back

विदेशबाट फर्किएका युवा गाई पालनमा व्यस्त

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

120 

shares
NTC AD
Global IME AD

१४ कात्तिक, बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका– १ कुश्मीशेराका गुरुदत्त आचार्य बिहान, बेलुका झोला बोकेर दगुरी रहेको देखिन्छन । ठूलो प्लाष्टिकको भाँडा झोलाभित्र हुन्छ, त्यो भाँडाभरिको दूध हातमा समाउँदा हात गल्ने भएकाले उनले झोलामा राखेर बोक्छन र झण्डै डेढ किलोमिटरको तल रहेको दुग्ध सङ्कलन केन्द्रमा पुग्छन । उनको घर केन्द्रदेखि उकालो लाग्दा डेढ किलोमिटरमा पुगिन्छ ।

बिहान ७ बजे र बेलुका ५ बजे दूध बोकेर सङ्कलन केन्द्र पुग्ने उनको दैनिकी हो । उनले जीवनको झण्डै आठ वर्ष मलेसियामा बिताए। त्यहाँ तरकारी बारीको काम थियो । गाडीमा तरकारी राख्ने र झार्ने काम हुन्थ्यो । सानोतिनो कमाइ, लामो समयसम्म प्रगति नभएपछि उनी घर फर्किए। अहिले उनले गाउँमै गाई पाल्न थाल्एका छन । गोठमा बाँधेका तीनवटा गाई र एउटा भैँसीले दिने दूधले आम्दानी राम्रै भएको छ । त्यसैले त उनी हरेक दिन दर्गुछन ।

उनी मात्रै होइन उनको अघिपछि दूध बोकेर सङ्कलन केन्द्र पुग्नेको लस्कर हुन्छ । घरमा फुर्सदिला व्यक्ति भएका कसैले घरको काम गर्छन्, कोही दूध बोकेर सङ्कलन केन्द्र पुग्छन् भने घरमा थोरै जहान भएका विशेष गरी महिला स–साना बच्चालाई घरमै सुताएरै भए पनि आफ्ना घरको दूध सङ्कलन केन्द्र पु¥याउँछन् । कुश्मीशेरामा विदेशबाट फर्किएर गाईभैँसी पाल्न थालेका धेरै युवा छन् । गुरुदत्त आचार्य, दिनानाथ आचार्य, लक्षमण पौडेल, विकास पौडेल, चक्रपाणि शर्मालगायतका युवा उदाहरण मात्रै हुन् ।

यहाँका वैदेशिक रोजगारी गएका युवाका परिवारले पनि राम्रो दूध उत्पादन गर्छन् । उनीहरुको विदेशबाट आउने जत्तिकै कमाइ घरमा पनि छ । यहाँका विदेश गएर फर्किएका युवाको सक्रियतामा कुश्मीशेरामा दैनिक ७०० लिटर दूध उत्पादन हुन्छ । गाउँमै भएका शिक्षक, कर्मचारी, र केही कृषि तथा पशुका प्राविधिकको सक्रियताले उनीहरुलाई साथ दिएको छ । कुश्मीशेरामा दूधको उत्पादन गर्ने मात्रै दुई वटा सहकारी संस्था छन् । सबैजना त्यही सहकारीमा आवद्ध छन् ।

केही वर्ष पहिले स्थापना भएको पल्लोपाखा दुग्ध उत्पादक सहकारी संस्थाले नियमित दूधको सङ्कलन र बिक्री गर्दै आएको छ । जहाँ गाउँका अधिकांश किसानको शेयर छ । पछिल्लो एक वर्ष पहिले विदेशबाट फर्किएका युवाको धेरै सहभागिता रहेको जैमिनी दुग्ध उत्पादक सहकारी खुलेको छ । दुबै सहकारीले हरेक दिन ७०० लिटर दूध सङ्कलन गर्छन् ।

गाईभैँसी पालनमा लागेका युवालाई कसैसँग गफिएर बस्ने फुर्सद छैन् । दिनभर गोठमा रहेका गाईभैँसीको दानापानी र बिहान बेलुका दूध पु¥याउन पुग्नुपर्ने बाध्यता छ । उनीहरु त्यहीबाट आउने कमाइले सन्तुष्ट छन् ।

“विदेशमा हुँदा साहुले कहिले दिन्छ र घर पठाउने भने कुर्नु पर्दथ्यो, अहिले आफ्नो हिसाब आफैसँग छ”, किसान विकास पौडेलले भने, “दिनभर खुवाउने दाना र घाँसले २४ घण्टाको आम्दानीको हिसाब आउँछ ।” विदेशमा कमाएको भन्दा गाईपालेर कमाएको कमाइको माया लाग्छ रे उनीहरुलाई । “दुःख छ तर कमाइ हुँदा मनै आनन्दित हुन्छ, खर्च कटाउदा बचेको आफ्नै हो जस्तो लाग्छ”, किसान गुरुदत्त भन्छन, “घरमा जहानको साथ, बेला मौकाका पर्व र चिसो पानी, यही हो आनन्द, अव विदेशको नाम पनि लिन्न ।”

यहाँ उत्पादन भएको दूध पर्वतको सदरमुकाम कुश्मा बजार, बागलुङ बजारलगायतका ठाउँमा बिक्री हुन्छ । किसानले एक लिटर गाईको दूधको ५८ रुपैयाँ देखि ६५ रुपैयाँसम्म गुणस्तरको आधारमा पाउँछन् । सहकारीले भने बजारमा ८० देखि ९० रुपैयाँमा बिक्री गर्ने गरेको छ । “सहकारीमा खर्च कटाएर रहेको रकम पनि कहाँ जान्छ र हाम्रै हो, शेयर हामी किसानकै छ”, सहकारीका अध्यक्ष टीकाराम पौडेलले भन्नुभयो, “जम्मा भएको रकम वर्षदिनमा हिसाब गरेर दूध बिक्री गरेको आधारमा शेयर सदस्यलाई नै जान्छ ।” मेहनत गर्ने यहाँका युवाले महिनामा ४० देखि ८० हजार रुपैयाँसम्मको दूध बिक्री गर्ने गरेका छन् ।

घरखर्च कटाएर राम्रो आम्दानी दूधमा देखेपछि विदेशबाट फर्किएका युवा गाईभैँसी पालनमा आकर्षित भएको स्थानीय शिक्षक टेकनारायण आचार्य बताउछन । युवाहरुले गाईभैँसीपालनका अतिरित्त तरकारीखेती, कुखुरापालन र केराखेती समेत गर्दै आएका छन् भने आधुनिक प्लाष्टिक घरमा तरकारी र गोलभेँडासमेत फलाएर बिक्री गर्छन् । रासस

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १४:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...

धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै छिम्केश्वरी

धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै छिम्केश्वरी

दमौली (तनहुँ) । समुद्र सतहबाट दुई हजार एक सय ३४...