भन्छौ लेऊ अब त सवरी बैंसको प्रेम प्याला
बल्दै होला कमल मनमा तिब्र दन्केर ज्वाला ।
पाऊँ तिम्रा नरम असली हातका फूल माला
फर्केला के समय कहिले ? बैँस ढल्केर जाला ।
हाम्रो सारा समय क्रममा चाउरी पर्छ गाला
पर्छन् सारा अवयब मुजा जान्छ खुम्चेर छाला
दिन्छ्यौ सारा तनमन सधैं लाउँदै अन्न बाला ।
होलान् ठूला सबल असली थोर लाला र बाला ।
लेख्छ्यौ खाली प्रकृतिसँगले देशका दिव्य गाथा
कैले लेख्छ्यौ र भनन प्रिया प्रेमका दिव्य गाथा ।
पानी पर्दा निडर भरको दिन्छु यो हात छाता
कापी कापी रचन रचना बन्छु त्यस्को म गाता ।
तिम्रो माया सलबल हुँदा भोक लाग्दैन निन्द्रा
तड्पी तड्पी भन कति बसूँ ज्यान होला कि सिद्रा ।
मेरीमाया हर समयमा गर्छु आर्जिन्छु मूद्रा
के के भन्छ्यौ सुन र गहना दिन्छु ढुङ्ग्री र मुन्द्रा ।
गाई भैंसी र अझ कुखुरा पाल्छु भेडा र बाख्रा
लौका बोडी सलगम झुलोस् रोप्छु फर्सी र काक्रा
माया नै हो भर अभरको जिन्दगीमा सबैको
जोडा जोडी भर छ सबको दैवले नै रचेको ।
मन्दाक्रान्ता छन्द
वि.सं.२०७७ असोज ३ शनिवार ०९:२१ मा प्रकाशित