१३ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटनका विरुद्धमा देशभर विरोध प्रदर्शन गर्न लागेको छ ।
पार्टीको आयोजनामा आज १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने र उक्त प्रदर्शनमा सम्बन्धीत क्षेत्रका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार सभापति शेर बहादुर देउवाले भक्तपुर तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीको सभालाई प्रदर्शन गर्ने भएका छन् ।
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै आजको विरोध प्रदर्शन सफल र भव्य बनाउनका लागि देशभरी रहेका पार्टी नेता, कार्यकर्ता तथा शुभ चिन्तकलाई अनुरोध गरेको छ ।
त्यसैगरी विरोध प्रदर्शनका क्रममा ब्यानर प्लेकार्ड तथा निर्धारित नारामात्र प्रयोग गर्न समेत देशैभरी परिपत्र गरिएको जनाएको छ ।