Sansar News- Online for Global Nepali

कविता: सत्ता

सुमन थापा ‘सङ्गम’, बानेश्वर, काठमाडौं
१ महिना पहिले

साँझको पर्दा उघार्दै
रातको निम्ता पत्र लिएर
दैलो छेउ आइपुग्ने ए ! जून
देखाउन चाहन्छु तिमीलाई
शीतले रुझेको बलेंसी र सिम्सारको फरक
चिसो हावाको स्पर्श र आँधिको वेग
हर्षको मुस्कान र आँसुमा बगेका आँखाहरु
बुझाउन चाहन्छु
तुवाँलो भित्र हराएको जंगल र
कुहिरोले छोपेको पहाडको फरक

जति फेरिए पनि
भोलि उनी फर्कने बाटो यहि हो
उनले टेक्ने माटो यहि हो
फेरि फेरि श्वास फेर्ने हावा यहि हो
उनलाई आलि नै भएर हिडेका
खेतका आलिहरुले चुम्ने छैनन् भोलि
लमतन्न पस्रीएका बाटाहरूले
उनलाई टेक्ने ठाउँ दिने छैनन्
ठेला उठेका हत्केलाको दुखाई
आँसु नभएर ढुङ्गा भएको छ अब
कसरी बिर्सिएका उनले ?
उनी पहिला
निलाम्मे आकाशको उचाईमा विचरण गर्दै
शीरमा हिमाल बोक्न खोज्ने मान्छे
हिमाल भन्दा अझ माथी उठाएर
देशको झण्डा अड्याउन खोज्ने मान्छे
न्यायको निम्ती धावा बोल्न सक्ने मान्छे थिए
उनि त निलाम्मे भएर
घाम खेल्ने आकाश हुन चाहन्छु भन्थे
प्रकाशको कोमल ताप लिएर
रुख\पात\जरासम्मै पुगेर
खुम्रे किराको अन्त्य गर्न चाहन्छु भन्थे
सत्यको आवाजले झंकृत बनाउने हृदयको बाटो भरि
फूल फुलाउँछु भन्थे
उनले गोडाहरू संधै स्वतन्त्र
न्यायसंगत हिडाउन चाहन्छु भन्थे तर
फेरिएछन् अचेल
शहरको सुखभित्र हराउने भएछन्
बीभत्स बलात्कार देख्दा पनि
नदुख्ने भएछ्न् उनका आँखाहरु
नसुन्ने भएछन् नानीका चीत्कारहरु
निर्मला र सम्झना जस्ता साना नानीका आवाजहरू
हावासंगै बिलिन हुँदै–हुँदै गएछन्
असख्य युवतिहरू नङ्ग्याइन्छन् र बग्छन् आँसुहरु
ती फगत पानीका थोपा भएछन्
चौतारी\गोठ\बाटाहरुमा
दिन अनि रातहरूमा
कुनै पनि बेला दुर्घटित हुन्छन् साना नानीहरू
उनको चित्कार सुन्न नसकेर
आकाशका ताराहरू सम्साँझै लुक्छन्
बिरक्तिएर आउँछ हृदय
भंगालोले उर्लिएर आफैलाई लैजाला झैँ गर्छ
जति फेरिए पनि
भोलि उनी फर्कने बाटो यहि हो
उनले टेक्ने माटो यहि हो
फेरि फेरि श्वास फेर्ने हावा यहि हो
उनलाई आलि नै भएर हिडेका
खेतका आलिहरुले चुम्ने छैनन् भोलि
लमतन्न पस्रीएका बाटाहरूले
उनलाई टेक्ने ठाउँ दिने छैनन्
ठेला उठेका हत्केलाको दुखाई
आँसु नभएर ढुङ्गा भएको छ अब
कसरी बिर्सिएका उनले ?

बुद्धको जस्तो शान्ती छाएको देशमा
सत्ताको कलमले न्याय लेख्नु पर्छ र
हिमाल झैँ अग्लनु पर्छ भन्ने
बाँसका ठाना अग्लिए झैँ मात्र अग्लिएका हुन् उनी
त्यो सत्ताको दलदलले बिस्तारै निलिरहेछ उनलाई
यदी सत्यको आवाज लेख्न सकेनन् भने
केवल उनको जिर्ण भएर भत्किएको सत्ताको शासन
लेख्ने छ इतिहासले ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ४ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) ७ दिन पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…