कुना कन्दरामा कतै जन्मिएर
खनाए कुवा त्यो अहो ज्ञान हेर
अहो बुद्धिमानी त घाँसी रहेछ
बुझे भानु लागे मसीमा डुबेर ।१।
लिए ज्ञान सच्चा सुने शब्द घाँसी
बसे लेख्न लाई रचे काव्य हाँसी
कहाँ प्यार न्यानो मिलेको छ आज
सयौं काव्य लेख्छु कुनै छैन साथ ।२।
थियो एउटा नै मुनाको कहानी
बसेको छ जिब्रो भरी प्यार मानी
बनेको कहाँ नै छ त्यस्तै सुनौलो
सयौं लेखनीमा कतै छैन नौलो ।३।
त्यहाँ नित्य मेरो र तेरो असाध्यै
बढेको छ हिंशा तिरस्कार मात्रै
यसैले यहाँको सदिच्छा हरायो
सबै भेष भूषा यसै भित्र थाक्यो ।४।
पढें भानु तिम्रा मिठा काव्यधारा
बढें आज आफ्नै लिएँ यो सहारा
त्यहाँ भिन्न भिन्नै नबुझ्ने भनाइ
मिलाएर राख्यौ सबैले रुचाए ।५।
बन्यो साधनाले बडो शुद्ध भाषा
तिमी माथि हाम्रो रह्यो नित्य आशा
तिमी साथ् छैनौ यहाँ भानु आज
तथापी सबैको रह्यौ नित्य माझ ।६।
दियौ ज्ञान रामायणा त्यो रचेर
रच्यौ राम सीता महिमा कुँदेर
यसै साथ भाषा उदायो सुनौलो
बन्यो विश्वमा ज्ञान नेपाल नौलो ।७।
पढौं भानु तिम्रा र गाथा सुनाउँ
अझै उच्च शिक्षा यसै बाट पाउँ
सधैं सम्झनामा चियाएर आउ
बनौं भानु भन्ने सदाचार पाउँ ।८।
छन्दः भुजङ्ग प्रयात
वि.सं.२०७७ असार २९ सोमवार १२:११ मा प्रकाशित