Sansar News- Online for Global Nepali

नेपाली भाषाको मौलिक विधा साइनोसँग विमर्श

छायादत्त न्यौपाने ‘बगर’
२ महिना पहिले
नेपाली भाषाको मौलिक विधा साइनोसँग विमर्श

खै त ! स्वाधीन सुख ?
अधरभरि मुस्कान
जीवन्त नेपाली रहर ।
१.नेपाली भाषामा सुरु भएको साहित्यको पछिल्लो विधा हो साइनो । गण्डकी प्रदेशमा प्रचलित ‘सैना’ शब्दको विकसित रुप साइनु/साइनोको कोशीय अर्थ नाता/सम्बन्ध हो । यसको परम्परित अर्थ व्यक्ति–व्यक्तिबिचको नाता/आफन्तमा सीमित थियोे । वर्तमानमा यसले (२०७६ साउन १६ गतेदखि) आफ्नो अर्थ विस्तार गरी सिङ्गै जीवनजगत्सँग जोडिएर सिर्जनात्मक दृष्टिले सृष्टिका सम्पूर्ण प्राणी र प्रकृति, संस्कृति, इतिहास, विज्ञान, राजनीति, अर्थशास्त्रसमेत यावत विषयको नातेदारका रुपमा चिनिएको छ ।

२.साइनो सिर्जना आरम्भको छोटो समयमा व्यापक बनेको छ । यसले स्रष्टा मस्तिष्क र पाठक मनमा पसेर नवीन अनुभूति सम्प्रेषण गरेको छ । सामाजिक सञ्जालमा उम्रेर त्यसैमा झाँगिन भ्याउनु यसको फरक विशेषता हो । आज साइनो उन्नाइस महिने शिशुउमेरमा झन्डै अठार सय स्रष्टाको अभिव्यक्ति माध्यम बनेर फक्रेको छ । यसलाई पाठकले विश्वभरिबाट पछ्याइरहेका छन् ।

साइनो नेपाली जनजीवनको मार्मिक अनुभूतिलाई मूर्तरुप दिने साहित्यिक कर्म हो । यसले अबलम्बन गरेको उल्लिखित मानक पछ्याएर सिर्जना हुँदै जाँदा निकट भविष्यमै समग्र नेपाली परिचय उचालिने विश्वास लिन सकिन्छ ।

३.साइनोले स्रष्टा र पाठक दुवैलाई दुइटा प्रभाव दिएको अनुभव गर्न सकिन्छ । एउटा हो, यसको सात,आठ र नौ अक्षरी संरचना सजिलो छ । यसको रचना सजिलै गर्न सकिन्छ भन्ने सोचाइ । अर्को हो, यसका तीन शब्दगुच्छाको स्वतन्त्र संरचना र अर्थ गम्भीर छ । स्तरीय साइनो सिर्जना सजिलो छैन भन्ने बुझाइ । यी दुवै धारणाले आंशिक सत्य बोकेको पाइन्छ भने दोस्रो बुझाइको अन्तर्यमा पसेर मसिनो अध्ययन गरी हेर्दा साइनोले खास अनुभूति दिएको पाइन्छ । यसैमा छ यसको आकर्षण पनि ।
जनता जाग्ने कैले ?
बाटो छेक्दै कमिसन !
बन्छ र देश यो चालले ?
यसमा हुने व्यङ्ग्यात्मक र ध्वन्यात्मक अर्थ पहिल्याउने कुराले विशेष एवं गहन परिचय दिन्छ । त्यो भनेको प्रत्येक शब्दगुच्छाले दिने स्वतन्त्र अर्थसँगै सात,आठ र नौको योग चौबिस अक्षरी विषम संरचना विधि नै हो । सामान्यतः यसका सात कथनलाई यसरी पनि हेर्न सकिन्छ :
क) साइनो नेपाली मनमाटाले उमारेको नवीन प्रयोग हो । साहित्यको माध्यमबाट नवीन प्रस्तुति दिन खोज्ने स्रष्टा मनोवृत्तिको आकस्मिक सृष्टि हो साइनो । भनिन्छ साहित्यले जीवनको आलोचानात्मक यथार्थसँगै कल्पनातीत मनोविज्ञानको पनि अध्ययन गर्छ । साइनो पनि सिगै जीवनको चित्रण गर्ने गरी संरचित सूत्र कविताको नाम हो । हुन त स्रष्टा निरन्तर नवीनताको खोजीमा रहन्छ । यसै सिलसिलामा नवीन शिल्पशैली पछ्याई पाठकलाई घतपार्ने विचारले सूत्रात्मक साहित्यिक अभिव्यक्ति साइनोको आविर्भाव भएको हो । यसको संरचना, स्वरुप र नामले निजत्व बोकेर प्रस्फटन भएको हो । यो नौल्याइँको आफ्नै संरचना स्वरुप, तिथिमिति र नेपालीपन छ । यसैमा समस्त नेपाली वाङमयप्रेमीले गौरवबोध गर्न सक्ने सुगन्ध पाउन सकिन्छ । यसले साइनो सबै नेपालीको साझा सम्पदा हो भन्ने अनुभूति दिन्छ ।

ख) साइनो नेपाली भाषाले जन्माएको पछिल्लो सिर्जात्मक प्रस्तुति हो । नेपाली समाजमा प्रचलित शब्द साइनोले साहित्यिक विधा विशेष कविताको नाम संवहन गरेको छ । यसको संरचना र नाम नयाँ तर साहित्यको बहुचर्चित विधा कविताकै उपविधाका रुपमा चिन्ने÷चिनाउने गरिएको छ । यसको जन्म विज्ञानको नवीनतम चमत्कार (फेसबुक वाल) अनुहार किताबको भित्तामा भएको हो । यसैबाट धेरै स्रष्टा जोडिन पनि सम्भव भएको छ । यसलाई अल्पायुमै विश्वव्यापी बनाउने बलियो जग यही अनुहार किताबले जोडेका स्रष्टाहरु नै हुन् । एघार महिने उमेरको साइनो नेपाली भूमि र नेपाली भाषामा सीमित छैन । भूमिको कुरा गर्दा यो विश्वव्यापी भएको छ र भाषाको सन्दर्भमा नेपालीबाहेक थारु, भोजुपरी, संस्कृत, अङ्ग्रेजी, हिन्दी लगायतका भाषाहरुमा पनि लेखन थालिएको छ ।

ग) साइनो कविताको सानो रुप हो । यसको संरचना निश्चित अक्षर सङ्ख्यामा गरिन्छ । बिम्ब, प्रतीक, अलङ्कार, ध्वनिजस्ता कविताका अन्तर्वस्तुले यसलाई पनि प्रभाव पार्छन् । लय, अनुप्रास यसका पनि प्रिय अङ्ग हुन्, संरचना सुन्दर बनाउँछन् । शृङ्गार,हास्य आदि नवै रसको प्रयोग यसमा पनि गर्न सकिन्छ । वाचन विधानमा प्रत्येक गुच्छाको अन्त्यमा विश्राम दिएर (पहिलोमा विश्राम, दोस्रोमा विश्राम दिने र पहिलो, दोस्रो र तेस्रो–तेस्रो गरी) वाचन विधि अपनाउँदा एकरुपता कायम हुने देखिन्छ ।
मानुले दिन्छ मुरी पौरख रोप्छ असार
मानुले दिन्छ मुरी पौरख रोप्छ असार
नेपाली यो संस्कृति महान् नेपाली यो संस्कृति महान् ।

घ) कतिपय सर्जक/पाठकले सात, आठ नौ अक्षरकै संरचना किन भन्ने जिज्ञासा राखेको पाइन्छ । यस सन्दर्भमा सातले (आइत,सोम आदि) सात वारको नाम र समय जनाउँछ । आठले (पूर्वपश्चिम आदि) आठ दिशा जनाउँछ भने नौले साहित्यमा प्रचलित (शृङ्गार,वीर आदि) नवरस बुझाउँछ । यी तीनैको संयोग चौबिस अक्षरले चौबिस घण्टाको समय बताउँछन् । यसरी हेर्दा साइनोले गणितका उच्चाङ्क लिएर संरचना बनाएको विशेष प्रकारको शैलीका रुपमा आफूलाई चिनाउँछ । आध्यात्मिकहरुले सातबाट सप्तर्षि, आठबाट अष्टचिरञ्जीवी र नौबाट नवदुर्गा भन्ने अर्थबोध पनि गर्न सक्छन् । जसले जसरी बुझे पनि साइनो गणितका जेष्ठअङ्कहरुको विषम तर विशिष्ट संरचना हो । यो नेपाली भाषाको मौलिक रुप र सामाजिक सांस्कृतिक पक्षसँग पनि जोडिएको छ ।

ङ) साइनो छोटो समयमा सिङ्गै भूगोलमा फैलिएर धेरै स्रष्टा र पाठकप्रिय विधाका रुपमा अगाडि आएको छ । यो आजको व्यस्त पाठकले खोजिरहने मानवीय स्वभाव अनुसारको फरक साहित्यिक स्वाद लिएर रमाउन सकिने नवीन तर छोटो संरचनाको विशिष्ट प्राप्ति हो । यसको छरितो संरचना र अर्थ गाम्भीर्यले धेरै पाठकको मन जितेको छ । यसमा रमाउनु स्वाभाविक पनि हो । यो सूत्रात्मक स्वरुपको कसिलो रचना स्रष्टा र पाठक दुवैको मनोविज्ञान अनुकूल भएकाले यथाशीघ्र विस्तार हुन सकेको हो । यो छोटा तीन पङ्क्तिको पूर्ण संरचना हो ।

च) साइनोका सात, आठ र नौ अक्षरी संरचनाको अक्षर गणना नेपाली व्याकरणको सामान्य नियमलाई आधार मानेर गरिन्छ । प्रयोग आधा अक्षर, चन्द्रविन्दु, शिरविन्दु वा संयुक्त अक्षरको पनि गरिन्छ तर गणना सग्लो अक्षरको मात्र हुन्छ । साइनोमा दिइने भावार्थले मागेबमोजिमका लेख्यचिन्ह (। पूर्णविराम, ? प्रश्नवाचक, ! आश्चर्यबोधक आदि) प्रयोग गर्न सकिन्छ भने सामान्यावस्थामा तेस्रो पङ्क्तिको अन्तिममा (।) पूर्णविराम प्रयोग गर्नु उपयुक्त देखिन्छ । साइनो शब्दगुच्छामा अन्तर्निहित अर्थ अभिधामा सीमित नरही लक्षणा र व्यञ्जनाबाट निस्कने ध्वन्यार्थ प्रबल रहन्छ । यसका त्रिपद स्वतन्त्र हुन्छन् । प्रत्येक पदको अर्थ स्वतन्त्र र एकमुस्ट दुवै लाग्छ । यस विधि अनुसारको सिर्जनाले साइनोको साख राखेर साहित्यमा सौन्दर्य भर्छ । यसको तात्पर्य अनेक थरी नेपालीमा रहेको सहिष्णु एकत्व हो । यी तीन पङ्क्ति हिमाल पहाड तराई भूगोल र शीत समशीत समशीतोष्ण हावापानीका प्रतीक हुन् ।

छ) साइनोको सिर्जनकर्म विद्युतीय सञ्जालबाट सुरु भएर यसमै झाँगिंदै छ । यतिखेर परपर धेरै परसम्म पुगिकेको छ । अलमल नगरी भन्न सकिन्छ साइनोले यति छोटो समयमा विश्वभरिका स्रष्टासम्मको यात्रा, सामाजिक सञ्जालबाटै सम्भव भएको हो । कापी–कलम र किताबविनै प्रचार–प्रसारले शिखर छुन सक्नु अनुपम उपलब्धि हो । यसले यति सजिलोसँग हामी साइनोकारलाई जोडेर आत्मीय बनाइदियो कि बयानै सम्भव देखिन्न । भौगोलिक हिसाबले परपर रहेका हामीलाई मित्रताको सूत्रले कसी नेपालीपनसित लछप्प भिजाएर वाङमयको श्रीवृद्धिमा समर्पित गराएको छ । यसरी साइनेप्रेमीका रुपमा स्थापित गर्न/गराउन सक्नु नै यसको ऐतिहासिक प्राप्ति हो । साइनो कविता प्रयोगमा आएपछि यसलाई पछ्ययाएर अरु नयाँ नयाँ प्रयोग पनि आइरहेका छन् । साइनोले नयाँ स्रष्टाहरु मात्र जन्माएको छैन नवीन शिल्पशैलीको प्रयोगमा पनि उर्जा दिइरहेको छ ।

४. साइनो नेपाली जनजीवनको मार्मिक अनुभूतिलाई मूर्तरुप दिने साहित्यिक कर्म हो । यसले अबलम्बन गरेको उल्लिखित मानक पछ्याएर सिर्जना हुँदै जाँदा निकट भविष्यमै समग्र नेपाली परिचय उचालिने विश्वास लिन सकिन्छ । यो समस्त नेपालीले नेपाली माटो खोस्रेर हुर्काएको साहित्यिक बिरुवालाई आवश्यक मलजल गरी स्थायित्व दिने साझा जिम्मेवारी निर्वाह सबैबाट हुन सकोस् । यहाँ यही अनुरोध छ ।

५. आज साइनो धेरै स्रष्टाको प्रिय कविताका रुपमा अगाडि आएको छ । कति स्रष्टा त कस्तो गति लिएर कहाँ पुग्ला ? भनी जिज्ञासु आँखा लिएर चौतारीमा पर्खंदै पनि छन् । जसले जहाँ बसेर पर्खे पनि अहिलेको व्यस्त समयबिच सूत्रमा प्राप्त साइनो साहित्यिक खुराकले पाठक मन जितेको छ । यही नै साहित्यको पछिल्लो नवीन शिल्पशैलीको साइनोलाई जीवन्त बनाउने बलियो आधार हो । स्रष्टा–साधनाले यसको मानक समाइदिए भविष्य आफै उजेलिँदै जानेछ । निरन्तर साधनाले साइनोलाई परिपक्व बनाउँदै लानेछ ।

६.साइनो सिर्जनाले अग्रज स्रष्टाको स्नेह र नवीन स्रष्टाको स्याहार पाएको छ । कतिपय स्रष्टको प्रथम कृतिका रुपमा प्रकाशित भएको छ । राष्ट्रिय रुपमा धेरै स्रष्टाका रचना सहित सैद्धान्तिक लेख साइनो सारथिको प्रकाशन भएको छ । यसै गरी जिल्लास्तरका पनि संयुक्त साइनो सङ्ग्रह सार्वजनिक भइसकेको छ । विभिन्न गोष्ठीहरुका यसले उच्चसम्मान प्राप्त गरिरहेको पाइन्छ ।

७.सामाजिक सञ्जालबाट आरम्भ र विकास भएको साइनो यसैमा सीमित छैन । छापा पत्रपत्रिकाले पनि विशेष महत्त्वका साथ स्थान दिँदै आएका छन् । मासिक पत्रिकाहरुमा शब्दाङ्कुर, शृङ्खला, अग्निचक्र, पुस्तकालय आवाज,जनमत, शब्द संयोजनहरुले स्थान दिएका छन् । यसैगरी साइनो प्रहरी, समष्टि, लोक भाका, नवप्रज्ञापन, लहरा, हिमाली गुराँस, गाउँले देउराली साप्ताहिक, परेवा पाक्षिक समेत धेरैतिर पुगेको छ । कति दैनिक, साप्ताहिक तथा अनलाइन पत्रिकाहरुले साइनो विकासमा अतुनीय योगदान पु¥याउँदै आएका छन् । यिनै संस्था र व्यक्तिहरुको उल्लेख्य देनकै प्राप्ति हो साइनोको यो जीवन्त लोकप्रियता ।
साइनो र सिर्जना
कम कर्तव्य साधना
मान्छेको जीवन बन्दना !! ‘अस्तु’

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ४ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…