Sansar News- Online for Global Nepali

प्रचण्डले पूर्वमाओवादी अनि ओलीले पूर्वएमाले जसरी चलाउन खोज्दा समस्या आयो नेकपा बहस

सन्देश अर्याल
४ हप्ता पहिले
प्रचण्डले पूर्वमाओवादी अनि ओलीले पूर्वएमाले जसरी चलाउन खोज्दा समस्या आयो

काठमाडौं । नेकपाको स्थायी समिति बैठक अनिश्चित बनिरहेको बेला नेता हरिबोल गजुरेल विवाद समाधान गर्न केहि सुत्र प्रस्तुत गरेका थिए । उनले दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेरै पार्टी विवादबारेको आफ्नो सुत्र सुनाएका थिए । तर, उनको सुत्रलाई सुनिएन ।

तिनै पार्टी विवाद समाधानका गर्न सुत्र बनाउने नेता हरिबोल गजुरेलसँग पछिल्लो विवादबारे संसार न्यूजले केहि जिज्ञासा राखेको छ । संसार न्यूजका तर्फबाट सन्देश अर्यालले नेकपाभित्रको पछिल्लो विवादबारे नेता गजुरेलसँग गरेको कुराकानीको सम्पादित अंश :

नेकपा विभाजनमा गईसक्यो भन्ने चर्चा छ । खास नेकपा कता जाँदै हो ? के विभाजनमा नै गएको हो ?

अहिले विवादको मुल पक्ष के हो भन्ने छ । वैचारिक, राजनीतिक, संगठनात्मक तहसम्म विवाद बहस भईदिएको भए त्यसलाई स्वभाविक मान्न सकिन्थ्यो । तर, यहाँ विवाद कसलाई मन्त्री बनाउने, कसलाई राजदुत बनाउने, कहाँ को राख्ने भन्ने तिर मात्रै गयो ।

कमरेड बामदेवलाई राष्ट्रिय सभामा लैजाने कि नलैजाने, प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने जस्ता विषयले प्रधानता पाए । विवाद यस्तै विषयबाट सुरु भएको छ । बहसमा विचार र राजनीतिको विषयले मुल्य राखेको छैन् ।

खासमा कुन विषयमा बाँडफाँडको कुरा नमिल्दा विवाद छताछुल्ल भएको हो ?

मुख्य कुरा, यहाँ कुर्चीमा हुनेको के–के गर्दा कुर्ची बच्छ भन्नेतिर ध्यान छ । कुर्सीमा नहुनेलाई के–के गर्दा कुर्सीमा पुग्न सकिन्छ भन्नेमा मात्रै ध्यान छ । मुख्य टकराब कुर्चीमा नै देखियो । केहि विचार, राजनीतिको विषय पनि छन् । तर ति गौण छन् ।

गत भदौ २६ मा यीनै विवादलाई मिलाउने गरि स्थायी समितिले निर्णय गरेको थियो । जुन कार्यान्वनमा नजाँदा समस्या देखिएको भन्ने पनि छ नि ?

वैचारिक राजनीतिक विषयमा बहस छँदै छ । कयौं विषय टुंगीएका छैनन् । हाम्रो वैचारिक आधार के हुने टुंगो छैन् । केहि कार्यविभाजनका विषयमा स्थायी समितिले निर्णय गरेको थियो तर सो निर्णय कार्यान्वयन गर्ने विषयमा दुई अध्यक्षले छलफल गर्दा अरु केहि मान्छे राखेर छलफल गरेको भए निष्कर्ष पुग्थ्यो तर, त्यो भएन् । उहाँहरु छलफल गर्नुहुन्छ, छलफल भएको कुरा के हो ? सहमती गर्नुहुन्छ, सहमती भएको कुरा के हो ? कसैले बुझ्ने खालको छैन् । हामीलाई पनि बुझ्न गाह्रो भएको छ । केमा विवाद परेको भन्ने विषय नै अन्यौंल हुने स्थीति भयो ।

अन्तरसंघर्षमा जसले साथ दियो छलफलमा पनि त्यहि मात्रै बस्नुपर्ने स्थिति छ । हिजो क–कसले प्रचण्डलाई साथ दिए, ओलीलाई साथ दिए भन्ने कुरा गरेपछि मिल्ने स्थिति हुँदैन् । आज निर्णय कार्यान्वयनमा जाने विषयमा पनि यीनै विषयले गन्जागोल बनाएको छ । गलत इन्टेष्टहरु बाझिएका छन् ।

विवाद गम्भीर खालको देखियो । अब भन्नुस न त यसको निकास के हुन्छ ?

फेरि पनि ‘कम्परमाईज’ त हो । अरु के हुन्छ र निकास ?

सम्भव छ त्यसरी ?

सम्भव नहुने भन्ने नै रहेन । के छ र अरु विकल्प भन्नुस त ? नत्र त यो परिवर्तन नै सिधिन्छ । यो विवादले यी परिवर्तनमाथि नै प्रश्न उठाएको छ ।

तपाईंले यसअघि पार्टी विवाद मिलाउने सुत्र मसँग छ भन्नुभएको थियो । अब पार्टी नै विभाजन हुन लाग्यो । के हो त्यो सुत्र, जसले पार्टी विवादलाई समाधान गर्न सक्छ ?

सुत्र थियो नि त । मैंले अगाडि सारेको त्यो सुत्रको पालना भएन । नेताहरुले हुन्छ पनि भनेका थिए तर, गरेनन् । त्यो सुत्रअनुसार अगाडि बढेको भए अवस्था यस्तो हुने थिएन् । हामी अर्के ठाउँमा पुग्थ्यौं । बहस अर्को हुन्थ्यो ।

दुईवटा पाइलट (अध्यक्ष) भएर पार्टी नचल्ने देखेपछि मैंले ओली कमरेडसँग छलफल गरेको थिएँ । उहाँले अध्यक्षबाट स्वइच्छाले राजीनामा दिएर निकास दिनेजस्तो कुरा गर्नुभएको थियो ।

अर्कोतर्फ प्रचण्डलाई पनि मैंले पटक–पटक लेनिनले राजीनामा दिएको इतिहास सुनाएको थिएँ । पार्टी विवाद चर्किँदै गर्दा अन्तिममा पार्टीलाई बचाउन तपाईंले राजीनामा दिनुस् भनेर पनि भनेको थिएँ । जसबारे उहाँले अन्तिम समय म त्यो उपाय प्रयोग गर्छु भनेर पनि भन्नु भएको थियो । जतिखेर केपी कमरेडले बैठक एकतर्फी स्थगित गर्नुभयो त्यतिखेर त प्रचण्डले राजीनामा दिनुपथ्र्यौं । त्यो उहाँले गर्नुभएन । सायद त्यसो गरेको भए ओली कमरेडलाई नैतिकताको प्रश्न उठ्थ्यो । त्यसले पार्टीलाई पद्धतिमा लैजान सहयोग पुग्थ्यो । तर, त्यो भएन ।

त्यो त्यतिखेरको सन्दर्भ भयो, अहिलेको निकास के ? अब त बैठक पनि नहुने स्थिति छ ।

बैठकमा आफुँ पछाडि परेर कसैले पनि बैठक बोलाउन चाहँदैन । सचिवालय या स्थायी समिति बैठक राख्नु अघि दुवैले हिसाब गरेको देखिन्छ । अहिले सचिवालय बैठक प्रधानमन्त्री ओलीले आफुँ अनुकुल नदेखेपछि बोलाउन नखोजेको हो ।

पूर्वमन्त्री गोकुल बाँस्कोटाले ‘लेनदेन’मा हिसाब मिलेपछि समस्या हल हुन्छ भन्नुभएको थियो । के अब लेनदेनमा हिसाब मिल्दा समस्या सुल्झीएला ?

‘लेनदेन’ शब्द प्रयोग गरेर नेताहरुलाई तल नझारौं । लेनदेनको विषय पनि हो तर, मुख्य कुरा पार्टी चलाउने तरिका दुवैको नपुगेको हो । पूर्वमाओवादी चलाए जसरी प्रचण्डले चलाउन खोज्ने, पूर्वएमाले चलाए जसरी ओलीले चलाउन खोज्दा समस्या आएको हो । यो नयाँ पार्टी थियो, त्यसरी चल्ने स्थिति थिएन भन्ने कुरा उहाँहरुले बुझेको देखिएन् ।

अर्को, संविधानप्रति उहाँहरु बफादार हुन सक्नुभएन । आफैंले बनाएको संविधान समाजवाद उन्मुख छ । समाजवादी दिशातर्फ आचरण, कार्यशैली, त्यस्तो नीति केहि पनि भएन । आफ्नै संविधानप्रति हामी इमान्दार हुन नसकेपछि यो अवस्था आउनु स्वभाविक हो ।

आज नयाँ पार्टी पुरानै तरिकाले चलाउने स्थिति बनेको छ । नयाँ सरकार, नयाँ संसद नयाँ तरिकाले चल्नु पथ्र्यो । नयाँ पन केहि छैन् । अनि जनतामा, कार्यकर्तामा, नेतामा निराश नआए के आउँछ ?

फेरि पनि दुवैले कम्प्रमाईज गरेर, नयाँपन ल्याउने अठोट गर्नुपर्छ । अबको निकास पनि त्यहि हो । नत्र पार्टी, परिवर्तन सबै भड्खालोमा जाकिने स्थिति आउँछ ।

सर्बाधिक पढिएको

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी

नेपाली सेनाले माग्यो सिभिल कर्मचारी ६ दिन पहिले | संसार न्यूज़

११ मंसिर, काठमाडौं । नेपाली सेनाले करार सेवामा जनशक्तिको माग…

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना)

ठूलो संख्यामा लोक सेवाको विज्ञापन ( हेर्नुस् यो सूचना) १ हप्ता पहिले | संसार न्यूज़

८ मंसिर, काठमाडौँ । बागमती प्रदेश लोक सेवाले ठुलो सङ्ख्यामा…

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित)

यसरी गरे पूर्वसभामुख महराले पत्नीको अन्तिम विदाई (तस्बिरसहित) ४ हप्ता पहिले | संसार न्यूज़

१९ कात्तिक, काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराले उपचारका क्रममा मृत्यु…

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा

सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा बढुवा ३ हप्ता पहिले | संसार न्यूज़

२७ कार्तिक, काठमाडौँ । नेपाली सेनाका पाँच प्रमुख सेनानीहरु महासेनानीमा…