पुस २३, काठमाडौं । अमेरिकी संसद भवनमा भएको झडपमा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र प्रहरीबीच भएको झडपमा एक महिलासहित चार जनाको ज्यान गएको छ ।
हिंसामा परि दुई दर्जन बढि सुरक्षाकर्मी पनि घाईते भएकाे सञ्चार माध्यमले जनाएका छन् । घाईतमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
प्रहरीले हिंसामा सहभागी ५२ प्रदर्शनकारीलाई गिरफ्तार गरेको जनाएको छ । घटनापश्चात अमेरिकी राजधानी वाशिंगटन डिसीमा अहिले कर्फ्यू लगाइएको छ ।
बुधबार अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको कानुनी पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्पका सयौँ समर्थकहरु जर्बजस्ती संसदमा छिरेका थिए । जर्बजस्ती संसदमा छिरेका ट्रम्पका समर्थक र प्रहरीबीच झडप भएको थियो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झण्डै तीन घण्टासम्म झडप भएको थियो ।
जनाइएअनुसार सुरक्षाकर्मीले प्रदर्शनलाई नियन्त्रणमा लिएसँगै अमेरिकी संसदमा बैठक सुरु भएको छ । बैठकमा राष्ट्रपति निर्वाचित जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ ।
सम्बन्धित समाचार
वाशिङ्टनमा कर्फ्यू, मृतक महिलाको पहिचान खुल्यो (हेर्नुस् अमेरिकी संसदभित्र भएको हिंसा तस्विरमा)