्किङ गरिएको कारले घरको भव्यता छर्लङ्गै बुझिन्छ । रणबहादुरका दम्पति गदगद हुँदै आँगनमा पुगे । निकै गफ गरियो, आफ्नै जात । उनीहरू पनि फर्साइलो । केटी ( हुनेवाला बुहारी ) ले चिया बिस्कुट दिई । सुन्दरी थिई, मनले खोजेको जस्तै ।

” नानी ! तिम्रो नाम के हो ! अहिले नै बुहारी भनेर बोलाउनु पनि भएन ।” हाँस्दै रणबहादुरले सोध्यो, ” म त अलिक फटाहा पो छु है अहिले नै आफूलाई ससुरा सम्झिनु त भएन नि !”
“मीरा !” लजाउँदै बोली केटी ।
” जौं त नानी ! अर्को रूममा ”
पुलुक्क हेरी आफ्नो आमालाई । शायद आमाले जाने ईशारा गरी । केटी अघि अघि लागी , रणबहादुरको दम्पति पछि पछि । शायद केटीको बेडरूम होला, पसे । बेडमा नै बसाई । आफू पनि बसी ।
“नानीलाई एकदुई वटा कुरा सोध्छु नढाँटी भन ल !”
‌‌ उसले टाउको मात्र हल्लाई, हुन्छ भन्ने संकेत दिंदै ।
” नानीको मेरो छोरासंग लभ पनि थियो कि मुमाबुबाले नै कुरा चलाउनु भएको ?”
“……………” अरकच्च परी । जवाफ दिनु शायद अप्ठ्यारो पर्यो ।
” फाड़ाङफुड़ुङ भन । जिन्दगीको सवाल हो ।” रणबहादुरको श्रीमती बोलिन् ।
“मुमाबुबाले ….!” बिस्तार बोली ।
” आजभोलि त सबै केटा केटीको आआफ्नो लभर हुन्छ , तिम्रो पनि त कोही होला नि !”
‌ “अहँ छैन ।”
“किन ढाँटेकी ? हामीले त सुनेको, तिम्रो पनि छ अरे !” मन चोर्ने प्रयास गरिन् रणबहादुरको श्रीमतीले ।
” छैन ” अलिकति मुस्कान छर्दै बोली मीरा ।
‌‌ ” होइन नि ! भोलिपर्सि बिहेको अगाडि अर्को केटो संग भाग्यौ भने हाम्रो इज्जत केही रहँदैन ।”
” त्यस्तो हुँदैन ।” मीरा पुनः बोली ।
” त्यसो हो भने तिमी मदनसंग बिहे गर्न राजी छौं ?”
“…………” बोलिनन्, टाउको मात्र हल्लाई ।
” मुखले भनन । राजी छौ वा राजी छैनौं । टाउको त बाख्राले पनि हल्लाउँछ । हामी ढुक्क हुन चाहान्छौं ।”
” राजी छु ।” बिस्तार बोली ।
” खोई ! आजभोलि कान पनि अलिक कम्ति पो सुन्नु थालेकी छु । अलिक सार्हो भनन ।”
‌ “राजी छु ! ” अलिक साह्रो बोली मीरा ।
“ह्म्म्म्म ! ये हुई ना पक्की बात ” । भन्दै मुस्काउँदै रणबहादुरको श्रीमती बोलिन् ।
दुई परिवारमा आफन्त साइनो जोड़िने भयो । त्यो दिन बेलुकीसम्म कुराकानी भयो । बेलुकी कुखुराको मासु, खसीको मासु, पापड़ र बिभिन्न आइटमका तरकारीहरू खाई विदा लिए । फेरि आउने शनिबार मीराको मुमा बुबालाई आउने निम्तो गरेर ।

एक हप्ता बित्नु समय नै लागेन । हप्ता दिन छ र चार पाँच दिन छ भन्दा भन्दै शनिबार पनि आइपुगेछ । रणबहादुरले आफ्नो परालको छानोको घर भए पनि गोबरले लिपेको भित्ता भए पनि चिटिक्क बनाएर राखेको थियो । श्रीमतीले आँगन सिनिक्क बड़ालेर राखेको थियो । केटीको मुखमा बुबा आज आउने दिन । खाना पिनामा कुनै अभावको महसुस नहोस् । नभन्दै उल्टी बेला तीन बज्नै लागेको थियो । घर छेउमा नै कार रोकिएको आवाज आयो । रणबहादुरको दम्पति हतारिदै स्वागत गर्न निस्के । केटीको बुबा मुमालाई लिएर घरमा ल्याए । तर मुमा बुबा भित्र एकै छिन बसेर बाहिर आँगनमा निस्के । घरको चारै तिर घुमे । रणबहादुरले देख्यो केटीको मुमा बुबा दुवैजनाले मुख बिगार्यो । दुवैजनाको मुख अँध्यारो थियो । रणबहादुरले बुझ्यो, केटीको धनी मुमा बुबालाई गरीब केटाको घर मन परेन । रणबहादुरलाई नमिठो लाग्यो । तर पनि सौहार्दपूर्ण खाना पिना गराई विदा दिए ।

महिना दिन बित्यो । सुन्नुमा आयो, दाइजोको निम्ति बाइक, फ्रिज, वाशिंग मशीन, पलङ्ग, बेहुलीको लागि अलग्गै सुनको आभूषणहरू बनिएको छ । तर केटा र केटीको घरमा आपस्तमा सम्पर्क भएको छैन । केटीको घरबाट खबर आयो । खोई त केटापटिबाट कुनै समाचार छैन । केटाको बाबुले खबर पठायो ।

” तपाईंहरू संग हाम्रो समानान्तर छैन । तपाईंहरू करोडपति हामी एकदमै गरीब । जात मिलेर मात्र हुँदैन आर्थिक अवस्था पनि मिलेको हुनुपर्छ । तपाईंले छोरी दिए पनि मैले लिने मेरो योग्यता छैन । तपाईंको दाइजोको भारीले दबिएर म बस्न सक्दिनँ । तपाईंको ,सामु म आफूलाई दीनहीन को अनुभूति लिएर तपाईंको सामु उभिनु सक्दिनँ । दुवैपटिको गोरू समान भए मात्र हलगोरु दाँजिन्छ नत्र जोत्नु अप्ठ्यारो हुँदछ । हामीलाई क्षमा गर्नुहोला ।”

 

 

 

 

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…