काठमाडौँ । आर्यन फिल्मस्को प्रोडक्शनमा बन्न लागेको चलचित्र ‘रेड वाइन’ मा साम्राज्ञीको जोडी नायक पुष्प खड्का बन्ने भएका छन् ।
केही समय अघिमात्र चलचित्र ‘रेड वाइन ‘मा नायक पल शाह र नायिका साम्राज्ञी शाह फाइनल भएका थिए । छायांकनको तयारीमा रहेको यस चलचित्रबाट नायक पल शाह बाहिरिएका छन् । पल बाहिरिएसँगै चलचित्रमा अर्का नायक पुष्प खड्का अनुबन्धित भएका हुन् ।
पुष्प र साम्राज्ञीको यो दोस्रो सहकार्य हो । यसअघि यि दुई ‘मारुनी’मा एकसाथ देखिएका थिए । बुझिए अनुसार चलचित्र टिम र खड्काबिच कागजी सम्झौता भइसकेको छ ।
एमके पौडेलको निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा सबिर श्रेष्ठको पटकथा र संवाद रहने छ । बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा पासाङ लामा कप आर्यन पौडेलको लगानी रहने छ । चलचित्रको अधिकांश छायांकन अमेरिका र केही नेपालमा हुने बताइएको छ ।