२९ पुस, काठमाडौं । गएराति इङलिस प्रिमियर लिग अन्तरगत भएको खेलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले १-० गोल अन्तरमा बर्नलेलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
युनाइटेडको जितमा पउल पोग्बाले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पोग्बाले गोल गर्दै युनाईटेडलाई जित दिलाएका थिए । उनले मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए ।
जितपछि १७ खेलमा ११ जित ३ बराबरी र ३ हारको नतिजाका साथ ३६ अंक जोड्दै युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलले समान खेलबाट ३३ अंक जोडेको छभने तेस्रो र चौथो स्थानमा रहेको लेस्टर र इभरटनको समान ३२ अंक रहेको छ ।