कर्तव्य र दायित्व दुवैको केन्द्र हुन् प्रायः सबैका बा
समय र प्रगतिको उत्तम संयोजक हुन् हामी सबैका बा
जस्तोसुकै न्यायसम्पादनको संङ्ख्यालाई भाग गर्दा पनि
शेष नरहने गणित हुन् बा
र त गर्व गर्छौँ बाको त्यो क्षमता देखेर हामी
तर आज राष्ट्रिय बाहरूको पतन भएको छ
स्थिरता अनियन्त्रित भई मञ्चन भएको छ नाटक
पार्थक्यता नै छुट्याउन
सकिएको छैन नायक र खलनायकको !
एउटा कुशल नेतृत्वको नाममा
छेपारो हुनुको सीमा कति होलान् ?
बाँदर हुनुको ईर्ष्या र डाह कति होलान् ?
घरबार चलाउन नीतिगत धनीपूर्जा नामसारी हुनुपर्छ
अर्जुन र भीमहरूको विदेश यात्रा अब रोक्नुपर्छ
यद्यपि
ऊर्जा , चेतना , सीप र प्रविधिको एक युग
बिडम्बना बनेर यो देशको भकारी भर्न
आफ्नै पसिनासँग
अर्थतन्त्र साटिरहेका छन्
र त बाहरूको नातावाद, घुषखोरी,
व्यभिचार र लुटतन्त्रले हरियाली
छाउने अवसर पाएको छ !
तीन करोड वीर्यहरूको आत्मा दोहन गरेर
कुन भ्रमको खेतीमा अग्रगमनका वेर्ना उमार्छौ ?
कस्तो किसिमको गया श्राद्ध सपार्छौ ?
कुन पुण्य कमाउन बद्री र केदार घुम्छौ ?
यक्ष प्रश्न हो-बाहरूप्रति !
छोडिदेऊ -विज्ञान र प्रविधिका कुरा
छोडिदेऊ-यातायातमा रेल र पानीजहाजमा कुरा
छोडिदेऊ-मनोरञ्जन र सुविधाका कुरा
छाडिदेऊ-साहित्य, सङ्गीत, कला र दर्शनका कुरा
बरु निर्वाद उठाऊ भोकका कुरा-
एक आङ वस्त्रको कुरा
र प्रत्येक देहले देख्न र भोग्न सक्ने
सूर्योदय र सूर्यास्तमा
तिम्रा जादूमय दृष्टिले देखेको
सीमित भूगोलभित्रका एक
हिउँद र वर्खाको एक आकाशको कुरा ।
प्राणी जगत्मा नै उमेर र,
चेतनाको सत्य ध्रुवसत्य हुन्
शून्यको उपस्थिति हुनु र अङ्क गणना हुनु नै
विकासको उपज हुन्
तरपनि
आजकल खोयाको घर र तासको खेलझैँ
सुरक्षा र हारजीत असंभव लाग्छ
सीपले आर्जेको स्वाभलम्बीपन
कर्मले तिखारेको स्वाभिमान
आत्मगौरबले अनुभूत गरेको स्वाधीनता
नैसर्गिक अधिकारको स्वतन्त्रतता
ती बाहरूबाट
हाम्रा लागि अनुभूतिशून्य हुनु साध्य होइनन्
तैपनि
विकास र सम्बृद्धिको नाममा
सम्पूर्ण मजदूरहरूको बस्तीमा
कहिलेसम्म आगो लगाउँछौ ?
जनताकै जौ खाएर उसैको जुँगा
कहिलेसम्म उखेल्छौ ?
छोडिदेऊ -विज्ञान र प्रविधिका कुरा
छोडिदेऊ-यातायातमा रेल र पानीजहाजमा कुरा
छोडिदेऊ-मनोरञ्जन र सुविधाका कुरा
छाडिदेऊ-साहित्य, सङ्गीत, कला र दर्शनका कुरा
बरु निर्वाद उठाऊ भोकका कुरा-
एक आङ वस्त्रको कुरा
र प्रत्येक देहले देख्न र भोग्न सक्ने
सूर्योदय र सूर्यास्तमा
तिम्रा जादूमय दृष्टिले देखेको
सीमित भूगोलभित्रका एक
हिउँद र वर्खाको एक आकाशको कुरा ।
भोक, आकाश र आङलाई तिलाञ्जली दिएर
कुन ग्रहमा रहरको खेती गरिरहेका छौ ?
कुन माक्र्स र लेनिनको अपव्याख्या गरिरहेका छौ ?
केवल नेतृत्वको नाममा ।