१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अदालतमा विचाराधिन रहेको संसद विघटन सम्बन्धी मुद्दामा अदालतले जस्तो निर्णय गरेपनि कांग्रेसलाई मान्य हुने बताएका छन् ।
कांग्रेसद्धारा सोमबार आयोजित देशव्यापी प्रदर्शनका क्रममा भक्तपुर क्षेत्र नं २ कार्यसमितिद्धारा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसले संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेकोले अदालतको स्वविवेकी निर्णयलाई कांग्रेसले मान्ने बताए ।
‘हामीले अदालतलाई यस्तो निर्णय गर, भनेर हस्तक्षेप गर्ने र तर्साउने काम गदैनौं । उसको स्वविवेकी निर्णयलाई हामी स्वीकार्नेछौं ।
पंचायतकालमा पनि अदालत स्वतन्त्र थियो तर दुईतिहाइको कम्युनिष्ट सरकारले अदालतलाई समेत विवादित बनायो ।’
सरकार तथा संसदले बदमासी गरेपनि अदालतले बदमासी नगरेर संसद विघटन सम्बन्धी मुद्दामा स्वविवेकी निर्णय गर्ने उनले विश्वास व्यक्त गरे ।
सभापति देउवाले संसद विघटन विरुद्ध नेपाली कांग्रेसको आन्दोलन निरन्तर हुने बताउँदै आन्दोलनका कार्यक्रमहरु कस्तो हुने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताएका छन् ।