Sansar News- Online for Global Nepali

ओलीजीको यो कदम घोर प्रतिगामी कदम हो –लक्ष्मण पन्त

संसार न्यूज़
३ महिना पहिले
ओलीजीको यो कदम घोर प्रतिगामी कदम हो –लक्ष्मण पन्त

सरकारलाई काम गर्न दिइएन भन्नु कुतर्क मात्र हो । ओलीजीले एकातिर सरकार निकै राम्रा काम गर्न सफल भएको पनि भन्नु अर्कोतिर काम गर्न दिइएन भनेर आफ्नै तर्कको खण्डन गर्नुभएको छैन र ! त्यसैले यो हाँस्यास्पद् तर्कको कुनै अर्थ छैन ।

प्रधानमन्त्री ओलीको संसद विघटन गराउने कदमलाई कसरी हेर्नुभएको छ ?

ओलीजीको यो कदम असंवैधानिक छ । यो मुलुक, जनता र शिशु गणतन्त्र विरुद्धको निर्मम प्रहार हो । यसले देशलाई फेरि ०४६ सालतिर धकेलेको छ, जतिबेलादेखि मुलुक अस्थिरताको अँध्यारो सुरुङभित्र छिरेको थियो । संसद विघटनबाट नेपालमा अस्थिरता नचाहने विदेशी शक्तिहरु उत्साहित भएका छन् । ओलीजी भारतीय र अमेरिकी ती शक्तिहरुको गोटी बन्नुभएको छ जो संसदको सर्वसम्मतिबाट गुमेको भू–भागसहितको नक्शालाई अनुमोदनबाट असन्तुष्ट थिए, साथै संसदबाट एमसीसी अनुमोदन नगरिएकोमा रुष्ट भएका थिए । ओलीजीको यो कदम घोर प्रतिगामी कदम हो ।

ओलीजी र उहांको समूहका नेताहरु सरकारलाई पार्टीभित्रैबाट काम गर्न दिइएन त्यसैले जनताबीच ताजा जनमतमा जानु परेको हो भन्नु भएको छ त ।
सरकारलाई काम गर्न दिइएन भन्नु कुतर्क मात्र हो । ओलीजीले एकातिर सरकार निकै राम्रा काम गर्न सफल भएको पनि भन्नु अर्कोतिर काम गर्न दिइएन भनेर आफ्नै तर्कको खण्डन गर्नुभएको छैन र ! त्यसैले यो हाँस्यास्पद् तर्कको कुनै अर्थ छैन । अर्को कुरा के हो भने पार्टी अध्यक्षसहित ओलीजी मुलुृकको सर्वशक्तिमान कार्यकारी प्रमुख हो । २२ जना क्याबिनेट मन्त्रीहरु, मुख्य सचिव र सचिवहरुको टिमसित उहाँले काम गर्ने हो । जनतालाई डिलेभरी दिने वा काम गर्ने यही टिम हो । मन्त्रिमण्डलमा दुइचार जना मन्त्रीबाहेक तीसबै उहाँ आफैले छानेकाहरु छन् । सर्वाधिक महत्वका अर्थ, गृह, रक्षा र परराष्ट मन्त्रालयमा त झनै उहाँप्रति अत्यन्तै वफादार मन्त्रीहरु छन् । राष्ट्रपति उहाँकै समर्थनमा हुनुहुन्छ । सेनाप्रमुख र प्रहरी प्रमुख उहाँकै छनोटका छन् । राष्ट्रिय अनुसन्धान विभाग समेत उहाँकै मातहतमा छ । अनि काम गर्न दिइएन भनेर उहाँले कस्लाई आरोप लगाउनु भएको हो ? तेस्रो कुरा काम गर्न दिइएन भन्ने आरोप किन पनि असत्य छ भने उहाँलाई मन लागेको वा आवश्यक भएको बेला उहाँले अध्यादेश पनि ल्याउनु भएकै छ, संवैधानिक नियुक्ति वा राजदूतहरुको नियुक्ति पनि गर्नु नै भएको छ । मन्त्रीमण्डलमा आफूले चाहे अनुसार हेरफेर गर्न पनि केहीले उहाँलाई रोकेको छैन । यी सबै तथ्यहरुले उहाँका आधारहीन तर्कलाई स्वतः खण्डन गर्दैनन् र ।

हिजोको काम गराई हेर्दा ठूलो आश गर्ने ठाउँ त छैन तर पनि हामी सबै आशावादी बन्नुको विकल्प छैन ।

प्रचण्ड माधव पक्षले काम गर्न नदिएको कुरालाई नमान्ने हो भने पनि पार्टीभित्र सरकारको काम कार्वाही र ओलीजीको कार्यशैली विरुद्ध तीव्र मतभेद भएको त हो नि ?
एउटा पार्टीमा छलफल हुनु मतमतान्तर हुनु, सरकारको कामको मूल्यांकन हुनु नितान्त स्वाभाविक कुरा हो । तर ओलीजीले त्यो मतभेद र मैत्रीपूर्ण आलोचनालाई पनि शत्रुतापूर्ण रुपमा लिनुभयो । पार्टीको बैठक नबोलाउने, बोलाइएको बैठकमा नजाने एउटा अध्यक्षको लागि सबैभन्दा लज्जास्पद विषय हो । आफै अध्यक्ष हुने अनि बैठकमा मैले भनेको नहुँदासम्म जान्न भन्नुजस्तो लज्जास्पद विषय अरु केही हुन सक्तैन । उहाँको कार्यशैली निरंकुश देखियो । पार्टी, कमिटी, विधान, विधिपद्धति सबैभन्दा माथि उहाँले आफूलाई राख्नुभयो । जसको परिणाम यो भयो कि दुईतिहाई नजिकको बहुमत पार्टीका कारणले होइन मेरा कारणले आएको भनेर उहाँले अत्यन्तै गलत निष्कर्षमा पुग्नु भयो ।

के सरकारको कामकाजबाट पनि तपाईहरु असन्तुष्ट हुनु भएको हो ।
सरकारले ठूलो कमीशनसित जोडिएका यो सरकारभन्दा पहिलेका सरकारहरुको कार्यकालमा आरम्भ भएका कतिपय राष्ट्रिय गौरवका आयोजनालाई बजेट थपिदिएर निरन्तरता दिएको कुरालाई छाडिदिने हो भने कृषिको विकास र विस्तार गर्ने, औद्योगिकीकरणको जग बसाल्ने, रुग्ण उद्योगहरुलाई सपार्ने, जनशक्ति पलायन रोक्ने, शिक्षा स्वास्थ्य र यातायातमा सिण्डीकेट रोक्ने, कोरोनापीडित कामदार वर्गका जनतालाई उपचार र राहत दिने, साना मझौला व्यवसायीहरुलाई राहत प्याकेज दिने, कोरोनाका कारण प्रवासमा विचल्लीमा परेका नागरिकलाई निशुल्क वा सस्तोमा उद्धार गर्ने एउटा पनि आशलाग्दो काम गर्न सकेन । जनतालाई डिलेभरी दिन सकेन । मुलुकको वाम सरकारले केकति काम गरे होला भनेर बुझ्न धेरै पर नजाऔं । भ्रष्टाचार कमीशनतन्त्रबाट जर्जर मुलुकको अवस्थामा केही पनि फरक आएन ।

मुलुकको प्रधानमन्त्री आठ आठ महिनासम्म शारीरिक दुर्बलताका कारण आफ्नो सचिवालय सिंहदरवार जान सक्तैन । आफ्नो निवासको सोफा र ओछ्यानमा सिरानीको आड लिँदै २४ सै घण्टा आफ्नै जर्जर कायाको चिन्तामा रहन अभिशप्त व्यक्तिबाट तपाईले कति “बिजनेश” को आश गर्नु हुन्छ, सरकारले कति काम गरेको होला भनेर आस गर्नुहुन्छ । यो त सबैले स्पष्टै बुझेका छन् । म कामना गर्छू ओलीजी तपाई १०० वर्षभन्दा बढीको उमेर बाँच्नु होस् । आफू बिरामी हुने कुरा तपाईको वशको कुरा होइन, तर विभिन्न आत्मघाती कदमहरु चालेर देशलाई बिरामी बनाउने तपाईलाई कुनै अधिकार छैन । तपाईलाई उठाउन र बसाउन पनि सहारा चाहिने अवस्थामा पुग्नु भएको म देख्छु । तपाईको शारीरिक अस्वस्थताप्रति मेरो सहानुभूति छ तर यो अवस्थामा पनि तपाईको सत्तालिप्सा निन्दनीय छ । बरु ईश्वरजी वा बादलजीलाई सरकारको बागडोर सुम्पिनुस् । त्यसमा शायद कसैलाई पनि आपत्ति नहोला । ९० प्रतिशत शारीरिक अस्वस्थता भएको व्यक्ति मानसिक रुपमा पनि राज्य सन्चालन गर्न सक्षम हुँदैन । संसद विघटन र पार्टी भित्रको विवाद ओलीजीको शिथिल र जर्जर कायाबाट निर्मित मानसिक विकृतिकै उपज हो भन्नका लागि प्रशस्त ठाउँ छ । किनभने स्वस्थ्य मानसिकता भएको मानिसले आफ्नो, आफ्नो पार्टीको, मुलुक र जनताको भलो चिताउँछ, तर तपाईले संसद विघटन गरेर यो मध्ये कुनै पनि काम गर्नुभएको छैन । मात्र वैदेशिक शक्तिहरुलाई खुशी तुल्याउने काम गर्नु भएको छ ।

नाकाबन्दीको डटेर सामना गरेको कारणले यसभन्दा पहिलेको ओली नेतृत्वको सरकारलाई पनि ढालियो र अहिले पनि गुमेको भुभाग ल्याउनका लागि नक्शा प्रकाशन गरेको देखिसहनु नभएकाले सरकार ढाल्ने खेल खेले भन्ने आरोपको खण्डन कसरी गर्नु हुन्छ ?
नाकाबन्दीको डटेर विरोध ओलीजीले गर्नु भयो यो कुरा ठिक हो । तर मेरो विचारमा अघिल्लो ओली सरकार नाकाबन्दीको विषयलाई लिएर ढालिएको नभएर गठबन्धनमा सामेल दलहरुसित गरिएका सहमतिको पालना ओलीजीले नगरेकाले ढलेको हो । अहिलेको प्रसंग त नितान्त फरक हो । नक्शा ल्याउन उहाँ इच्छुक हुनुहुन्थेन त्यो जनता र पार्टीको दवाबका कारण उहाँले चालेको बाध्यात्मक कदम थियो । त्यसैले नक्शा जारी गरेबापत उहाँको सरकार ढाल्न खोजेको भन्ने कुरा कुतर्क बाहेक केही होइन ।

तपाइले समर्थन गर्नुभएको प्रचण्ड–माधव समूहको भविष्य कस्तो देख्नु हुन्छ ।
अहिलेको सन्दर्भमा चुनौतीहरु बढेर गएका छन् । तर पार्टीको योजना कस्तो हुने भन्ने प्रचण्ड र माधवजीको संयुक्त नेतृत्वमा भर पर्ने कुरा हो । पार्टीमा जनवादको अभ्यास नभएको र कमिटी प्रणालीको व्यवहारतः अन्त भैसकेको पनि दुई दशक पुग्न थालेको सन्दर्भमा अब पार्टीले कुन कोर्स लिन्छ भन्ने कुरा आम सहमतिबाट भन्दा पनि पार्टी नेतृत्वमा रहेका साथीहरुको तजबीजमा हुने कुरा हो । त्यसैले यसबारे मेरो केही टिप्पणी छैन । संयुक्त नेतृत्व सामु पार्टीलाई प्रतिगमनका विरुद्ध परिचालित गर्ने, जुझारु पार्टी निर्माण गर्ने, पार्टीलाई किसान मजदुरको पक्षमा दृढतासाथ उभ्याउने चुनौतीहरु छन् । हिजोको काम गराई हेर्दा ठूलो आश गर्ने ठाउँ त छैन तर पनि हामी सबै आशावादी बन्नुको विकल्प छैन ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ३ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको पुरस्कार

प्रधानमन्त्री ओलीलाई उत्कृष्ट गीतकारको पुरस्कार ४ हप्ता पहिले | संसार न्यूज़

४ चैत, काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ३ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन भर्ने\भराउने सम्बन्धी सूचना ४ हप्ता पहिले | संसार न्यूज़

८ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले…