२७ पुष, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितआठ जना सांसदलाई पदबाट निलम्बन गरेको घोषणा गरेको छ ।
प्रचण्ड माधव समूहले मुख्यमन्त्री राईसहित आठ जना सांसदलाई ३ महिनाका लागि निलम्बनको घोषणा गर्दै कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गर्दै पत्र पठाएको छ ।
मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरिएको प्रचण्ड–नेपाल समूहले जनाएको छ।
दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको प्रचण्ड-नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा प्रदेशसभालाई सिफारिस गरि पठाइएको पत्रमा उल्लेख छ । ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाभित्र एउटा समूहले अर्को समूहलाई हटाउने र कार्वाहि भएका छन् । यसैक्रममा मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रचण्ड–नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेको थियो। पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेको थियो ।