२९ पुस, रुपन्देही । रुपन्देहीमा थप २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार सोमबार दुई कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालका सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं २ की ४७ वर्षीया महिलाको सोमबार बेलुका ७ः३० मा उपचारका क्रममा कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
स्वास प्रस्वासमा समस्या र ज्वरो देखिएपछि उनी पुस २५ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
त्यसैगरी रुपन्देही कन्चन १ निवासी ७६ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । पुस १५ गते कोरोना विशेष अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा सोमबार बेलुका ७ः२० मा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनमा ज्वरो, निमोनिया र स्वास प्रश्वासमा समस्या देखिएको थियो ।