शेरे मगमा चिया टन्न भरेर
बस्यो टुलमा थपक्क
टेवलमा राखिएको फिक्का चियालाई
हेरिरह्यो एक टक लाएर
एकजना भावुक कविले !
भावनाहरूको लिस्नो लगायो
शेरे मगमा
र पस्यो चियाभित्र
आमाको रहरहरू दबिएको छ
बाबाको आवाजहरू दबिएको छ
र दबिएको छ कर्णधारहरूको भविश्य
त्यही माटोमा !
त्यही माटोमा !निःसन्देह चियाबारीको माटो ।।
चियाभित्र उसले पुर्खाको अनुहार देख्यो
चियाभित्र उसले भोकको शहर देख्यो
र देख्यो उसले आमाको लामो सुस्केरा
चियाबाट बाहिर निस्क्यो उ
र पियो एक चुस्की
र पियो अर्को चुस्की
चियाभित्र उसले वालकपनको स्वाद भेट्यो
चियाभित्र उसले अल्लारेपनको गन्ध भेट्यो
र भेट्यो उसले आफ्नो थकित बृद्धापनहरू
आकाशवाणी भो !
चियाले कविलाई सुस्तरी भन्यो
‘ऐ कमाने,
तेरो भूत, भविश्य र वर्तमान मै हुँ’
कवि छक्क पर्यो !
तीन छक्क पर्यो !!
हुन पनि हो,
युगौंबाट घोप्टिएको छ कमानेको पसिना
सिञ्चिएको छ खुन
र दबिएको छ बाऊ-बाजेको जीवाश्म
आमाको रहरहरू दबिएको छ
बाबाको आवाजहरू दबिएको छ
र दबिएको छ कर्णधारहरूको भविश्य
त्यही माटोमा !
त्यही माटोमा !
निःसन्देह चियाबारीको माटो ।।
वि.सं.२०७७ मंसिर १३ शनिवार ०९:२१ मा प्रकाशित