बिरोधीको सङ्ख्या निरन्तर वृद्धि हुन थालेपछि उनी असमन्जसमा थिए । के गरौं र कसो गरौंको अवस्थामा पुगेका उनले अचानक बैठक बोलाए ।
छलफल शुरु भयो ।
बिरोधीले कुनकुन विषयमा प्रहार गरेका छन् तिनको टिपोट तयार भयो ।
लामो सूची देखेर उनले सोधे ‘हैन साँच्चिकै यति धेरै नराम्रो काम गरिएछ त ?’ बिरोध गर्नु त बिरोधीको धर्मै हो नि’
सहभागीहरुले यहाँनेर यो, यहाँनेर यो गल्ती भयो भनेर आआफ्ना प्रतिक्रिया दिए ।यसमा उनी धेरै हदसम्म सहमत भए ।
छलफलकै क्रममा धेरै आश्वासन बाँडिए पनि पूरा गर्न नसकिएकाले असन्तुष्टि बढेको जानकारी गराइयो ।
‘के थिए त्यस्ता आश्वासन, सम्झाउनुस् त ? उनले गम्भीर हुँदै सोधे ।’
अब आश्वासनहरुको स्मरण गर्न थालियो ।
अधुरा आश्वासनको लामो सूची तयार भयो ।
देखेर उनले भने ‘छाड्नुस् यो सब । चिन्ता मान्नु पर्दैन, ‘कुकुर भुक्दै गर्छ,हात्ती लस्कँदै गर्छ,राजनीतिको धर्म नै यही त हो ।’