Sansar News- Online for Global Nepali

ओली सरकारले गरेका ७ ऐतिहासिक र ५० महत्वपुर्ण काम, जसले नेपाललाई लैजादैंछ विकासको गतिमा विकासका कुरा

समर शर्मा
१ महिना पहिले
ओली सरकारले गरेका ७ ऐतिहासिक र ५० महत्वपुर्ण काम, जसले नेपाललाई लैजादैंछ विकासको गतिमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका धेरै राम्रा काम छाँयामा परेका छन् । सत्तारुढ नेकपाभित्रको विवाद र सरकार सञ्चालनमा देखिएका समस्याले राम्रा काम छाँयामा परेका हुन् । जसको कारण सरकारको लोकप्रियता समेत घट्न पुगेको छ ।

प्रतिपक्षी दलहरु सरकारको विरुद्वमा उभिनु त स्वभाविक हो तर, सत्तारुढ दलभित्रका नेताहरुले पनि सरकारको कामको आलोचना मात्रै गर्ने गर्दा पनि समस्या देखिएको छ । सँगै छिमेकी राष्ट्रले पनि सरकारका कमजोरीलाई मात्रै आफ्नो अनुकुलमा प्रचार गर्ने गरेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ऐतिहासिक रुपमै दुरगामी महत्वका कामहरु गरिरहेको सन्दर्भमा चर्चा गर्नु न्यायसंगत हुनेछ । उहि परिपाटीसहितको व्यवस्थामा केहि अपेक्षाहरु पुरा नभएपनि सरकारले गरेका राम्रो कामको भने चर्चा गर्नु अनिवार्य हुन्छ ।

यस्ता छन् सरकारले गरेका ऐतिहासिक कामहरु

१. जनकपुर–जयनगर रेल सञ्चालनको अन्तिम तयारी, अन्य पनि योजना बन्दै

प्रधानमन्त्री ओलीले सरकारमा आउनुपूर्व र आएसँगै पनि रेल र पानीजहाजको विषयमा निकै चर्चा गरे । जसको विषयमा राम्रोभन्दा नराम्रो चर्चा धेरै भयो । तर, ओलीले देखेको रेल चलाउने सपना विस्तारै पुरा हुँदै गएको छ ।

२०६१ माघ महिनादेखि बन्द जनकपुर–जयनगर रेल सेवा पुनः सूचारु हुने प्रक्रियामा छ । गत बिहिबार पहिलो परिक्षणको लागि एक सेट इन्जिन र चार सेट बोगीसहितको रेल जनकपुरधाम ल्याइएको थियो ।

ओली नेतृत्वको सरकारले २०७६ वैशाखमा भारतको सरकारी कम्पनी कोनंकन रेल्वेज कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । ८४ करोड ६५ लाखको लागतमा रेल किन्ने सम्झौता गरिएको थियो ।

रेल अबको २ महिनाभित्र सञ्चालनमा ल्याउने सरकारको योजना छ । तत्कालको लागि ३५ किमी र त्यसपश्चात ५२ किमीमा जनकपुर–जयनगर रेल सञ्चालनमा आउनेछ ।

जनकपुर–जयनगर रेलमात्र नभई ओली सरकारले पूर्व–पश्चिम रेलमार्ग, उत्तर–दक्षिण छिमेकी जोड्ने रेलमार्ग, काठमाडौं उपत्यकाभित्र रेललगायतका योजनाहरु पनि अघि सारेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमै उत्तर–दक्षिण छिमेकी राष्ट्र जोड्ने रेलमार्गलाई प्राथमिकतामा रोखेको छ । भारत र चीन दुवैतर्फबाट रेलमार्गको डीपीआर दुईवर्षभित्र सक्ने लक्ष्य पनि सरकारले लिएको छ ।

ओली सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण अघि बढाउने, काठमाडौं र अन्य सहरमा मेट्रो र मोनो रेल सञ्चालनको लागि सम्भावता अध्ययन गर्ने, पूर्वपश्चिम रेलमार्गको निर्माण काँकडभिट्टाबाट सुरु गर्ने कुरा बजेटमा नै उल्लेख गरेको छ । सरकारले रेललाई प्राथमिकतामा राख्दै चालु वर्षको लागि ७ अर्ब ७० करोड रुपैयाँ बजेटसमेत बिनियोजना गरेको छ ।

२. अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गरेको बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना ओलीको दोस्रो कार्यकालमा सम्पन्न भयो । दक्षिण एशियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७५ भदौ २४ देखि सञ्चालनमा आएको छ ।

पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको पनि एक वर्ष पुरा भएको छ । पाइपलाइन सञ्चालनमा आएको एक वर्षको अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल पाइपलाइनबाट आयात गरिएको आयल निगमको तथ्यांक छ । ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडा वापत मात्रै एक वर्षमा ८० करोडभन्दा बढिको बचत भएको कुरा निगमले जनाएको छ । जसबाट आगामी वर्षहरु झण्डै एक अर्बभन्दा बढिको बचत हुँदै जाने देखिन्छ ।

३. पोखरा र भैरहवामा विमानस्थल बन्दै

ओली नेतृत्वको सरकारले पोखरा, भैरहवा र बाराको निजगढमा एकैसाथ अन्तराष्ट्रिय विमानस्थलहरु बनाउँदैछ । २०१७ को नोभेम्बरदेखि सुरु भएको पोखरा विमानस्थलको निर्माण कार्य निकै द्रुत गतिमा भईरहेको छ । हाल विमानस्थल निर्माणको काम झण्डै ७० प्रतिशत सकिएको सम्बन्धित पक्षले जनाएको छ । २०२१ को जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको पोखरा विमानस्थलको निर्माण कार्य सम्झौता अवधिभित्र सकिने सम्भावना बढि छ ।

पोखरा विमानस्थलसँगै सरकारले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य पनि दु्रत बनाएको छ । केहि दिनअघि मात्रै पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले विमानस्थलको दोस्रो टर्मिनल भवनको विभिन्न डिजाइन सार्वजनिक गर्दै सुझाब माग गरेका थिए ।

२०७१ मा शिलान्यास भएर निर्माण सुरु भएको गौतमबुद्ध विमानस्थल निर्माणका काम विभिन्न आन्तरिक समस्याका कारण ढिलाई हुन पुगेको थियो । तर निर्माणको काम पछिल्लो समय तुद्र गतिमा छ । हाल विमानस्थल निर्माणको काम ९३ प्रतिशत सकिएको सरकारी तथ्यांक छ ।

यता काठमाडौंको विकल्पको रुपमा लिइएको निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण काम पनि सुरु भएको छ । अहिले विमानस्थको चार किल्ला वरिपरि सडक निर्माण, पहँचमार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानका कामहरु तिव्र रुपमा भईरहेको छ ।

४. पूर्व–पश्चिम राजमार्ग विस्तार

ओली नेतृत्वको सरकारले नेपालको सुदुर पूर्व र सुदुर पश्चिम जोड्ने पुर्व–पश्चिम राजमार्गलाई विस्तार गर्न तिव्र रुपमा जुटेको छ । दोस्रो कार्यकालको लागि निर्वाचित भएसँगै प्रधानमन्त्री ओलीले २०७५ को चैत्रमा बुटवल पुगेर सडक विस्तार तथा स्तरोन्नतीको शिलान्यास गरेका थिए ।

जुन विस्तारको काम क्रमिक रुपमा अगाडि बढिरहेको छ । उक्त शीर्षकमा चालु आर्थिक वर्षका लागि पनि १२ अर्बको बजेट बिनियोजित छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पनि पूर्वपश्चिम राजमार्गलाई आगामी ३ वर्षभित्र विस्तार गरिसक्ने लक्ष्य राखेको छ ।
दुई लेनको पूर्वपश्चिम राजमार्ग कतिपय ठाउँमा ४ लेन र कतिपय ठाउँमा ६ लेनको बनाईँदै छ । अहिले राजमार्ग विस्तारको काम खण्ड–खण्ड गरि अघि बढाइएको छ ।

५. नौबिसे–काठमाडौं सुरुङ्ग निर्माण सुरु

वि.सं. २०७६ कार्तिक ७ मा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको बहुप्रतिक्षित नौबिसे–काठमाडौं सुरुङ्गमार्गको निर्माण काम तिव्र रुपमा चलिरहेको छ । कोरोना महामारीले सिर्जना गरेको लकडाउनको बेलामा पनि सुरुङ्गमार्गको निर्माण काम सञ्चालनमा थियो ।

४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य लिइएको उक्त सुरुङमार्ग निर्माणमा १६ अर्ब रकम जापान सरकारले सहुलियत ऋणमार्फत उपलब्ध गराएको छ । उक्त सुरुङ्गमार्ग सम्पन्न भएसँगै घण्टौ हुने जाम र यातायात सञ्चालनमा भएको समस्या दिर्घकालिन रुपमा हल हुनेछ । साथै आधा घण्टा लाग्ने दुरी बढिमा ५ मिनेटमा पुरा गर्नेछ ।

६. मदन भण्डारी राजमार्ग निर्माण सुरु

ओली नेतृत्वको सरकारले २०७५ जेठमा मदन भण्डारी राजमार्ग निर्माण गर्ने योजनाको घोषणा गरेको थियो । पञ्चायतकालमा निर्माण गरिएको महेन्द्र राजमार्गको विकल्पको रुपमा सरकारले मदन भण्डारी राजमार्गलाई अगाडि सारेको हो ।

एक हजार दुई सय किलोमिटर लामो यो राजमार्गले नेपालको पूर्वी जिल्ला र पश्चिमी जिल्लालाई जोड्नेछ । यो राजमार्ग १० वटा विभिन्न टुक्रे सडकलाई एकिकृत गरि पूर्वदेखि पश्चिमसम्म पुर्याउने गरि बनाइएको हो ।

५० अर्ब खर्चमा बन्ने यो बहुप्रतिक्षित परियोजना नेपालको यातायात पूर्वाधारको विकासमा भने कोसे ढुंगा साबित हुनेछ । सरकारले राष्ट्रिय गौरवको यो आयोजना आर्थिक वर्ष २०७९/०८० सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । सरकारले चालु आर्र्थिक बर्षको बजेटमा पनि यस राजमार्ग निर्माणको लागि ३ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

७. पुष्पलाल राजमार्ग (मध्यपहाडी)पुरा हुँदै

मध्यपहाडी क्षेत्रको निमित्त निकै महत्वपूर्णं मानिएको गौरवको आयोजना पुष्पलाल राजमार्ग निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । सरकारले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

नेपाल–भारत सीमा पूर्व पाँचथरको चियोभञ्ज्याङबाट सुरु भई पश्चिम पहाडी जिल्ला बैतडीको झुलाघाट (महाकाली नदी)सम्म गएर टुङ्गिने यो लोकमार्ग एक हजार ८ सय ७० किमी लामो छ । यो राजमार्ग पहाडी क्षेत्रको विकासमा निकै ठूलो कोसेढुंगा सावित हुनेछ । ओलीको पहिलो कार्यकालको बेला २०७३ भदौमा भएको निर्माणको ठेक्का सम्झौता केहि प्राविधिक समस्याका कारण निर्माणमा ढिलाई भएको थियो ।

कतिपय खण्डमा कालोपत्रसमेत भईसकेको यो राजमार्गको काम २०७७ को अन्तिमसम्म निर्माण सम्पन्न भईसक्ने लक्ष्य छ । कोरोना महामारी र अन्य केहि समस्याले निर्माणमा थप समय लिनसक्ने भए पनि लक्ष्य अनुसार प्रगति भईरहेको सरकार निकायको भनाई छ ।

थप, विकास निर्माण तथा पूर्वाधारको क्षेत्रमा माथि उल्लेखित ७ कामसँगै ओली नेतृत्वको सरकारले अन्य पनि थुप्रै कामहरु गरिरहेको छ । कतिपय साना–ठूला आयोजना सम्पन्न भईसकेका छन् भने कतिपय सम्पन्न हुने चरणमा छन् ।

अन्य ५० महत्वपुर्ण काम

सरकारले पूर्वाधार निर्माणतर्फ, संघीय संसद भवन र मुख्यमन्त्री आवास निर्माण कार्य अघि बढाएको छ । भक्तपुरमा सुविधा सम्पन्न आधुनिक वीर अस्पतालको निर्माण कार्य सुरु भएको छ । उपत्यकाभित्र भूमिगत तार बिछ्याउने काम अघि बढेको छ । त्यस्तै सरकारले काठमाडौँ उपत्यकाभित्र चार वटा स्मार्ट सिटीको निर्माण कार्य अघि बढाएको छ ।

वर्षेनी रसायनीक मलको आयातमा हुने समस्यालाई दिर्घकालिन समाधान गर्न सरकारले देशभित्र नै रासायनीक मल कारखाना खोल्ने प्रकृया अघि बढाएको छ । त्यस्तै प्रविधिमा देशलाई अगाडि लैजान सरकारले मुलुकभर फोर जी सेवा विस्तार गराएको छ ।

सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकारले प्रत्येक गाउँपालिकामा १५ सैयाको अस्पताल निर्माणको प्रकृया अघि बढाएको छ । दुर्गम र पिछडिएको गाउपालिकामा समेत कम्तिमा एक बैंक को स्थापना गरी बैंकिङ कारोबारको व्यवस्था गरेको छ ।

त्यस्तै ओली सरकारको कार्यकालमा यातायातको सिन्डिकेट अन्त्य गर्ने निर्णय भएको छ । पछिल्लो दुई वर्षमा विभिन्न नदी र खोलामा गरी ३ सय २५ ओटा पक्की मोटरेवल पुल निर्माण सम्पन्न भएका छन् । जुम्लामा डाक्टर पढ्ने मेडिकल कलेज सञ्चालनको तयारी पुरा भएको छ ।

सरकारले नवलपरासीमा फलाम खानी सञ्चालनको लागि अन्तिम तयारी गरिरहेको छ । नेपाली राजनीतिका शिखर पुरुषद्वय बीपी कोइरालाको जन्मस्थल दुम्जा, सिन्धुली र पुष्पलाल श्रेष्ठको जन्मस्थल भँगेरी,रामेछापमा स्मृति उद्यान निर्माणको काम अघि बढेको, ललितपुरको गोदावरीमा तीन हजार सिट क्षमताको सभाहल निर्माणको काम तिव्र गतिमा अघि बढाएको छ । यसलगायत पचासभन्दा बढि अन्य महत्वपूर्णं काम पनि प्रधानमन्त्री ओलीकै कार्यकालमा भएका छन ।

सरकार सञ्चालनमा आएका अवरोधका बीच पनि सरकारले समग्रतामा उत्साहजनक काम गरेको देखिन्छ । सरकारले गरेको कामलाई उचित र सहि ढंगबाट प्रचार गर्न सकिएको खण्डमा आम जनतामा पनि सकारात्मक भावनाको सञ्चार हुनेछ ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति २ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…