१५ मंसिर, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सुझबुझपूर्ण रुपमा लगानी गर्न शेयर लगानीकर्ताहरुलाई अनुरोध गरेको छ ।
पछिल्लो दिनहरुमा दोस्रो बजारमा कारोबार रकम र नेप्से सूचक उच्च अंकमा पुगिरहेकै बेला धितोपत्र बोर्डले सुझबुझपूर्ण रुपमा लगानी गर्न भन्दै विज्ञप्तिमार्फत अनुरोध गरेको हो ।
पछिल्ला केही दिनमा दोस्रो बजारमा कारोबार रकम र नेप्से परिसूचक हालसम्मको उच्च अंकमा रहनु समग्र पुँजी बजारका लागि खुशीको कुरा भएपनि हल्ला र अनुमानको पछाडी लगानी गर्दा लगानीकर्ताको जोखिममा पर्नसक्ने तर्फ बोर्डले सचेत गराएको छ ।
लगानीकर्ताहरुले पुँजी बजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तिय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तिय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानीको निर्णय लिनु उपयुक्त हुने जनाएको छ ।