Sansar News- Online for Global Nepali

नेकपा अन्तरसंघर्ष : माधव नेपाल अपमानित कि सम्मानित ? टिप्पणी

डा. प्रशान्त थापा
३ हप्ता पहिले
नेकपा अन्तरसंघर्ष : माधव नेपाल अपमानित कि सम्मानित ?

मुलुकका दुई ठुला कम्युनिष्ट पार्टीको एकता पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपनि सो पार्टीको एकताको टिकाउका बारेमा आशंकाहरु निकै जन्मे । कोरोना कहरकै बीचमा पार्टी विभाजनको संघारमा पुग्यो । यतिसम्म भयो की फुटनेहरुलाई सुरक्षित गराउन पार्टीमा छलफल नगरी अध्यादेश ल्याइयो र जस्केलाबाट नेकपा एमालेको जन्म गराई निर्वाचन आयोगमा बैधतासमेत दिलाइयो ।

पार्टीमा कायविभाजन अगाडि प्रधानमन्त्री र कार्यकारी भुमिकासमेत लिइरहेका केपि शर्मा ओलीले बामदेवलाई हरियो पात देखाएर झुलाइरहेको, झलनाथलाई ठेलेको, माधवलाई पेलेको र प्रचण्डलाई घेरेको सहज टिप्पणी धेरै हुने गरेको थियो । अन्तरसंघर्षको कोर्षका क्रममा यि मध्ये प्रचण्डलाई कार्यकारी अधिकार किटेरै दिएको, झलनाथलाई तेस्रो वरीयतासहित प्रतिष्ठानलाई पैसो छुटयाइदिएको र माधवलाई पुछताछ नगरी निरन्तर पेलिरहेको बिश्लेषण पनि आइरहेकै छन् ।

यो सत्य थियो की नेकपा बनिसकेको स्थितिमा विभाजन मन नपराउने नेता कार्यकर्ताको संख्या ठुलो थियो । त्यसकारण प्रधानमन्त्री ओलीले सत्तामा रहँदा पनि अध्यादेशमार्फत सहुलियत अर्थात पार्टीमा ४० प्रतिशत आवश्यक नपर्ने व्यवस्था गर्न प्रयत्न गरेका थिए । ओली एक्लैले पार्टी फुटाल्दा ३० प्रतिशत नपुग्ने अवस्था र प्रचण्डलाई पनि ४० नपुग्ने खतरा रहेको थियो । ओलीलाई एक्लो पार्दा भित्रको समिकरण दुई तिहाइको हाराहारीमा देखिन थालेको स्थितिमै सचिवालयमा बामदेव र स्थायी समितिमा रहेका केहि प्रचण्डपक्षिय नेताहरुको अभिव्ययिक्तले स्थिति थोरै बहाब बन्यो ।

पार्टी फुटाउने शब्दसँग माधव जोडिनु परेन । पार्टी र सरकारको कुनै सत्ता नपाएका माधवले ३० प्रतिशतको शक्तिलाई पुर्ण नियन्त्रणमा राख्न सफल भएको देखियो । विभाजनको हौवा बारे चासै नदिएका माधव नेपालको चर्चा कम भएको मनोविज्ञानमा माधवपक्षिय कार्यकर्ताले नै माधवमाथि अपमान गरेको अनुभुति सार्वजनिक गरेका थिए । माधवले यसबीचमा रडाको मच्चाउने कुनै काम गरेको देखिएन । एक व्यक्ति एक कार्यकारी पदको व्यवस्थाका लागी लगातार लडिरहे ।

१५ बर्ष तत्कालीन एमालेको कार्यकारी महासचिव रहेका र प्रधानमन्त्रीसमेत भैसकेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार पुनर्गठन र सञ्चालन, भ्रष्टाचार नियन्त्रण र सुशासन, राजनीतिक नियुक्ति तथा पार्टी र सरकारबीचको अन्तरसम्बन्धलगायत विषयमा लिखित रूपमै अलग सुझाब राखेपछि उनीबारेका अडकल र भ्रम धेरै हदसम्म साफ भएका थिए । पछिल्लो बैठकमा अध्यक्ष ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव अधुरो र अमूर्त रहेको भन्दै नेपालले सो सच्याउन माग गर्दै बेग्लै बुँदागत लिखित सुझाब बैठकमा प्रस्तुत गरेका थिए ।

बिधिको गोरेटो कोर्ने माधवका यी सुझाब

पार्टीमा दुई अध्यक्षले ल्याएको प्रस्तावलाई थप सार्थक बनाउन भन्दै उनले १७ बुँदे सुझावपत्र पेश गरे । पार्टी एकतासम्बन्धी बुझाई भन्दै उनले ‘यो दुई पार्टीबीचको एकता हो, पार्टी एकता मूलतः साबिक कमिटीहरूबीचको एकता हो भन्ने बुझ्नुपर्दछ । अध्यक्षहरू नै पार्टीका प्रमुखहरू हुन तर यसलाई दुई अध्यक्षहरूको जिम्मेवारी बाँडफाँड वा समझदारीको आधारमा मात्र भनेर व्याख्या गर्न सकिँदैन, यो समग्र पार्टीपंक्तिको एकता हो, त्यसैले निश्चित विधिमा आधारित भएर एकता गर्नुपर्छ र सोहीअनुसार जिम्मेवारी दिनुपर्छ ।’ भनेका छन् भने पार्टीमा जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा उनले भनेका छन ‘एकताको सन्देश दिने वेला साबिक कमिटीमा रहेको कसैलाई पनि अपमान नहुने गरी कमिटी निर्माण गर्नुपर्छ । त्यसैले अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटीको निर्देशन र सर्कुलरअनुरूप साबिक कमिटीका सिनियरहरूलाई राखेर एकीकृत कमिटी निर्माण गर्नुपर्छ र अधिवेशनमा निश्चित विधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने कुराको सुनिश्चितता गरिनुपर्छ ।’

यसैगरी पार्टी विधानको धारा ४६ ‘क’अनुसार सबै तहमा र सबै व्यक्तिको हकमा ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’को कार्यान्वयन गर्नुपर्छ र यसो गर्दा मात्र विशाल पार्टीमा कामको सन्तुलन हुन्छ, धेरैलाई जिम्मेवारी दिन सकिन्छ एवं नेतृत्वसमेत विकास हुन्छ भन्नेमा जोड दिएका छन् ।

पार्टी विधानको कार्यान्वयन सम्बन्धमा उनले ‘विधानको धारा ४७ ‘क’ मा भएको ‘अनुगमन र मूल््यांकन’सम्बन्धी व्यवस्था, धारा ६०‘क’ मा भएको ‘पार्टीको निर्णय’को व्यवस्था र धारा १७ को ङ, झ र ट मा भएका ‘केन्द्रीय कमिटी अध्यक्ष र महासचिवको अधिकार र कर्तव्य’सम्बन्धी व्यवस्थालाई लागू गर्ने काम गर्नुपर्छ’ भनेका छन् । आन्तरिक प्रतिस्पर्धा र पुरानोलाई सम्मानमा जोड दिदै उनले विभिन्न तहमा कम्युनिस्ट आन्दोलनको स्थापना, विस्तार र विकास गर्न योगदान गरेको पुस्तालाई सम्मान गर्नुपर्छ एवं उनीहरूको भूमिकाको कदर गर्नुपर्छ, अहिले आन्तरिक प्रतिस्पर्धाबाट नयाँ पुस्ता आए पनि पुरानो पुस्ताको भूमिकालाई सम्मान हुने र उनीहरूलाई आफ्नो पार्टी भनेर अनुभूति हुने वातावरण निर्माण गर्नुपर्छ र आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित गर्नुपर्छ भनेका छन् । पार्टी बैठक, निर्णय र निर्णय प्रक्रिया का बारे उनले भनेका छन ‘पार्टी बैठक नियमित एवं विधानले तोकेको अवधिमा अनिवार्य रूपमा बस्नुपर्छ, बैठकमा पर्याप्त छलफल गराउनुपर्छ र व्यक्त विचारहरूका आधारमा विधानअनुसारको प्रक्रियाअनुरूप निर्णय गर्नुपर्छ, यसबाहेक तत्काल समस्याहरू आउँदा वा महत्वपूर्ण निर्णयहरू गर्ने वेलामा पार्टीका औपचारिक–अनौपचारिक बैठक बस्नुपर्छ र कमिटीले निर्णय गर्ने साथै नेतृत्वका बीचमा समझदारी निर्माण गर्ने काम गर्नुपर्छ ।

नेता कार्यकर्ताको मूल्यांकन सम्बन्धमा उनले भनेका छन ‘ वरिष्ठता र क्षमताका आधारमा जिम्मेवारी र प्राप्त जिम्मेवारीको कार्य सम्पादन मूल्यांकनको आधारमा पदोन्नति वा यथाजिम्मेवारी दिने काम गर्नुपर्छ, आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्दा वा नगर्दा आफ्नो भूमिका वा पदमा के फरक पार्छ भन्ने कुरा प्रत्येक नेता–कार्यकर्ताले बुझ्नुपर्छ र यसका लागि वैज्ञानिक प्रणालीको विकास गर्नुपर्छ । ’यसैगरी योग्य, नयाँ र क्षमतावानलाई पार्टीमा आकर्षित गर्ने सम्बन्धमा उनको जोड छ ‘ विषयगत विशिष्टता भएका, अनुभवी पुराना नेतृत्व तहका कमरेडहरूका साथै युवा र क्षमतावानलाई निश्चित मापदण्ड बनाएर मात्र पार्टी तथा सरकारमा जिम्मेवारी दिनुपर्छ, यसले पार्टी एवं सरकारको आकर्षण तथा लोकप्रियता बढ्छ र नयाँ पुस्ता पार्टीमा आबद्ध हुने र सक्रियताका साथ लाग्ने वातावरण बन्छ, चाकरी र मूल नेतृत्वसँग सामीप्यताको आधारमा होइन काम र क्षमताको आधारमा प्रत्येकलाई आफ्नो भविष्य सुनिश्चित देख्ने वातावरण निर्माण गर्नुपर्छ, अनि मात्र पार्टीमा आकर्षण बढ्छ, पाटीभित्र झ्याँगिएको गैरसर्वहारा एवं गैरकम्युनिस्ट प्रवृत्ति र चरित्रका विरुद्ध व्यापक शुद्धीकरण अभियान र वैचारिक सैद्धान्तिक प्रशिक्षण अभियान चलाउनु अत्यावश्यक छ ।

पार्टीमा कार्यविभाजन अगाडि प्रधानमन्त्री र कार्यकारी भुमिकासमेत लिइरहेका केपि शर्मा ओलीले बामदेवलाई हरियो पात देखाएर झुलाइरहेको, झलनाथलाई ठेलेको, माधवलाई पेलेको र प्रचण्डलाई घेरेको सहज टिप्पणी धेरै हुने गरेको थियो । अन्तरसंघर्षको कोर्षका क्रममा यि मध्ये प्रचण्डलाई कार्यकारी अधिकार किटेरै दिएको, झलनाथलाई तेस्रो वरीयतासहित प्रतिष्ठानलाई पैसो छुटयाइदिएको र माधवलाई पुछताछ नगरी निरन्तर पेलिरहेको बिश्लेषण पनि आइरहेकै छन् ।

सरकार निर्माण सम्बन्धमा उनको धारणा छ ‘स्पष्ट र पारदर्शी मापदण्ड निर्माण गरी पार्टीभित्रको सन्तुलन एवं मुलुकको समेत सन्तुलनलाई मिलाएर नेताहरूको बीचमा समझदारी निर्माण गरी सरकार निर्माण गर्नुपर्दछ, सरकारमा वा राजनीतिक नियुक्तिमा पठाउने व्यक्तिहरूको निर्णय पार्टीको सम्बन्धित जिम्मेवार निकायबाट गर्नुपर्दछ ।’ यसैगरी सरकार सञ्चालन सम्बन्धमा उनि भन्छन ‘सरकार पार्टीको नीतिअनुरूप घोषणापत्रका लक्ष्य हासिल गर्ने गरी सञ्चालन गर्नुपर्दछ, पार्टीले सरकार सञ्चालन गर्नुपर्छ, सरकारले गर्ने महत्वपूर्ण निर्णय तथा दीर्घकालीन महत्व राख्ने विषयहरूलाई पार्टीमा छलफल गराउनुपर्दछ र आवश्यकताअनुसार विज्ञको राय लिनुपर्दछ । ’

समाजवादको नेपाली नमुना (मोडेल) निर्माण सम्बन्धमा उनि भन्छन ‘समाजवादको सिद्धान्त र नेपाली व्यवहारबारे नेतृत्वपंक्तिको एउटै राय बनाउन घनीभूत र व्यापक छलफल र बहस चलाउनुपर्छ, यसमा व्यापक पार्टीपंक्ति र सिंगो समाजलाई पनि संलग्न गराउनुपर्छ, समाजवादको उद्देश्य सबैखाले भेदभाव, असमानता, शोषण, उत्पीडन, असमानता र विकृति–विसंगतिको अन्त्य गरी न्यायपूर्ण, समानतामा आधारित, सुखी, समृद्ध र सुसंस्कृत समाजको स्थापना गर्नु हो भन्ने कुरामा स्पष्ट हुँदै शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी राज्यले बहन गर्नुपर्दछ, प्रत्येक व्यक्तिमा अन्तरनिहित क्षमता र खुबीको पहिचान र सम्मान गर्दै उनीहरूको व्यक्तित्व विकास गर्ने वातावरण तयार गर्नुपर्दछ, नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन आजको सन्दर्भमा कुन क्षेत्रको भूमिका र योगदान सबैभन्दा प्रभावकारी र आवश्यक हुन्छ भन्ने कुरामा स्पष्ट हुँदै राष्ट्रिय पुँजीको विकास गर्ने, तीनखम्बे अर्थनीतिलाई दृढताका साथ अवलम्बन गर्दै विदेशी पुँजी र सहायताको प्रभावकारी रूपमा उपयोग गर्दै राष्ट्रिय उत्पादनमा वृद्धि र उत्पादकत्व क्षमता बढाउने कुरामा ध्यान दिनुपर्दछ, नेपाली अर्थतन्त्रका विभिन्न क्षेत्रको प्राथमिकताक्रम त्यसको महत्व र समग्र अर्थतन्त्रमा पार्ने प्रभावको आधारमा तय गर्नुपर्दछ ।

प्रधानमन्त्रीको अनुभव संगालीसकेका वरीष्ठ नेता नेपाल भ्रष्टाचार र सुशासनका सन्दर्भमा भन्छन ‘भ्रष्टाचारका प्रत्येक मुद्धामा सरकार एवं पार्टी दुवै संवेदनशील हुनुपर्छ, नेता तथा कार्यकर्ताहरूको जीवनशैली सादगीपूर्ण र पारदर्शी हुनुपर्छ, प्रत्येक उजुरीको पार्टी तथा राज्यका सम्बन्धित अंगबाट तत्काल निष्पक्ष छानबिन गर्नुपर्छ, दोषीमाथि कडा कारबाही गर्नुपर्छ, गम्भीर जनसरोकार र सुशासनका कुरामा कसैलाई छुट दिनुहुँदैन, सुशासनका बाधक विषयहरूलाई ऐन, कानुन संशोधन गरेरै भए पनि हटाउनुपर्छ र जनउत्तरदायी एवं पारदर्शी शैली अपनाउनुपर्छ, तदनुरूप प्रशासनलगायत सबैलाई परिचालित गर्नुपर्छ, सेटिङ प्रणालीको अन्त्य गर्नुपर्छ, दलाल पुँजीपति र बिचौलियाको स्वार्थपूर्तिको माध्यम बन्नु हुँदैन ।’

महत्वपुर्ण बिषय मानिएको राजनीतिक तथा अन्य नियुक्तिका सम्बन्धमा नेता नेपाल भन्छन ‘सम्बन्धित निकायले अपेक्षा गरेको योग्यताअनुरूप निश्चित मापदण्ड तयार गरी त्यसको आधारमा राजनीतिक नियुक्ति गर्नुपर्छ, नियुक्त हुने व्यक्तिको आचरण, व्यवहार, आस्था र सन्तुलनसमेत विचार गर्नुपर्छ, एउटा तहमा छलफल चलाई समाजमा बदनाम नभएका एवं कसैका विरुद्ध निम्नस्तरको गालीगलौज तथा सार्वजनिक अपमान नगरेको र नगर्ने व्यक्तिलाई मात्र नियुक्त गर्नुपर्छ,गलत कामलाई निरुत्साहन गर्नुपर्छ ।’ राज्यशक्तिको दूरुपयोग हुन नदिन उनको जोड छ ‘राज्यशक्तिको प्रयोग राष्ट्रको संवृद्धि र विकासको निम्ति प्रयोग गर्नुपर्छ, मुलुकको प्रगतिका बाधक तत्वहरूको पहिचान गरी त्यसको समूल अन्त्य गर्नुपर्दछ, राज्यशक्तिको दुरुपयोग पार्टीको आन्तरिक प्रतिस्पर्धालाई प्रभावित गर्न गर्नुहुँदैन ।’

अन्तर्राष्ट्रिय सम्बन्धमा असन्तुलन आउन नदिन सुभाव दिंदै नेता नेपाल भन्छन ‘पञ्चशीलमा आधारित विदेश नीति, असंलग्न परराष्ट्र नीति, दुई ठूला छिमेकीसँगको सन्तुलित सम्बन्ध, अरूको आन्तरिक मामिलामा अहस्तक्षेपजस्ता नीति अवलम्बन गर्नुपर्दछ, बोलीमा संयमता, तर मुद्दामा स्पष्टतासहितको अडान राख्नुपर्छ, आफ्नो राष्ट्रिय हित र पारस्परिक सम्मानमा आधारित विदेश नीति अंगाल्नुपर्छ, उल्लेखित नीति र सोहीअनुरूपको व्यवहार राष्ट्रियता बलियो बनाउने आधार तथा दीर्घकालीन हितका विषय हुनुपर्छ, राष्ट्रिय हितमा आघात पुग्ने र असंलग्नताको परराष्ट्र नीतिका सिद्धान्तविपरीत कुनै सन्धि, सम्झौता वा सहमति गर्नुहुँदैन ।’

नेतृत्व तहमा हार्दिकता नभै पार्टी मजबुत नहुने धारणा राख्दै उनि भन्छन ‘नेतृत्व तहका बीचमा हार्दिकता हुनुपर्दछ, साथै सम्पूर्ण पार्टी पंक्तिप्रति कमरेडली, पूर्वाग्रहमुक्त व्यवहार गरिनुपर्दछ, विगतमा पार्टी निर्माणमा सबैले योगदान दिएको हुनाले उनीहरूको कामको प्रशंसा तथा उनीहरूप्रति सम्मानभाव राख्नुपर्दछ, यदि आपसी सम्बन्धमा गहिरो हार्दिकता हुन सकेन भने पनि न्यूनतम समझदारी निर्माण हुनुपर्दछ, कुनै पनि सहकर्मी तथा कार्यकर्तालाई घोचपेच, खिसिट्युरी, अपमान तथा सार्वजनिक बेइज्जत गर्नुहुँदैन, कुनै पनि समकक्षी नेताको बारेमा भेट्न जाने अरूसँग खिसिट्युरी गर्ने र उडाउने काम गर्नुहुँदैन, एउटालाई प्रयोग गरेर अर्कोलाई देखाइदिने वा समाप्त गर्ने सोचाइ गलत हो, त्यस्तो काम गर्नुहुँदैन,स्वयं व्यक्तिको अगाडि स्वस्थ आलोचना गर्नु भनेको सुधारका लागि हो यसले हार्दिकतामा असर पार्नुहुँदैन ।’

पार्टी र सरकारबीचको अन्तरसम्बन्ध राम्रो बनाउन उनको सुझाव छ ‘केन्द्र, प्रदेश र स्थानीय तहमा सरकारलाई पार्टीको नीति र घोषणापत्रअनुरूपमा काममा लगाउन लागि पार्टीसँग समन्वय हुनुपर्दछ, सरकारले पार्टीसँग समन्वय गर्ने तथा पार्टीले सरकारका कामलाई सहजीकरण गर्नुपर्दछ,सम्बन्धित तहका उच्च नेतृत्वको अनौपचारिक चुस्त टिम बनाएर सरकारको कामलाई प्रभावकारी बनाउने, पार्टीको स्वामित्व स्थापित गर्ने र गरेका कामलाई जनस्तरसम्म प्रचार गर्ने गर्नुपर्दछ । यसैगरी पार्टी, सरकार र जनताबीचको सम्बन्धबारे उनि भन्छन ‘ पार्टी र सरकारको जनतासँगको सम्बन्ध पानी र माछाजस्तो हुनुपर्दछ, पार्टी एवं सरकार जनताको सुखदुःखको साथी, आशा एवं भरोसाको केन्द्र हुनुपर्छ, सबै क्षेत्र र तहमा पार्टी र सरकारबीच नियन्त्रण र सन्तुलनको नीतिको दृढताका साथ पालना गर्नुपर्छ, सुन्दर भविष्यको सपना देखाउने, तदनुरूपको व्यावहारिक, सम्भव र सन्तुलित योजना बनाउने, सो योजना लागू भए–नभएको अनुगमन गर्ने, समस्याको पहिचान गरी त्यसको समयमै समाधान गर्ने र कम्तीमा पनि तोकिएको समयमा र सकेसम्म कम खर्चमा गुणस्तरीय सेवा र परिणाम दिने तरिका अवलम्बन गर्नुपर्छ, पार्टी एवं सरकारले सार्वजनिक सरोकारका काममा जनताको सहभागितामा जोड दिनुपर्छ, धेरै बोल््ने, धेरै प्रतिबद्धता व्यक्त गर्ने, ठूला–ठूला कुरा र घोषणा गर्ने, तर थोरै परिणाम दिने तरिकाबाट जोगिनुपर्छ र थोरै बोल्ने अनि धेरै परिणाम दिने कार्यशैली अपनाउनुपर्छ ।’

सत्तारुढ नेकपा बिभाजीत नै भयो भनेर नेताहरुकै मुखबाट बोलिरहंदा, प्रधानमन्त्री ओली र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले टिभी मार्फत नै जटिलताबाट अघि बढेको स्विकार्दा र देशभरीका कार्यकर्ता एकता नटुटोस भनेर आत्तिइरहँदा धैर्यतापुर्वक विधि, नीति र पद्धति मागीरहने माधव नेपाल कहिल्यै हतास देखिएनन । १५ बर्ष महासचिव चलाउदाको अनुभव र उनले अहिले व्यहोरेका कतिपय आरोपहरुले पनि उनकै रुपान्तरणमा प्रभाव पुयाएका हुन सक्छन् ।

एक व्यक्ति एक जिम्मेवारी बास्तवमै उनको मात्र भोगाइको संप्रेषण थिएन । कसैलाई भ्याइ नभ्याइ कसैलाइ केहि न केहि को अनुभुत गरेका हजारौ कार्यकर्ताको माग थियो त्यो । अन्तरसंघर्षले नेताहरुलाइ सवक मात्र मिलेको तर पार्टी रुपान्तरण नभैसकेको बर्तमान अवस्थामा माधवको भुमिका सन्तुलित नै रहयो । प्रधानमन्त्री ओली निकटले प्रधानमन्त्रीको लोकतान्त्रिक शैली भनेर प्रचार गरेपनि र प्रचण्ड निकटले प्रचण्ड कौशलता ठानेपनि अन्तरसंघर्ष ब्यबस्थापनको पछिल्लो दृश्यमा माधव नेपालको भुमिका निकै महत्व रहेको छ । त्यो भन्दा बढि महत्वको उनको १७ बुदे सुझाव देखिएको छ जस्ले यो अल्पबिरामलाइ बिधिमा घिसार्न गोरेटो भएपनि बनाइदिएको छ । माधवका एकतामैत्री व्यवहार, आचरण, अभिव्यक्ति र पछिल्लो कसरतले उनलाई झनै सम्मानित बनाएको छ ।

सर्बाधिक पढिएको

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ४ हप्ता पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…

Poem :”WAR”

Poem :”WAR” ३ हप्ता पहिले | Premal kumar khanal, kathmandu

In the movement of shivere war fighting some soldiers reaching…

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु

कोरोना संक्रमणबाट अफ्रिकामा पर्वतका युवाको मृत्यु ४ हप्ता पहिले | संसार न्यूज़

६ असोज, अफ्रिका । कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको…

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु ५ दिन पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…