जागिरवाट निवृत भएको केहि समय आफूलाई स्थिर गर्न समय लाग्ने रहेछ । नहोस पनि कसरी एकाएक सकृय जीवनवाट निस्कृय हुँदा केहि हराएको जस्तो केहि गुमाएको जस्तो भई सुन्यतामा परेको आभाष हुनु सामनन्य नै हो जस्तो लाग्छ । तर निवृत्त त हुनु नै छ जसरी अरु चराचर जगत एउटा समय पुगेपछि आफ्नो वृत्तिवाट निवृत्त हुन्छन् र अन्ततः यहि जगतको तत्वमा विलिन हुन्छन् । अरु कुनै पनि जीव निवृत्त हुँदा विसाद गर्दैन र दुःखको किञ्चित विलाप गर्दैन जति मानिसले गर्दछ । जीवन सिथिल भईसक्दा पनि आशक्तिको मात्रा घट्दैन । यहि आशक्ति नै अवसादको व्यूह बनेर घुमेको छ दिमाग भरी । नत्र किन दुःखि हुनु जागिरवाट निवृत्त हुँदैमा ।
हामीहरुको त संस्कार नै एउटा निश्चित उमेर पछि त्याग गर्दै गर्दै जाने र अन्ततः देह त्याग गर्ने हो । यति कुराको ज्ञान हामी सवैसंग नभएको भने होईन । तर फेरि किन दुःखी वन्दछन् जागिरेहरु सेवा निवृत्त हुँदा ? किन भने जागिरवाट निवृत्त भएपछि के गरी घर व्यवहार चलाउने र आफूलाई सकृय वनाउंदै जाने भन्ने कुनै पूर्वयोजना नवनाउनु प्रमुख कारण हो । निवृत्तिभरण आईहाल्छ र आफूलाई खान पुगिहाल्छ भन्ने सोचाईले गर्दा हो ।
जागिरेलाई सेवा निवृत्त भएपछि निवृत्तिभरण कति आउंछ भन्दा ठीक्क खानपुग्ने ।ओखतिमुलो, सामाजिक र साँस्कतिक खर्च, अन्य अपर्झट आईपर्ने खर्च, र लुगाफाटोको लागि भने छोराछोरीको मुख ताक्न पर्ने हुन्छ । आशिर्वाद प्राप्त भाग्यमानि जागिरे रहेछ भने अतिरिक्त आम्दानीको जोहो वेलैमा गरेर थुपारेको भए व्याज, स्याज, उठ्तिपुठ्ति, लाभांश आदिले आँत दरै बनाएर बसेका हुन्छन् । तर अधिकांश निवृत्त कर्मचारीहरु भने कहिले पेन्सन झर्ला भनेर आश लिएर वाँच्ने वर्गमा पर्दछन् ।
अरु पेशा केही छैन । जानेको भनेको चिया दोकानमा गफ चुट्ने, सके अरुको कुरा काट्ने नसके अरुको कुरामा सहि थाप्ने वृत्ति वनेको हुन्छ । राजनीति र विकासको कुरा आए धारा प्रवाह प्रवचन नै दिन सक्षम । हामी नेपाली पेशाजीवी सेवा निवृत्त कर्मचारीहरुको नियति । निवृत्तिभरण नैसर्गिक अधिकार, उमेर, समय र सेवा लगानी गरेको प्रतिफल । यस्तै सोच्दछौ हामी । अरुलाई के भन्नु आफ्नै हालत त्यस्तै हो । काम नभएको वेकामे पराजीवी सेवानिवृत्ति ।
केहि काम छैन । उमेरको लगानी सरकारले महिना दिन पुगेपछि खुत्रुकेमा खुत्रुक्क मोहर झारिदिने हुनाले जिवीका चलेकै छ । चिया दोकानमा राजनीतिक वादविवाद र प्रतिवादमा गुड्डी हाँक्न पाईएकै छ । जीवन त अझै छ, जसोतसो चलेकै छ, तर जागिरले जाँगर सेलाएको अनि अनुत्पादनशील वैलाएको निरस । गृहस्थ आस्रममै रहेर वानप्रस्तको अनुभूति दिने ।
हाम्रो संस्कतिले सिकाएको नै यहि हो कि उमेरले साठी काटेपछि वानप्रस्थ हुनुपर्छ । वानप्रस्त हुनुभनेको त अनुत्पादनशील हुनु, पराजिवी हुनु, साधुसन्तको संगत गर्नु, आध्यात्मिक बन्नु, आत्मा र परमात्माको ज्ञान राख्नु र मोक्ष प्राप्तिको लागि तयार रहनु भनिएको हो । हाम्रो शिक्षा र संस्कृति यहि नै हो ।
परम्पराले दिएको गुणी, सज्जन, र साधुवाट पाएको ज्ञानमा कारण, तर्क, दर्शन र दलिल पनि होला । तर समयले ल्याएको परिवर्तनको एउटा धारसंग यसले मेल खाएको देखिएन । यो जगतको सृष्ठीको यावत् जीव आआफ्नो कर्म र वृत्तिमा अन्तिम साससम्म निरन्तर लागिरहेको हुन्छ । उसलाई निवृत्त हुने फुर्सद छैन, चाह छैन र चेत पनि छैन । तर जागिरे मानिसलाई मानवीय कर्मवाट निवृत्त हुनुछ । अनि खुत्रुकेमा सरकारले प्रत्येक महिना झारिदिने मोहरको आशमा वाँच्ने प्रवृत्ति छ ।
खासमा भन्ने हो भने सकृय सेवावाट निवृत्त भएको जागिरेलाई सरकारले उसको सेवाको विशिष्टता, र दक्षता हेरेर अन्य काममा लगाई रहने व्यवस्था हुनुपर्ने थियो । निवृत्तभरणलाई निशर्त नैसर्गिक अधिकार नवनाई सशर्त वनाईनु पर्दथ्यो । सेवा निवृत्त भएपछि जेसुकै काम गरे भयो तर काम गरि नै रहन पर्यो । केही नभए स्वयम्सेवकको काम गर्ने, सामाजिक चेतनाको काम गर्ने, वुद्धि र विवेकले लगाएको काम गर्ने ।
मेरो एकजना चिनीया मित्र थिए पूर्वराजदूत । उनी भन्थे मानिसको जवसम्म हात, गोडा र दिमाग चल्छ तवसम्म काम गरिरहनु पर्दछ । उनीहरुको त काम नगरे पेन्सन आउंदैन रे । वेरोजगारलाई भत्ता सरकारले दिएपनि केहि काम नगरी वस्न पाईदैन रे ।त्यसैले मेरो चिनीया मित्र लेखपढ, रिपोर्ट, स्वयम्सेवक काम गरिरहन्थे ।
एकजना नेपाली सेवानिवृत्त सिनियर कर्मचारी छन् । सरकारले पेन्सनखातामा रकम जम्मा गरेको जानकारी बैंकले उनको मोवाईल मार्फत दिएपछि ‘मेरोमा र ख्यात्राक्क गर्यो आजु भन्दै सामाजिक सञ्जालमा लेख्न भ्याउंछन । साथै काम नगरी खान परेकोमा दुखेसो पनि पोख्छन् । उनको भनाई सहि हो, किनभने हातखुट्टा र दिमाग सन्तुलनमा र सहिसलामत भएकै अवस्थामा एउटा कर्मचारीलाई सरकारले बानप्रस्थ पठाउन भएन ।
(बर्तौला परराष्ट्र सेवाबाट सेवानिवृत्त अधिकारी हुन् ।)