Sansar News- Nepal's Fast Khabar Online News Portal

वामदेवले राखेको ६ बुँदे प्रस्ताव सहि छ, केन्द्रीय समिति वा स्थायी समितिबाट निकास सम्भव छैन्

संसार न्यूज़
२ महिना पहिले
वामदेवले राखेको ६ बुँदे प्रस्ताव सहि छ, केन्द्रीय समिति वा स्थायी समितिबाट निकास सम्भव छैन्

काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेकै बेला पार्टी उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजन रोक्न भन्दै ६ बुँदे प्रस्ताव राखेका छन् । उनले आफ्नो प्रस्तावमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्मको लागि अध्यक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्पूर्णं कार्यकारी अधिकारसहितको अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।

उनले ओलीलाई पाँच वर्षकै लागि प्रधानमन्त्री पदमा यथावत राख्ने पनि प्रस्ताव गरेका छन् । पार्टी विवाद समाधानका लागि उनले राखेको प्रस्तावमाथि नेकपाभित्र अहिले गम्भिर बहस सुरु भएको छ ।

हामीले नेकपाभित्रको विवाद र गौतमले राखेको ६ बुँदे प्रस्तावबारे नेकपाभित्रकै नेताहरुसँग कुराकानी गरेका छौं । नेकपाका नेता दीनानाथ शर्मासँग नेकपाभित्रको विवाद र समाधानको उपायबारे संसार न्यूज अनलाईनका सन्देश अर्यालले कुराकानी गरेका छन् । नेता शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :

नेकपाभित्रको खास विवाद के हो ? विवाद जन्मनुको कारण के हो ?

नेकपाभित्रको आन्तरिक विवादमा एउटा मात्रै कारण छैन् । बाहिरबार हेर्दा त्यस्तो केहि पनि देखिन्न तर अन्तर्यमा पार्टीभित्रको विवादमा वैचारिक, सैद्धान्तिक र संगठनात्मक विषयहरु पनि जोडिएर आएका छन् ।

सगंठनात्मक रुपमा हेर्दा पूर्व एमालेले जुनखालको दलीय प्रतिस्पर्धाको अभ्यास गरिरहेको थियो, त्यसले पहिले नै पार्टी विभाजित बनाइसकेको रहेछ । पार्टीभित्र अनेकन गुटहरु माथिदेखि तलसम्मै बनेका रहेछन् । सिद्धान्त, विचार र कार्यदिशामा मत विभाजन छैन् तर संगठनात्मक रुपमा भने पार्टी विभक्त रहेछ । कमरेड ओली र कमरेड माधवमा गएर विभाजन मुर्तीकरण भएको रहेछ ।

दोस्रो कुरा, एकता गर्ने बेलामा धेरै विषयहरु हामीले टुंग्यायौं तर जिम्मेवार नेताहरुको कार्यविभाजनको सन्दर्भमा अलिकति केहि चाहीं ल्याप्सेसहरु रहे । कार्यविभाजनमा रहेका ल्याप्सेसहरुले पनि अहिले समस्या बनाएको छ । पार्टी एकता गर्दै गर्दा जिम्मेवार नेताहरुको कार्यविभाजन ठिक–ठिक ढंगले गरेको भए यो समस्या उठ्ने थिएन तर, त्यो हुन सकेन ।

पार्टी एकिकरण गर्दै गर्दा कतिपय नेताका पहिलाका पदहरु खोसिने काम भए भने कतिपयलाई अपेक्षीत कार्यविभाजन भएन । त्यसले पनि निकै समस्या ल्याएको देखिन्छ । कार्य विभाजनकै सन्दर्भमा कतिपय नेताले तिव्र असन्तुष्टीसमेत पोख्नुभएको छ ।

तपाईंले उठाउनुभएको विषय एउटा ठाउँमा छ, सँगै पार्टीभित्र विवाद जन्मनुमा पार्टी एकतापूर्व तथा एकतापश्चात भएका सहमती तथा समझदारीहरुको कार्यान्वयन हुने कुराको मुल्य रहन्छ कि रहँदैन् ? के ठान्नुहुन्छ ?

आगामी महाधिवेशनसम्म दुई वटै अध्यक्षको सहमतीले पार्टी पनि र सरकार पनि सञ्चालन गर्ने सहमती भएको थियो । तर, सरकार सञ्चालनको सम्बन्धमा प्रधानमन्त्री ओलीजीले पार्टीका नेताहरुले गरेको अपेक्षाहरुलाई खास वास्ता गर्नुभएन् । उहाँले पार्टीको विधि र पद्धतिलाई पुरा गर्नेभन्दा पनि मनमौजी सरकार सञ्चालन गर्ने तिर ध्यान दिनुभयो । त्यसले पनि पार्टीभित्र तिव्र असन्तोष पैदा गरेको छ । सरकार सञ्चालनको विधि पनि सही खालको भएन भन्ने धेरैको बुझाई हो ।

विवादमा पदीय भागवण्डा विषयहरु पनि जोडिएका छन् भन्नु भएको छ । भागवण्डाको विषय कति महत्वका साथ आएको देख्नुहुन्छ ?

पद पाउने कुरामा, नेताहरु अहिले तत्कालको लागि मात्र होइन् भोली निर्वाचन हुँदाखेरि पनि के हुने, भन्ने सोंचमा अहिलेदेखि नै लागेको देखिन्छ । अहिलेको प्रसंङ्गमा कहाँ आफुँलाई सुरक्षित गर्ने भन्ने तिर लाग्नुका साथै भोली को कहाँबाट उठ्ने, को कुन पदमा उठ्ने, भन्ने विषयलाई कतिपयले प्रधानताका साथ लिएका देखिन्छन् । आगामी निर्वाचनपछि प्रधानमन्त्री को हुने, राष्ट्रपति को हुने, महाधिवेशनबाट पार्टी अध्यक्ष को हुने भन्नेजस्ता विषयहरु शीर्षस्त नेताहरुको दिमागमा खेलेको देखिन्छ । सबैले आ–आफ्नो स्पेस सुरक्षित गर्ने सन्दर्भमा कहाँबाट कसरी हुन्छ भनेर ध्यान दिँदा यो अवस्था उत्पन्न भएको हो ।

प्रष्ट रुपमा भन्दा अहिलेको विवाद, स्वस्थ वैचारिक, राजनीतिक विषयहरुमा केन्द्रीत भएर आउँदै आएको छैन् । वास्तवमै विवाद, पहिलेदेखिकै समस्या र पार्टी एकता गर्दा नमिलेको अर्को व्यवस्था र अहिलेको तत्कालको परिस्थिति हो । अर्को, कतिपय नेताहरुले कतै पनि सन्तोष नदेखेर असन्तोष पोख्दा पनि यो अवस्था आएको हो ।

पार्टीको महत्वपूर्णं जिम्मेवारीमा दुईवटा अध्यक्ष रहेको हिसाबले दुई अध्यक्षमध्ये कसको भूमिका ठिक नहुँदा समस्या आएको हो ? तपाईंको के बुझाई के छ ?

यसको धेरै अनि यसको थोरै भनेर म जाने पक्षमा छैन् । दुईवटै अध्यक्ष उत्तिकै जिम्मेवार छन् । दुवैले समान रुपले जिम्मेवारी बोध गर्नुपर्छ । पार्टी एकता जोगाउनुपर्छ । दुवै अध्यक्ष यसको लागि बराबरी जिम्मेवारीमा छन् । पार्टी एकता गर्दाखेरि दुवैले हस्ताक्षर गरेका हुन् । पार्टी एकता गर्दाखेरि बाँकी रहेका कामहरु पुरा गर्ने दायित्व पनि दुवै जनाको छ ।

पार्टी सञ्चालन गर्ने र सरकार सञ्चालन गर्ने कुराहरुलाई प्रभावकारी तरिकाले अगाडि बढाउनका लागि पनि एकले अर्कोलाई जिम्मेवार देखाउने वा दोष थोपार्ने स्थिति छैन् । पहिला त दुवै अध्यक्ष जिम्मेवार हुनुहुन्छ र दुईवटा अध्यक्षको वरिपरिको जुन टिम छ (सचिवालय) त्यो बढि जिम्मेवार छ । शीर्षस्थ नेताहरु भनेर जसलाई हामी जिम्मेवारी दिएका छौं, उहाँहरुको भूमिका समस्या सिर्जना गर्ने खालको हुनुहुन्न । समस्या सिर्जना गर्ने व्यक्ति असली नेता पनि हुनसक्दैन् ।

असार १० देखि स्थायी समिति बैठक स्थगन जस्तै छ । अब बैठक बस्ने नबस्ने टुंगो छैन् । यसबीचमा तपाईंहरुले केन्द्रीय समिति बैठकको माग पनि गर्नुभएको छ । के अबको निकास केन्द्रीय समिति बैठकबाट सम्भव छ ?

दुई जना अध्यक्षबीचको सहमतीबाटै मात्रै अबको निकास सम्भव हुन्छ । दुई जना अध्यक्ष दुईवटा धुव्रमा भएपछि यो एकता रहँदैन् । सचिवायल, स्थायी समिति, केन्द्रीय समिति भन्ने पनि रहँदैन् । मेरो स्पष्ट बुझाई त्यहि हो । दुईवटा पार्टी, दुईवटा पार्टीका अध्यक्षले पार्टी एकतालाई निष्कर्षमा पुर्याएका छैनन् । पार्टी अहिले पुरै विभाजित छ । विभाजित भएको पार्टीलाई एकताबद्ध गर्न दुवै जिम्मेवार अध्यक्षले मात्रै भूमिका खेल्न सक्नुहुन्छ । हामीले हल गर्न सक्दैनौं ।

पार्टीभित्रको अहिलेको विवादलाई सचिवालय, स्थायी समिति वा केन्द्रीय समितिका सदस्यहरुले हल गर्ने ल्याकत राख्दैनन् । सचिवालय भन्नुस वा स्थायी समिति या केन्द्रीय समिति सबै अध्यक्षहरुले बनाएका सदस्यहरु नै हुन् । उनिहरु टिपेर ल्याइएका पात्र हुन् । हामी कुनै जनता या कार्यकर्ताले चुनेर पठाएका पात्र होइनौं ।

स्थायी समितिका भन्ने साथीहरु पनि तलबाट निर्वाचित भएर आएको प्रतिनिधिको समिति होइन् । त्यो पनि दुई जना अध्यक्षले बनाएको समिति हो । केन्द्रीय समिति पनि दुई जना अध्यक्षले बनाएको समिति हो । स्थायी समिति र केन्द्रीय समिति दुई जना अध्यक्षको सहमतीबाट बनेका कारणले नै अहिलेको समस्याको अन्तिम निष्कर्ष र निकास दुई अध्यक्षको सहमती मात्रै हुनसक्छ ।

पार्टी विवाद उत्कर्षमा पुगिरहेको बेला ‘पार्टी विभाजन रोक्ने’ भन्दै उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव राख्नुभएको छ । तपाईंलाई के लाग्छ, वामदेवले राखेको ६ बुँदे प्रस्ताव अहिलेको निकास हुनसक्छ ?

मैंले वामदेव जीको ६ बुँदे प्रस्तावलाई पोजेटिभ रुपमा लिएको छु । धेरै साथीहरुले पनि वामदेव जीको त्यो प्रस्तावलाई पोजेटिभ छ भन्नुभएको छ । प्रस्ताव ठीक छ र त्यही ६ बुँदे प्रस्तावको सेरोफेरोमा नै बसेर निष्कर्ष निकाल्न सकिन्छ भन्ने मेरो बुझाई हो । दुई अध्यक्षले पनि त्यहि ६ बुँदेको सेरोफेरोमा बसेर छलफल गर्दा नै सजिलो गरि निष्कर्ष निकाल्न सक्नुहुन्छ । पार्टीलाई तत्कालको लागि एकताबद्ध गर्न पनि यो उपयुक्त विकल्प हो ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? १ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…