Sansar News- Online for Global Nepali

द एभरेष्ट म्यान

नारायण अर्याल
२ महिना पहिले
द एभरेष्ट म्यान

विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको सान, गौरव र पहिचानसँग जोडिएको अति महत्वपूर्ण प्राकृतिक सम्पदा हो । विश्वको सर्वोच्च शिखर सगरमाथा नै हो भन्ने कुरामा विवाद नरहेता पनि यसको आधिकारिक उचाइको विषयमा एकमत तय हुन सकेको थिएन ।

‘भारतिय सर्वेक्षण विभागमा तत्कालिन समयमा गणकको रुपमा रहेका राधानाथ सिकधरले गणितीय विवरणको आधारमा सन् १८५२ मा पहिलोपटक सगरमाथाको उचाई पत्ता लगाएका थिए भनिन्छ’ (विविसी) । सो अध्ययनबाट सगरमाथाको उचाई ८८४० मिटर मापन गरिएको थियो ।

भारतमा औपनिवेशिक शासन चलाएको तत्कालिन बृटिस ईष्ट ईन्डिया कम्पनी सरकारले सगरमाथामा नपुगिकन त्रिकोणमितिय विधिहरुको प्रयोग गरेर सगरमाथाको उचाई सम्बन्धि अध्ययन गरेको थियो । छिमेकी राष्ट्र चीनले पनि एक्लै र विभिन्न अन्य देशहरुको सहकार्यमा धेरैपटक सगरमाथाको उचाई नाप्ने कोशिष भएको थियो ।

सन् १९७५ मा चीनले सगरमाथाको उचाई ८८४८.२३ मिटर रहेको पत्ता लगाएको थियो । पछि फेरि सन् १९९९ मा अमेरिकाको नेशनल जियोग्राफिक सोसाइटीले जिपिएसको सहायतामार्फत सगरमाथाको उचाई ८८५० निकाल्यो । सन् २००५ मा चिनियाँ नापी सर्भेले ८८४४.४३ मिटर रहेको बताएको थियो । तर ती मापनलाई नेपाल सरकारले आधिकारीक रुपमा स्विकार गरेन ।

अहिले नयाँ उचाई मापन गर्नु अगाडिको अवधिसम्म सन् १९५४ मा सर्वे अफ ईन्डियाले मापन गरेर सार्वजनिक गरेको सगरमाथाको ८८४८ मिटर उचाईलाई नेपाल र विश्वका धेरै मुलुकहरुले मान्यता दिँदै आएका थिए । त्यसभन्दा अगाडि कञ्चनजंघा हिमाललाई विश्वको अग्लो हिमालको रुपमा मानिन्थ्यो । तर नेपाल स्वयम्को अग्रसरता, क्षमता, प्रविधि र जनशक्तिमा आधारित भएर सगरमाथाको उचाई मापन गर्ने विषय अति महत्वपूर्ण र आवश्यक थियो, जुन कुरा अहिले आएर पुरा भएको छ ।

नापी विभागका प्रमुख नापी अधिकृत (सर्वे ईन्जिनियर) खिमलाल गौतम नेतृत्वको टोलीले मे २२, २०१९ मा सगरमाथा आरोहण गरेर आधुनिक प्रविधिबाट उचाई मापन गर्ने काम सम्पन्न गरेको हो । जसअनुसार सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर रहेको छ, जुन उचाई विगतमा नेपालले स्विकार गर्दैै आएको उचाइको तुलनामा ८६ सेन्टिमिटर बढि हो ।

नेपाल र चीन दुवै राष्ट्रले सगरमाथाको उचाई मापन गरि प्रशोधनमार्फत आएको तथ्याङ्कलाई परराष्ट्र मन्त्रालयको समन्वयमा मन्त्रीस्तरको उपस्थितिमा मंसिर २३ गते सार्वजनिक गरिएको हो । बेइजिङ र काठमाण्डौँमा एकसाथ कार्यक्रम गरेर उचाइ सार्वजनिक गरिएको हो । जुन तथ्याङ्कलाई सम्पूर्ण अन्तर्राष्ट्रिय जगतले समेत मान्यता दिइसकेका छन् । नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पु¥याएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो । नयाँ मापनसँगै उचाई विवादको अन्त भएको छ ।

सगरमाथाको नयाँ उचाई मापनका विषयमा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई सँगै नेपालीको स्वाभिमानको उचाई बढेको बताईन् । उनका अनुसार सगरमाथा मापनको १ सय ६८ वर्षको ईतिहासमा नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिको परिचालनगरि मापनगर्न सफलभएको र सगरमाथाको उचाई सम्बन्धि भएका दुविधाहरुको अन्त्य भएको छ ।

मन्त्री अर्याल भन्छिन्, ‘यस कामबाट हामीले हाम्रो गौरव, हाम्रो स्रोत, हाम्रो धरोहर अरुले चिनाई दिनुपर्ने लघुताभास र परनिर्भरताबाट मुक्त भएका छौं ।’ नेपाल आँफैले सगरमाथा नाप्ने कामबाट पाएको सफलताले गौरवशाली ईतिहासमा नयाँ पाना थपिएर सुनौला अक्षरले लेखिएर विषय नेपालीले गर्वका साथ पढ्न पाउने अवसर प्राप्त भएको मन्त्री अर्यालले बताइन् ।

हिमाल मापनको इतिहास
सन् १८०९ मा माथिल्लो गंगा अर्थात् कुमाउक्षेत्रको खोजीमा निस्केका डब्लूएस वेबले नेपालमा धौलागिरी हिमाल ८ हजार मिटरभन्दा माथिको उचाइमा रहेको रहस्योदटन गरेका थिए । यसहिसाबले हिमालयका अग्ला पर्वतहरूमध्ये सबैभन्दा पहिले उचाई नापिएको हिमाल धौलागिरी हिमाल (८,१७२ मिटर) हो । यस हिमालको उचाई नापेपछि यसैलाई संसारको अग्लो हिमाल भनिएको थियो । पछि सन् १८४८ मा कञ्चनजङ्घाको उचाई नापियो र यसको उचाई ८ हजार ५ सय ८६ मिटर हो भन्ने निक्र्याेल भएपछि कञ्चनजङ्घालाई संसारको अग्लो चुचुरो भनियो । त्यही वर्ष अन्य हिमालहरूको उचाई नापियो र रेकर्ड संलग्न गरेर सर्वे अफ इन्डियाको कार्यालयमा पठाइयो । त्यसको करिब तीन वर्षपछि सन् १८५२ मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर त्यसको उचाइ २९ हजार २ फिट भनी मानियो । सगरमाथालाई रोमन संकेतचिहृन ‘पिक १५’ नाम प्रदान गरियो ।

सर्वाेच्च शिखरको उचाइ नाप्ने विधि बेलायतका इन्जिनियर जर्ज एभरेष्टले विकास गरेका थिए । विश्वको सर्वाेच्च शिखर खोज्ने कार्य सुरू भएपछि भारतको विहारको समतल मैदानको अध्ययन गरिरहेका भारतका सर्भेयर जनरल सर एन्ड्रयू वाघले ‘सर्वे अफ इण्डिया’का तत्कालीन सर्वेयर जेनरल कर्णेल जर्ज एभरेष्टको सम्मानमा पन्ध्रौँ चुचुरो भन्ने नामबाट फेरेर सन् १८६५ (वि.सं. १९२१)मा ‘माउण्ट एभरेष्ट’ नाम राखिदिए । एन्ड्रयू वाघको उक्त टोलीले नेपालको एक हिमशिखर संसारको सर्वाेच्च भागका रूपमा रहेको दाबी गरेको विकिपिडियामा उल्लेख छ ।

सिमाविज्ञ बुद्धिनारायण श्रेष्ठ विश्वको अग्लो शिखर पता लगाउने काममा एक नेपालीको समेत भूमिका रहेको बताउँछन् । श्रेष्ठका अनुसार ब्रिटिसकालीन भारतका सर्भेयर जनरल सर जर्ज एभेरष्ट र भारतीय सर्भे विशेषज्ञ राधानाथ सिकन्दर तथा नेपाली कर्पाेरल तेजवीर बुढाथोकीको संयुक्त प्रयासमा संसारको सबभन्दा अग्लो शिखर सन् १८५२ मा पत्ता लागेको हो ।

विसं २०१३ सालमा इतिहास शिरोमणि बाबुराम आचार्यले उक्त पर्वतको नेपाली न्वारान गरी ‘सगरमाथा’ नाम राखिदिएका हुन् । उनले ‘शारदा’ नामक पत्रिकामार्फत यस पर्वतको नेपाली नाम सार्वजनिक गरेका थिए । सगरमाथा हाल सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्दछ ।

सगरमाथाको नयाँ उचाई मापन प्रक्रिया
भारत, चीन, अमेरिका लगायतका मुलुकहरुले गरेको सगरमाथाको उचाई मापनमा एकमत हुन नसकेको अवस्थामा नेपालले आफ्नै तर्फबाट विश्वसनीय ढंगले मापन गर्नुपर्ने आवश्यकता खड्किरहेको थियो । सँगै ०७२ सालमा आएको भूकम्पका कारण सगरमाथाको उचाईमा असर पुगेको हुनसक्ने भनि विविध कोणहरुबाट बहसहरुको शुरुवात भएको थियो । नापी विभागका तत्कालिन महानिर्देशक गणेशप्रसाद भट्टले ०७३ चैतमा विभागको जिम्मेवारी लिइसकेपछि नेपाल सरकारको तर्फबाट नै सगरमाथाको उचाई मापन गर्ने प्रस्तावलाई अगाडि बढाए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा रहेको तत्कालिन सरकारले ०७४/७५ को बजेटमार्फत २ करोड रुपैयाँ विनियोजन गरि सगरमाथा नाप्ने कार्यक्रमलाई अगाडि सा¥यो । ०७४ सालमा नै सर्वे अफ ईन्डियाले नेपालसँग संयुक्त रुपमा सगरमाथाको उचाई मापन गर्ने प्रस्ताव राखेको थियो । तर महानिर्देशक भट्टले नेपाल सरकारले नै मापन गर्न सक्ने प्रस्ताव सरकार समक्ष पेश गरे । जसकारण पछि शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले स्वयम् नेपाल सरकारले नै सगरमाथाको उचाई नाप्ने निर्णयलाई अगाडि बढायो ।

तत्कालिन महानिर्देशक भट्टका अनुसार सरकारले विभागले राखेको प्रस्ताव अनुसार बजेट तथा कार्यक्रमको व्यवस्था गरेपछि विभागले आवश्यक तयारीका कार्यक्रमलाई अगाडि बढायो । ०७४ मंसिर २५ र २६ मा विभागले अन्तर्राष्ट्रिय विज्ञहरु सहभागी गराएर सगरमाथा मापन सम्बन्धि सेमिनारको आयोजना ग¥यो । सेमिनारमा सहभागी भएका विज्ञहरुले सगरमाथाको उचाई नाप्ने विषयमा विविध सुझावहरु दिए । विभागका नापी अधिकृत तथा सगरमाथा सचिवालय सदस्य विज्ञान बञ्जराका अनुसार उक्त सेमिनारमा विज्ञहरुले दिएका सुझावहरुलाई ग्रहण गर्दै नेपालले आफ्नै योजना र क्षमता अनुसार सगरमाथाको उचाई नाप्ने प्रक्रियालाई अगाडि बढायो ।

सगरमाथा सचिवालयका सदस्य बञ्जराका अनुसार सेमिनार बाहेक विभागलाई भू–उपग्रहमा आधारित सर्वेक्षण प्राणालीको विषयमा तथ्याङ्क प्रशोधनका लागि ५ दिने अभिमुखिकरण तालिम युनिभर्सीटी अफ वर्न स्विट्जरल्याण्डले प्रदान ग¥यो । न्यूजिल्याण्डका प्रोफेसर क्रिस्टोफर पिपरसनले भू–उपग्रहमा आधारित सर्वेक्षण विषयमा १५ दिने प्रशिक्षक तालिम नापी विभागमा नै प्रदान गरेका थिए ।

०७५ सालमा विभागले सगरमाथाको उचाई नाप्नको लागि ईच्छुक कर्मचारीहरुलाई आवेदन गर्नको लागि आह्वान गर्यो । जसमा १६ जना कर्मचारीले आवेदन गरेका थिए । कर्मचारीहरुले पर्वत आरोहण गर्ने कुरा आफैमा नौलो, जोखिमपूर्ण र अनुभवविहिन काम थियो, त्यसैले विभागले आरोहण दलको सदस्य चयनको लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई जिम्मेवारी दिने निर्णय गर्यो । प्रतिष्ठानले ४ जना कर्मचारीलाई आरोहण दलका लागि चयन ग¥यो । जसमा विभागका कर्मचारी तथा इन्जिनियर खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल चयन भएका थिए । आरोहणको प्राइमरी टिममा ईन्जिनियर गौतम र अधिकृत कार्की छानिएका थिए भने सर्वेक्षक भण्डारी र अमिन धिताल ब्याकअप टिममा चयन भए ।

साहसीहरुको सगरमाथा यात्रा
सगरमाथाको काखैमा जन्मेका तेन्जिङको बाल्यकालदेखिकै सपना सगरमाथाको शिखरमा पुग्ने थियो । आफ्नो यो सपनालाई पूरा गर्न जीवनका करीब २० वर्ष लामो समय तेन्जिङले सगरमाथामा पुग्ने मानवीय प्रयासका प्रायः सबै अभियानहरुमा कुनै न कुनै रुपमा सहभागी हुँदै बिताएका थिए । यस क्रममा उनी त्यस्ता अभियानहरुमा एउटा सामान्य भरिया बनेर देखि सरदार एवम् अभियान दलकै सम्मानित सदस्यका रुपमा समेत सहभागी भएका थिए । सगरमाथामाथि विजय हासिल गर्ने प्रयासमा लागेका सन् १९३५, १९३६, १९३८ र १९५३ का ब्रिटिश आरोहण दलका साथ मात्र हैन, सन् १९४७ मा अर्ल डेनम्यानका साथ पनि उनले सगरमाथा चढ्ने प्रयास गरेका थिए ।’–चन्द्र खाकी (अनलाइनबाट)

सगरमाथा पृथ्वी भूगोलको सर्वोच्च शिखर आफैमा चुनौतिको पनि सर्वोच्च शिखर हो । सगरमाथा आरोहण सफल गर्ने कुरा प्रकृतिले खडा गरेको चुनौतीलाई पनि जित्न सक्नु हो । सगरमाथा आरोहण मात्रै गर्ने कुरा रोमाञ्चक, सोख वा अन्य व्यक्तिगत विषय हुनसक्छ, तर शिखरकै मापन उद्देश्यसँग जोडिएर आरोहण गर्ने र सफल हुने विषय ऐतिहासिक एवम् इतिहासमा लिपिबद्ध हुने विषय हो ।

सामान्यतया मानिसहरु केहि निश्चित विषयमा आफूलाई अब्बल राख्ने कोशिस गर्छन् र निरन्तर कोशिस गर्ने मानिसहरु सफल पनि हुन पुग्छन् । नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेर प्राविधिक तर्फ काम गर्दै आएका कर्मचारीहरुले पहिलोपटक राष्ट्रको तर्फबाट सगरमाथाको उचाई मापन गरेर किर्तिमान कायम गरेका छन् ।

नयाँ रेकर्ड
गौतम सगरमाथा २ पटक आरोहण गर्ने एक मात्र नेपाली कर्मचारी र हालसम्मको रेकर्डमा उच्च पदस्थ कर्मचारी समेत हुन पुगेका छन् । त्यस्तै नापी अधिकृत रविन कार्कीले सगरमाथामा पुग्ने विश्वकै दोस्रो सर्भेयरको रुपमा रेकर्ड कायम गरेका छन् ।

सगरमाथा मापनको इतिहासमा पहिलो पटक सर्भेयरहरू स्वयम् नै चुचुरोमा पुगि तथ्याङ्क संकलन गरेको नेपाली टोलीले हो, यसअघि या त परम्परागत तबरमा उचाइ मापन गरिएको हुन्थ्यो या त क्लाईम्बिङ गाइडहरूको सहायतामा तथ्याङ्क संकलन गरिएको थियो । नेपालले पहिलो पटक सर्भेयरहरू नै पठाएपछि चीनले पनि नेपालले मापन गरेको ३७० दिनपछि मे २७, २०२० मा चिनिया सर्भेयरको टोली चुचुरोमा पठाएको थियो ।

मृत्यु क्षेत्रमा ३ रात समय बिताएको कुरा सगरमाथा मापनको लागि गरिएको आरोहणको ईतिहासमा नयाँ रेकर्ड हो । सामान्यतया शिखर चुम्ने उद्देश्यले पुगेका यात्रीहरु चुचुरोमा १०÷१५ मिनेट मात्रै रहने गर्छन् र धेरै लामो समय शिखरमा रहने कुरा पनि स्वास्थ्य संवेदनशिलताको दृष्टिकोणले राम्रो मानिदैन् । गौतम भन्छन्, ‘हामीलाई चुचुरोमा पुगेपछि छोटो समयमा नै फर्किने सुविधा थिएन् । हामीले झण्डै २ घण्टा बसेर १ घण्टा १६ मिनेटको उचाइमापनका लागि चाहिने सबैभन्दा महत्वपूर्ण प्राविधिक डाटा संकलन गर्ने कार्य गर्यौं । यो समय चिनीयाँ पक्षले लिएको समय भन्दा पनि बढि हुन सक्छ भन्ने अनुमान हो ।’ सगरमाथाको उचाई नाप्दा तिब्बती मोहडाबाट मे महिनामा आरोहण गरेका चिनियाँ सर्वेक्षकहरूले झण्डै अढाइ घण्टा चुचुरोमा बिताएका थिए ।

सगरमाथा मापन सफलताको अनुभव र र सिकाई

नापी विभागका उपमहानिर्देशक तथा सगरमाथा सचिवालयका संयोजक शुशिल डंगोलका अनुसार अहिलेसम्म नेपाल सरकारले आँफैले कुनै पनि हिमालको परिशुद्ध तवरबाट मापन गरेको थिएन । आफ्नै जनशक्ति र केहि प्राविधिक सहायताले पहिलोपटक नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको मापनमा सफलता हासिल गरि सर्वस्वीकार्य उचाई सार्वजनिक गर्न सफल भएको छ ।

यस क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सल्लाह लिएर कार्यविधि निर्माण गरेको र टिमवर्कमा भएको कार्यसफलताको कारण सहि नतिजामा पुग्न सफल भएको उपमहानिर्देशक डंगोल बताउँछन् । ‘हामीले पहिला कार्यविधिको मस्यौदा बनायौं, अन्तर्राष्ट्रिय विज्ञहरुको सल्लाह लिएर त्यसलाई अन्तिम रुप दियौं’, उपमहानिर्देशक डंगोलले बताए ।

सगरमाथाको उचाई मापन कार्यमा विभिन्न सर्भे कार्यमा संलग्न हुनेगरि करिब ८० देखि ९० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । जसमा आवश्यक पर्ने सम्पूर्ण आर्थिक खर्च नेपाल सरकारको तर्फबाट गरिएको थियो । विभागले मुलतः कामलाई दुई भागमा बाँडेर सम्पन्न गर्यो । पहिलो, समतल सर्भे र भु–आकर्षण प्रविधिबाट सगरमाथाको वरपर तिरको भूगोलमा सर्वेक्षण गर्ने र जिएनएसएस प्रविधिबाट सर्भे गर्ने र त्यसको तथ्याङ्क संकलन गर्ने काम । दोस्रो, संकलित तथ्याङ्कलाई प्रशोधन गरि छिमेकी राष्ट्र चीनसँग समन्वय गर्दै सर्वमान्य हुने गरी घोषणा गर्ने काम भएको हो । यसक्रममा सगरमाथाको वरिपरिका १३ वटा जिल्लाका ३४६ ठाउँमा बिन्दुहरु तयार गरि ग्रयाभिटी सर्भे गरिएको संयोजक डंगोलले बताएका छन् ।

फिल्ड कार्य तिरको भाग सम्पन्न गरिसकेपछि पनि डाटा प्रोसेसिङको कार्य चुनौतीको विषय भएको संयोजक डंगोलको भनाई छ । उनका अनुसार विभागसँग अहिलेसम्म यति धेरै परिशुद्ध र बैज्ञानिक तवरबाट संकलन गरिएका तथ्याङ्कहरू प्रशोधन गरेको अनुभव थिएन । डंगोल भन्छन्,‘उचाई मापन गर्दा के कस्तो प्रक्रियाहरु अवलम्बन गर्नुपर्छ ?, डाटा प्रोसेसिङ गर्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा हामीलाई नितान्त नयाँ कुरा थियो’ । विभागले डाटा प्रोसेसिङको लागि शुरुदेखि सचिवालयमा रहने गरि ५ अधिकृतलाई खटाएको थियो । डाटा प्रोसेसिङमा खटिएका साथीहरुले शुरुदेखि नै प्राप्त भएका तथ्याङ्कहरुलाई शुक्ष्म हिसाबले अध्ययन गर्ने तथा विश्लेषण गर्ने काम गरेको संयोजक डंगोल बताउँछन् । ग्रयाभिटी सर्वे भनेको एकदमै एडभान्स सर्भे हो । यसबाट उच्च परिशुद्ध उचाइ संगणना गर्नका लागि डाटा प्रोसेसिङ टिमले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

सगरमाथाको उचाई नाप्ने क्रममा विभागले पनि धेरै कुराको सिकाई प्राप्त गरेको संयोजक डंगोल बताउँछन् । उचाई नाप्ने क्रममा समुद्री सतहलाई आधारको रुपमा लिनुपर्ने हुन्छ । तर नेपालमा समुन्द्री सतह नभएको सन्दर्भमा समुन्द्रको म्याथम्याटिकल मोडेल कहाँनिर पर्छ भनेर पत्ता लगाउने कुरा महत्वपूर्ण हो । त्यसलाई प्राविधिक रुपमा जिवोइड (न्भयष्म० भनिन्छ । अहिले सगरमाथा मापन प्रक्रियामा विभागका कर्मचारी स्वयम्ले जिवोइड पत्ता लगाउन सक्षम भएका छन् । यो अति महत्वपूर्ण उपलब्धि हो । अर्को अहिले हामीले ३४६ ठाउँमा ग्रयाभिटी सर्भेक्षण गरेका छौं, जसको आधारबाट त्यस क्षेत्रमा आगामी दिनमा पूर्वाधार निर्माण गर्दा परिसुद्ध उचाइ निकाली विस्तृत सर्भेक्षण प्रयोग गर्न सकिन्छ ।

खिमलाल गौतम
(सर्भे ईन्जिनियर तथा प्रमुख नापी अधिकृत)


खिमलाल गौतमको जन्म कास्कीको माछापुच्छ्रे गाउँपालिका, ६ मा भएको हो । माछापुच्छ्रेको काखमा जन्मिएका गौतम ०६१ सालमा नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेका थिए । आफ्नो जागिर अवधिको सात वर्ष समय बित्दै गर्दा ०६८ सालमा उनले नेपाली निजामती कर्मचारीको तर्फबाट पहिलो सगरमाथा आरोहीको रुपमा इतिहासमा नाम लेखाउन सफल भए । गौतमले पहिलो पटक नेपाल सरकारको तर्फबाट ‘भिजिट नेपाल(२०११) को अवसरमा पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यका निमित्त तत्कालिन नेपाल सरकारका सचिव लिलामणि पौड्यालको नेतृत्वमा रहेको टोलीमा समावेश भई सगरमाथा आरोहण गरेका थिए । पहिलो किर्तिमानी कायम गरेको ८ वर्ष पछाडि गौतमले फेरि विश्व किर्तिमानी कायम गर्नेगरी राष्ट्रका निम्ति सगरमाथाको सफल आरोहण गरे । गौतम हालसम्म सगरमाथाको चुचुरोमा दुई पटक पुग्ने नेपालको एकमात्र सरकारी कर्मचारी तथा संसारभरका सर्भेयरहरूमध्ये पहिलो सर्भेयर हुन पुगेका छन् ।

‘पहिलो आरोहण नेपाल सरकारको तर्फबाट पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यमा आधारित रहेर गरेको थिएँ, त्यसैले त्यो आरोहण रमाईलोसँग भयो । यसपालीको आरोहण, आरोहणका लागि भन्दापनि सगरमाथाको उचाई मापनका लागि गरेको थिएँ, त्यसैले यसपालीको आरोहण उमङ्ग भन्दा पनि गम्भिर जिम्मेवारीबोधका साथ गरेको थिएँ’, गौतमले आरोहणको आफ्नो अनुभव सुनाए ।

सगरमाथा आरोहणतर्फ लाग्ने समयमा गौतमको परिवारमा स्वास्थ्य समस्या थियो । उपचारको शिलशिलामा उनको परिवारका सदस्यहरु दिल्लीको अस्पतालमा थिए । ‘वास्तवमै म परिवारलाई छोडर जाने स्थिति थिएन, तर राज्यको यो महत्वपूर्ण कार्यमा जसरी पनि जानुपर्छ भन्ने महत्वकांक्षा मसँग थियो । नियमित आरोही शेर्पाहरुलाई पनि परिवारका सदस्यले प्रस्थानको समयमा बिदा गर्न गाह्रो मान्छन् भने हामीलाई त झनै गाह्रो हुने विषय रहेछ । जेहोस मैले अन्तिममा भित्रै देखि निर्णय गरें । मैले म र परिवार भन्दा माथि रहेर यो अवसरमा राज्यको लागि केहि गर्नुपर्छ भन्ने सोंचलाई नै कार्यान्वयन गरें’, गौतमले भने ।

०७५ साल चैत २७ गते सगरमाथा मापनका लागि खटिएको टोली बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुभकामना लिएर सगरमाथातर्फ लाग्यो । मापनको लागि आरोहण गर्ने टोलीका नेताको भूमिका लिएका गौतम सहितका सदस्यहरु बैशाख १० गते सगरमाथा आधार शिविर पुगे । आधार शिविरसम्मको यात्रा गौतमको लागि नयाँ थिएन । उनले यस अघि पनि ७ पटकसम्म आधार शिविरसम्मको यात्रा गरिसकेका थिए । तर गौतमको समूहमा रहेका रविन कार्कीको स्वास्थ्यमा खराबी उत्पन्न भएका कारणले संगै आधार शिविर पुग्न सकेनन् । ‘हाम्रो अन्तिम आरोहण यात्रा जति उचाई तर्फ पुग्दै गयो उति रविनजिको स्वास्थ्य अवस्था उत्ति नै बिग्रँदै गयो’, गौतमले भने ।

०७६ बैशाख १० गतेदेखि वातानुकुलित हुने सन्दर्भमा जेठ ४ गतेसम्म आरोही टोली आधार शिविर र वरपर नै बस्यो । ‘जेठ ४ गते राती ३ बजे हामीले सगरमाथा शिखरतर्फको यात्रा तय गर्यौं । सोहि दिन नै हामी दोस्रो क्याम्प पुगेर बस्यौं । त्यस्को भोलिपल्ट ५ गते तेस्रो क्याम्पमा पुग्दा मौसममा निकै खराबी देखिएको थियो । तुवाँलो लागेर अँध्यारो भएको थियो ।’ तेस्रो क्याम्पमा पुग्दा आफ्नो मिसन कतै असफलता त हुँदैन भनेर सबै टोली चिन्तित अवस्थामा पुगेको गौतमले सुनाए । तर मिसन रोकिएन । त्यो रात त्यहिँ बसेर आरोही दल ६ गते ८ हजार मिटरमा रहेको साउथ पोलमा पुग्यो, जहाँबाट दक्षिणतर्फ लाग्दा संसारको चौथो अग्लो शिखर ल्होत्से पुग्न सकिन्छ भने उत्तरतर्फ लाग्दा सर्वोच्च शिखर सगरमाथा पुग्न सकिन्छ ।

गौतमका अनुसार ६ गते साउथ पोल पुग्दा आरोही दलमा प्राविधिक समस्या सिर्जना हुन पुग्यो । मेसिनका केहि ब्याट्रीहरू र शिखर आरोहणका लागि चाहिने अक्सिजन सिलिण्डर आवश्यक मात्रामा नभेटिए पछि केहि टोली गम्भिर समस्यामा परेको थियो । ‘बिना अक्सिजन सगरमाथा शिखर पुग्ने कुरा सम्भव हुने कुरा थिएन । त्यसैले आरोही दल अगाडि बढ्न सकेन । सामान्यतयाः साउथ पोलमा केहि घण्टा आराम गरेर हिँड्ने ठाउँ हो । तर हामी प्राविधिक समस्याका कारण जेठ ६ को त्यो एकरात साउथ पोलमा नै बस्न बाध्य भयौं,’ गौतमले बताए । सामान्यतया सगरमाथाको ८ हजार मिटर भन्दा माथिको क्षेत्रलाई मृत्युक्षेत्र भनिन्छ । सो क्षेत्रमा ‘पृथ्वीमा पाईने कुनै पनि जिवको अस्तित्व हुँदैन् र संसारमा उत्पन्न भएका कुनै पनि सजिव प्राणीहरू बाँच्न सक्ने वातावरण हुँदैन, यसर्थ यसलाई मृत्यु क्षेत्र भनिएको हो’ गौतमले भने ।

प्राविधिक समस्या र अभावको कारणले आरोही दलले अन्यौल भएर साउथ पोलमा धेरै समय व्यतित गर्नुपर्ने अवस्था आयो । कामको सफलताको शुभकामना स्वयम् देशको प्रधानमन्त्रीसंग लिएर गएको आरोही दलको मिसन असफल हुन्छ कि भन्ने असाध्यै ठूलो चिन्ता गौतम लगायत सबैलाई पर्यो । गौतमले प्रधानमन्त्रीसँग लिएको शुभकामना र आफ्नो महत्वकांक्षी सपनाको असफलता हुने शंकाले दलका अन्य सदस्यहरुसँग आँशु खसालेर रोए ।

आरोही दलसँग अनुभवी शेर्पाहरुको टोली थियो । जसको कारणले थप अक्सिजनको व्यवस्था भोलिपल्ट ७ गते बिहान १० बजेसम्म भयो । एकजना शेर्पा साथी बिमारी भएका कारण त्यहिँबाट फर्किए । स्रोत साधनको जिम्मेवारी लिएको पिक प्रोमोसन नामको कम्पनीले आवश्यक जनशक्ति र साधनको व्यवस्था गर्यो । अनि आरोहण गरी चुचुरोको अब्जरभेसन गर्ने हिंडेको आरोही दलले दिनको पौने २ बजेतिर पुनः शिखरको यात्रा प्रारम्भ गर्यो । ‘मृत्यु क्षेत्रमा हामीले ३ रात बिताउन बाध्य भयौं । आरोहण ईतिहासमा नयाँ चुनौतीको सामना गरिएको रेकर्ड हुन सक्छ’, गौतमले सुनाए ।

गौतमका अनुसार मापन सफलतालाई मुख्य केन्द्रमा राखेर आरोही दलले अनुपयुक्त समयमा पनि यात्राको प्रक्रियालाई निरन्तरता दियो । ‘शिखर चुम्न हिंडेका धेरै यात्रीहरु बाटोभरी थिए । आजको लागि अगाडि बढ्न तत्काल उचित समय थिएन । तर हामीले शिखर चुम्ने उद्देश्यलाई लिएर मात्रै आरोहण गरिरहेका थिएनौं । अरु धेरै आरोहीहरुको शिखरमा पुगेपछि यात्राको उद्देश्य पुरा हुन्थ्यो तर हामीहरुको भने शिखरमा पुगेपछि प्राबिधिक कामको शुरुवात हुन्थ्यो । शिखरमा सबै आरोहीहरु सँग पुग्दा जिम्मेवारीको कार्य गर्न गाह्रो हुन सक्छ भन्ने सोंचे मैले । अलिकति जोखिम मोलेर पनि मिसनको सफलताको लागि दिउँसो नै यात्रा सुरु गर्नुपर्छ भन्ने कुरामा हामीले निर्णय गर्यौं’, गौतमले भने ।
२०७६ साल जेठ ८ (मे २२, २०१९) को विहान ३ बजे आरोही दल सगरमाथाको चुचुरोमा पुग्न सफल भयो । दलसँग थर्मसमा भएको पानी तल नै जमिसकेको थियो । खाना नखाएको धेरै दिन भइसकेको थियो । सातु, चकलेट, पानी र हिउँ चाट्दै अविचलित भई आरोहणको यात्रालाई निरन्तरता दिएको गौतमले सुनाए । टोलीले फर्किंदा समेत कयौं चुनौतीहरूको सामना गर्नुपर्यो । ‘सबै कुरा भनेर साध्य छैन ।’

त्यो दिन जेठ ८ गते पुनः टोली सगरमाथाको साउथ पोल अर्थात् लगभग ८००० मिटरको उचाईमा पुनः बस्न बाध्य भयो । यसरी जेठ ६, ७ र ८ गते गरि ३ रात टोलीले सगरमाथाको मृत्यु क्षेत्रमा बिताउनु परेको कुरा सम्झदै गौतम भन्छन् ‘अहिले सबै घटना सम्झिदा कहाली लाग्छ ।’

शेर्पाहरुको सहि गाइड र विभागको उचित समन्वयले आरोहण सफलतामा महत्वपूर्ण भूमिका खेलेको कुरालाई जोड दिनुपर्ने गौतमको भनाई छ । उनि भन्छन् ‘छिरिङ जस्ता जिम्मेवार शेर्पा गाइड टोलीमा हुनु टोलीको सफलताको एउटा कडि हो । समग्र कार्यक्रम सफल हुनुमा नापी विभागका महानिर्देशक प्रकाश जोशीले पनि अन्तिम अबस्थामा १ जना शेर्पा मेनपावर थप्न सहमति दिएर टोलीलाई जसरी पनि सफल बनाउन गरेको प्रतिबद्धता र निरन्तर रुपमा टोलीलाई उत्साहित बनाएर काममा लगनशिल बनाईराख्न सगरमाथा उचाई मापन सचिवालयका संयोजक तथा उपमहानिर्देशक सुशील डङ्गोल सरहरूको खासमा महत्वपूर्ण भूमिका छ । यसैगरि तथ्याङ्क प्रशोधन गर्ने अर्को चुनौतीपूर्ण काम थियो । जसका लागि नापि विभागका वैज्ञानिक ईन्जिनियरहरू सुरजबहादुर केसी, महेश थापा लगायतका धेरै अधिकृतहरूको निरन्तरको खटाई र मेहनतले यो समग्र कार्य सम्पन्न भएको हो ।

फिल्डमा काम गर्ने १०० जना जति नापि विभागका सर्भेयरहरू पनि यस कार्यमा संलग्न रहेका थिए । समग्रमा यस कार्यमा, भूमि व्यवस्था मन्त्रालय र नापी विभागको नेतृत्व नै लागेको हो ।’

सगरमाथा देशको नागरिक भएर आफ्नै देशले गरेको सगरमाथाको पहिलो मापन कार्यमा सहभागि हुन पाउँदा आफूलाई निकै हर्षविभोर बनाएको गौतमले बताए ।

पदमाकुमारी अर्याल, मन्त्री, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण

राष्ट्रले कुनै पनि क्षेत्रमा उत्कृष्टता हासिल गर्दा प्राप्त हुने खुशी र गर्वानुभूति आफैमा अनमोल हुने रहेछ । १७० वर्षको सगरमाथा मापनको इतिहासमा हामीले आफ्नै स्रोत, साधन र जनशक्ति परिचालन गरि पहिलो पटक सर्बाेच्च शिखर सगरमाथाको उचाई मापन कार्य सम्पन्न गरेका छौं । आजबाट सगर्व भन्ने छौँ, सगरमाथाको उचाई ८८४८.८६ मिटर हो ।

शुशिल डंगोल,उपमहानिर्देशक तथा संयोजक सगरमाथा सचिवालय

‘मेरो नेतृत्वमा सचिवालय गठन भएर राष्ट्रको गौरवपुर्ण कार्य गर्न पाएकोमा गर्वले उँचो महशुस भएको छ । राष्ट्रको गौरव र पहिचानसँग जोडिएको विश्वकै सर्वोच्च शिखर सगरमाथाको मापनगरि घोषणा गर्ने आयोजनाको नेतृत्वगरि सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा मैले अति गर्व र आनन्दको महशुस गरेको छु ।’

रविन कार्की नापी अधिकृत

बाग्लुङ जिल्ला घर भएका रविन कार्की ०७४ साल मंसिर १४ गते नापी अधिकृतको रुपमा नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेका हुन् । सरकारी सेवामा प्रवेश गरेको करिब २ वर्ष समय नबित्दै राज्यको गौरबपूर्ण कार्यमा सहभागी भएर सगरमाथाको सफल आरोहण गर्न सकेकोमा अधिकृत कार्कीले निकै गर्वको महशुस गरेका छन् ।

भाईसँग काठमाडौमा रहँदै आएका कार्कीलाई सगरमाथा यात्राको विषयमा कति जोखिम वा सजिलो हुने विषयमा जानकारी नभएकोले आरोहणको निर्णय गर्न कुनै अप्ठ्यारो भएन् । सगरमाथा जाने विषयमा भाईसँग छलफल हुँदा भाईले त्यहाँ शेर्पाहरु मात्रै जान सक्ने भएकाले नजान सल्लाह दिएपनि आफूले जाने निर्णय गरेको अधिकृत कार्की बताउँछन् ।

अनुभव र व्यवस्थापनमा भएको कमजोरीको कारण आरोहण यात्रा केहि दुखदायीपूर्ण रहेको कार्कीको भनाई छ । सगरमाथा आरोहणमा जाँदा हलुका प्रकारको खाना खाने अभ्यास गर्नुपर्दछ, जुन हाम्रो दैनिकी जीवनमा प्रयोग गरिने भन्दा फरक हुन्छ । अधिकृत कार्कीलाई काठमाडौंबाट विदाई भएर आधारशिविर सम्मको यात्रा गर्दा स्वास्थ्यमा समस्या देखाप¥यो । शुरुमा फरक खाना शरीरमा पच्न समस्या भएकोले आफू बिमारी भएको कार्कीले बताए ।

अधिकृत कार्कीको जीवनमा सगरमाथा आरोहणको पहिलो र गौरवपूर्ण सफल यात्रा थियो । तर कार्कीले स्वास्थ्य र मुख्य कामको चापका कारण चुचुरोमा रहेर नयाँ अनुभव गर्न पाएनन् । अधिकृत कार्की भन्छन् ‘सगरमाथा मेरो पहिलो आरोहण थियो । हामी शिखरको यात्रामा जाँदै गर्दा बिहानपख अँध्यारोमा नै चुचुरोमा पुगेका थियौं । अँध्यारोका कारण त्यहाँ पुग्दा वरिपरिको दृष्यावलोकन गर्ने अवस्था रहेन । मुलतः हामी काममा व्यस्त भयौं । त्यसपछि कसरी सकुशल रुपमा ओर्लने भन्नेमा हाम्रो ध्यान गयो । त्यसैले सगरमाथाको चुचुरोमा रहेर मैले दृष्यावलोकन गर्दै उमंगको अनुभूति गर्ने अवसर प्राप्त गरिन ।’ तर कार्कीले आफूले राज्यको तर्फबाट गौरवपूर्ण प्रोजेक्टमा रहेर काम गर्ने र त्यसमा सफलता हासिल गर्ने अवसर प्राप्त गरेकाले निकै गर्वको महशुस गरेको बताए ।

यात्रामा कुशल व्यवस्थापन गर्न नसक्दा अधिकृत कार्कीको झण्डै ज्यान समेत गएको थियो । चुचुरोमा काम सम्पन्न गरेर फर्किने क्रममा कार्कीसँग रहेको सिलिण्डरमा अक्सिजन सकिन लागेको रहेछ । त्यसदिन अहिलेसम्मको ईतिहासमा सबैभन्दा धेरै आरोहीहरुले सगरमाथा आरोहण गरेका थिए । त्यसैले बाटोमा निकै जामको अवस्था रहेको थियो । करिब ८६०० मिटरको उचाईमा ओर्लदै गर्दा अधिकृत कार्की अक्सिजन अभावको कारणले झण्डै ७ मिनेट बेहोस भएका थिए ।

(प्रस्तुत रिपोर्ट ऐक्यबद्धताको पुष अंकमा पनि पढ्न पाइन्छ । )

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक २ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर !

उषाकिरणलाई नेतृ उर्मिला अर्यालको सुझाब – प्रतिगमनकारी बनेकी आमाबाट विद्रोह गर ! ४ हप्ता पहिले | संसार न्यूज़

माघ २१, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ तथा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…