राजा त्रिभुवन वीर विक्रम शाह र अधिराजकुमार ज्ञानेन्द्र शाहमध्ये कसलाई राजा मान्ने भन्ने विषयमा शासक राणा परिवार भित्रै पनि निकै मतभेद थियो । ३०—४० जना राणाहरु त्रिभुवनको पक्षमा थिए भने केहि ज्ञानेन्द्रको पक्षमा पनि थिए ।
राजा कसलाई मान्ने भन्ने विषयमा विवाद हुँदा केही दिनमा नै चालीस जना राणाहरुले सेना र प्रशासनका उच्च पदबाट राजीनामा समेत दिएका थिए । चन्द्र शमशेरका छोरानातीको दबदबाप्रति इष्र्याले जलेका अरु राणाहरु उनीहरुको शेखी झार्न उद्यत थिए ।
भारत सरकारले त्रिभुवनको पक्षमा स्पष्ट समर्थन गरेपछि त्रिभुवनलाई नै राजगद्दीमा पनस्र्थापित गर्नुपर्छ भन्ने राणाहरुको संख्या बढेर १२० सम्म पुग्यो । यो पक्षका प्रमुख राणाहरुमा बालकृष्ण शमशेर, प्रल्हाद शमशेर, नारायण शमशेर, खेमराज शमशेर, डाइमण्ड शमशेर, पवन शमशेर, कर्ण शमशेर आदि देखिएका थिए ।
२००७ मंसिर १० आजकै दिन असन्तुष्ट राणापक्षले तीनधारा संस्कृत पाठशाला नजिक जम्मा भएर त्रिभुवनको समर्थनमा नारा लगाउँदै एउटा सानो जुलूससमेत निकाले । जुन जनसाधारणको लागि यो आश्चर्यजनक र अभूतपूर्व कुरा थियो ।
त्यससमय राणाहरुको जुलूस हेर्न एकैछिनमा ठूलो भिडसमेत जम्मा भएको थियो । भिडबाट पनि कसै कसैले उनीहरुको नारालाई साथ दिएका थिए । त्यससमय प्रदर्शन गर्ने राणाहरुलाई प्रहरीद्वारा गिरफ्तार गरि सिंहदरबार तर्फ लगिएको थियो । प्रदर्शन ठूलो हुँदै जाँदा प्रहरीले लाठीसमेत प्रहार गरेको थियो ।