Sansar News- Online for Global Nepali

छतिवनको फेदमा पुगेर सम्झदा ……….

टिकाराम लेकाली, पर्वत
२ हप्ता पहिले
छतिवनको फेदमा पुगेर सम्झदा ……….

सैयौ वर्ष पुरानो यस रूखको काण्ड खायो भने अनिच्छित गर्भ पतन गराउँछ भन्ने जन विश्वास थियो । सोही विश्वासमा लुकीलुकी छतिवनको काण्ड कोपेर काण्डको अंश लैजाँदा छतिवनको फेदमा मान्छे छिर्न मिल्ने ठूलै प्वाल (घाउ) परेको थियो । त्यो घाउ २०३६ सालमा म जाँदा निकै ठूलो थियो । अहिले त्यो घाउ भरिएको भएता पनि घाउ भएको पहिचान हुने चिन्ह अहिले पनि देख्न सकिन्छ ।
२०३६ सालको जनमत संग्रहको घोषणा भइ वहुदल वा निर्दलको प्रचार प्रसार भइ रहेको थियो । म त्यसवेला तत्कालिन ने.क.पा.(चौ.म.)को दक्षिण पर्वतको एकमात्र पार्टी सदस्य भएकोले मलाइ संगठन विस्तारको पहल गर्न निर्देशन प्राप्त भएको थियो । त्यत्तिवेलाका मल्याङ्दी खोला देखि दक्षिणमा रहेका पार्टी समर्थक र पार्टी सदस्यहरूको पहिलो भेला भंगरा सिरवारीका मेखप्रसादको घरमा एकपटक वसे पनि कमिटी वनेको थिएन । त्यतिवेला पार्टीका सम्पर्कमा रहेका जम्मा ५ जना थियौ टीकाराम भूसाल होश्राङ्दी, राम प्रसाद भूसाल उराम, लक्ष्मण पुरी वर्राचैौर (वुटवल क्याम्पसवाट सम्पर्क) शोभाखर सापकोटा मुडिकुवा र मेखप्रसाद(पृथ्वी नारायण क्याम्पसवाट सम्पर्क )। पर्वतमा कुनै कमिटी नभएकोले बाग्लुङवाट सम्पर्क समन्वय र परिचालन गर्ने गरिन्थ्यो । त्यसैले भंगराको पहिलो भेलामा बाग्लुङवाट काजी गाउँले आउनु भएके थियो । पहिलो भेलाले कुनै कमिटी गठन गर्न नसके पनि सम्पर्कको एउटा सुत्र भेटीएको थियो ।
पार्टीको संगठन विस्तारको लागि सम्पर्क गर्न सेदीखोला/पैञूखोला क्षेत्रमा जाने क्रममा एक दिन नेपाली काँग्रेसवाट २०१५ मा निर्वाचित सांसद सुवेदार डिक वहादुर गुरूङसंगै छतिवनको फेदमा पगें । त्यतिबेला फेद नजिकै त्रिवेणी गाउँ पञ्चायतको कार्यालय (पञ्चायत भवन ) थियो । त्यो दिन त्यहाँ नेपाली काँग्रेसले एउटा भेटघाट तथा वहुदलको पक्षमा जनमत वढाउन आम सभा पनि गर्ने कार्यक्रम तय भएको रहेछ । तर कार्यक्रम गर्न निर्धारण गरिएको स्थानमा निर्मल जनसेवा मा.वि.का विद्यार्थिहरू सहित उरामका राम प्रसाद भूसाल आउनु भएको रहेछ । हामि पुग्दा नेपाली काँग्रेस पक्षधरहरू कार्यक्रम गर्न पाउनु पर्छ भन्ने पक्षमा वहस गरि रहेको र रामप्रसादज्यूको नेतृत्वमा आएको टोली अखिलको झण्डा गाडेर मञ्च कव्जा जमाएर वसेको अवस्था थियो । त्यहाँ पुगेको केही समयमा त्यहाँको अवस्था वारेमा जानकारी भयो ।
तत्कालिन ने.क.पा.(मसाल)ले हामिलाइ वहुदलको पक्षमा जनमत वढाउन निर्देशन दिएको थियो । छतिवनको फेदको अवस्था मलाइ उचित लागेन । किनभने वहुदल पक्षधर दुइ राजनैतिक शक्तिहरूको विचमा नै विवाद र व्दन्द भए आम नागरीकहरूले बहुदल भनेको वहुलाहरूको दल भन्ने अफवाहलाइ सत्य ठान्लान कि भन्ने डर लाग्यो । त्यतिवेला “वहुदललाइ वहुलाहा” र “निर्दललाइ निर्दयी” भन्ने प्रचलन व्यापक थियो । त्यसैले मैले त्यहाँ आँफू पनि “अखिलको विद्यार्थी” भएको र अखिलको “संगठन विस्तारकोलागि त्यहाँ आएको” वताएँ । त्यस पछि त्यहाँका विद्यार्थीहरूलाइ अखिलको झण्डा संगै बुकेखोला किनारको चौचारीमा संगठन विस्तारको योजना वनाउँन लैजान सफल भएँ । हामी हिडे पछि भूपू सांसद सुवेदार डिक बहादुरको प्रमुख आतिथ्यतामा नेपाली काँग्रेसको कार्यक्रम सञ्चालन भयो ।
छतिवनको फेदमा भेट भएका विद्यार्थी नेता (उदयराज गौतम, विकास सेन, दिनेस भूसाल आदी), शिक्षक (ख्याम वहादुर सारू, ख्रेम थापा, राजेन्द्र तिवारी) पैञू क्षेत्रमा खुलेआम कम्यूनिष्ट हुँ भन्दै हिड्ने राम प्रसाद भूसाल(उराम) समेतसंग छलफल गरि दक्षिण पर्वतमा विद्यार्थी तथा पार्टीको संगठन विस्तार गरिएको थियो । छतिवनको फेदमा खुला आकास मुनी भूपु सांसदको प्रमुख आतिथ्यतामा सञ्चालित भेलाले काँग्रसको संगठन विस्तारमा पनि कुनै न कुनै योगदान दियो होला ।
फोटोमा देखिएको र माथि उल्लेखित स्थान हालको पैञू गाउँपालिका वडा नं. २ त्रिवेणीमा रहेको छतिवनको फेद पैञू क्षेत्रको असाध्यै महत्वपूर्ण, सांस्कृतिक तथा ऎतिहाँसिक धरोहर हो । “घुम्दै गए पो देखिन्छ नेकर्गा” भन्ने उखानमा उल्लेखित नेकर्गा गाउँको फेदमा रहेको यो रामसिंह सेन राजा भएको मिति (वि.सं. १५०२) भन्दा पहिले चारपाला राज्यकाल देखि नै अस्तित्वमा रहेको बुझिन्छ । चारपाला राज्यको सिमाना र पैञूराज्यको सिमाना एउटै थियो वा सेनहरूको राज्यकालमा थपघट भएको थियो भन्ने एकिन तथ्य भेटीदैन तर सेदीखोलाको जलाधार क्षेत्रमा चारपाला राज्यको सिमा थियो भन्ने बुझिन्छ । सेदीखोला वरपर ठुलो संख्यामा रहेका चार थरी मगरहरूले पालै पालो नेतृत्व गर्ने गरि सामुहिक नेतृत्वमा राज्य सञ्चालन गर्ने परिपाटी थियो । पालैपालो राजा हुने चार थरी मगर(राना, थापा चितौरे र आले) यहि छतिवनको चारैतिर रहेका नेकर्गा, भर्मा, डाडाथोक एवं गोहपूक, तथा गेडीखोला/पाटनेथर सम्मका वस्तिहरूमा फैलिएर वसेका थिए ।
चारपाला राज्यमा न्याय सम्पादन गर्ने कार्य असाध्यै लोकपृय तरीका थियो । आरोपित व्यक्तिलाइ यही छतिवनको फेदमा ल्याएर चारैथरी मगर समुदाय र अन्य समुदायका अगुवाहरूको उपस्थितिमा पुछताछ गर्ने तथा अपराधि ठहरिएमा दण्ड सजाय पनि त्यही तोकिन्थ्यो । गम्भिर प्रकारको अपराध गर्नेलाइ कडा सजाय दिने ठेड्का पनि त्यही राखिन्थ्यो । पैञू क्षेत्रका वासिन्दाहरू कसैले अन्यायपूर्ण कुरा गरे “पख तँलाइ चारपाला जोडेर, छतिवनको फेदमा लगेर नउभ्याइ कहाँ छाडुला” भनेर डर देखाउने चलन केही दशक अगाडिसम्म थियो । यसवाट छतिवनको फेद, चारपाला राज्यकालमा न्याय निसाफ गर्ने स्थान (कचहरी वस्ने ठाउँ) थियो भन्न सकिन्छ ।
छतिवनको फेदमा रहेको ठेड्का धेरै समयसम्म पुर्व प्रधानपञ्च कुल वहादुर रानाको घरमा रहेको र उहाँका निधन पश्चात उहाँकै नाती टुकेन्द्र रानाले त्यसको महत्व नबुझेर दाउरा वनाइ बालेको वताउनु हुन्छ ।
सैयौ वर्ष पुरानो यस रूखको काण्ड खायो भने अनिच्छित गर्भ पतन गराउँछ भन्ने जन विश्वास थियो । सोही विश्वासमा लुकीलुकी छतिवनको काण्ड कोपेर काण्डको अंश लैजाँदा छतिवनको फेदमा मान्छे छिर्न मिल्ने ठूलै प्वाल (घाउ) परेको थियो । त्यो घाउ २०३६ सालमा म जाँदा निकै ठूलो थियो । अहिले त्यो घाउ भरिएको भएता पनि घाउ भएको पहिचान हुने चिन्ह अहिले पनि देख्न सकिन्छ ।
चारपालाको त्यही न्याय सम्पादन स्थलको महत्व बुझेर त्रिवेणी गाउँ पञ्चायत गठन पश्चात मेजर भिमवहादुर रानाले गाउँ पञ्चायतको भवन यही छतिवनको फेदमा स्थापना गरेका थिए । तर वहुदलिय व्यवस्थाको पुनर्स्थापना पश्चात गाउँ पञ्चायत वाट गाउँ विकास समितिमा रूपान्तरीत स्थानिय निकायले छतिवनको फेदमा रहेको गाविस कार्यालय रहेको जमिनसंग जग्गा सट्टी पट्टी गरि अन्यत्र सारेकाले छतिवनको फेद सुनसान र खेतको विचमा सिमेन्टको घेरामा खुम्चिएको छ ।
पैञू राज्यको अलगै अस्तित्व रहने गरि राज्य खडा गर्ने हाम्रा चारपालाका पुर्खाहरूको सुझबुझ पूर्ण इतिहाँसको सोध खोज गर्न अहिलेसम्म कसैले पहल गरेको देखिँदैन । अहिले चारपाला मगरका धेरै सन्तानहरू पढालेखा वुध्दिजिवी तथा क्षमतावान हुनु हुन्छ । आफ्नो गौरवपूर्ण पुर्ख्यौलि इतिहाँस उजागर गर्ने उत्साह बोकेको कोही व्यक्ति होला कि नहोला ?? भए यो अभियानमा के कसरी योगदान गर्न सकिन्छ ? यस विषयमा योगदान दिन सक्ने व्यक्तिहरू संगठित हुन सकियला कि नाइ ? संगठित भइ काम गर्न इच्छुक व्यक्तिहरूले सम्पर्क नं. सहित प्रतिकृया जनाउनु हुन अनुरोध छ । नेपालमै रहेका इच्छुक व्यक्तिले चाहेमा टीकाराम भूसालको मोवाइल नं.९८५७६३००८० मा सम्पर्क गर्न सकिन्छ ।

सर्बाधिक पढिएको

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु

रेलगाडीको ठक्करबाट अमेरिकामा नेपाली युवतीको मृत्यु २ हप्ता पहिले | संसार न्यूज़

२९ असोज, अमेरिका । रेलगाडीको ठक्करबाट अमेरिकाको क्विन्समा एक नेपाली…

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम…

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु

पिसीआर रिर्पोट नेगेटिभ बोकेर ओमानबाट घर फर्किएका कार्कीको कोरोना संक्रमणबाट मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

२१ असोज, काठमाडौं । पिसीआर रिर्पोट नेगेटिभ भएको प्रमाण बोकेर…

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति

स्वनामलाई बचाउन संयुक्त विज्ञप्ति १ हप्ता पहिले | संसार न्यूज़

२ कार्तिक, काठमाडौँ । माक्र्सवादी चिन्तक तथा बामपन्थी नेता स्वनाम…