२९ पुस, काठमाण्डौं । कालिकोटको नरहरिनाथ गाउँपालिका ७ मा घरायसी विवादमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको छ ।
गाउँपालिका ७ को दुधौली भन्ने गाउँका २९ वर्षीय भैरे बटालाले बुधबार विहान ३-४ बजेको समयमा घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको र एक घाईते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर साहले संसारन्युजलाई दिएको जानकारी अनुसार रक्सी सेवन गरेर आएका बटालाले श्रीमती घरमा नभएको बेलामा आगो लगाउँदा छोराहरु १२ वर्षीय रमेश बटाला र ९ वर्षीय मन बहादुर बटालाको मृत्यु भएको हो । साथै घाईते भएका अर्का छोरा ४ वर्षीय खगेन्द्र बटालको नरहरिनाथकै स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
‘आगो लगाएपछि उनले पनि विष सेवन गरेका छन् । बोल्न सक्ने अवस्थामा छैनन् । हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ ।’ डिएसपी साहले भने । प्रहरीका अनुसार बटालाले यसअघि पनि रक्सी खाएर घरमा विवाद गर्ने गरेका थिए ।