११ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले शुक्रबार कामचलाउ मन्त्रिमण्डल हेरफेर गरेर संबैधानिक मर्यादाको उल्लंघन गरेको बताएका छन् ।
नेता पौडेलले प्रधानमन्त्रीले लगातार चालेका तीनवटै कदम संविधानको भावना र मर्म विपरित भएको भन्दै संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गरेको आरोप समेत लगाएका छन् ।
नेता पौडेलले संसद विघटनको असंबैधानिक कदमका विरुद्ध पुस शनिबार १३ गते आयोजन गरेको देशव्यापी जनप्रदर्शन उत्साहजनक सहभागिताको लागि सबैलाई अनुरोध समेत गरेका छन् ।
नेता पौडेलद्धारा शनिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ,,
‘प्रधानमन्त्री श्री के.पीं शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन । उहाँले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन् । अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो । हिजो फेरी कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गर्नुभयो ।
अव हामीलाई उहाँले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन । वरु न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्चाई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु ।
अतः नेपाली कांग्रेसले यो कदम सच्चियोस भनेर देशभरि जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको छ। सम्पूर्ण साथिहरुलाई उत्साहजनक सहभागिताको लागि अनुरोध गर्दछु ।’