एकपटक सानुराजा आफ्नो बाबुको पुख्र्याैली घर हेर्न भनेर पहाड पुग्यो । पहाडमा पुगेपछि आफ्नो ठूलोबाबुको घरमा गएर बस्यो । ठूलोबाबुको छोरी उमा पनि त्यहीबखत माइतमा आइपुगेकी थिइन् । उमाले सानुराजासँग भनिन् भाइ, तिमीलाई म भनेजस्तो केटी विवाह गर्नको लागि पहाडमा खोजिदिन्छु । तिमीले पहाडको केटी विवाह गर्नुपर्छ । मेरो छोरा हरिरामले चाहिँ नेपाल प्रहरीको इन्स्पेक्टर भएकोले काठमाडौंकै भनेजस्तो केटी विवाह गर्न सक्छ ।
उमाले त्यसो भन्दा मैले नेपाल प्रहरीको इन्स्पेक्टरमा जागिर खान नसकेकोले मलाई होच्याएर भनेको हुनुुपर्छ भनेर सानुराजाले महसुस गर्छ । केही वर्ष बितेपछि हरिरामले पहाडकै केटी मन पराएर विदामा आफ्नो घर गएको बखत भगाएर काठमाडौंमा लैजान्छ र काठमाडौंको मन्दिरमा गएर सिउँदोमा सिन्दूर लगाइदिन्छ । त्यसपछि उसले आफ्नो श्रीमतीलाई लिएर घरमा पुग्दा आमाको मनमा ठूलो चोट पर्दछ ।
सानुराजाले काठमाडौंमा एउटा बैंकमा आफ्नो योग्यताअनुसारको पदमा नोकरी पाउँछ र बैंकमा नै काम गरेको केटीसँग उसको मन मिल्न पुगेर वैवाहिक जीवनमा बाँधिन पुग्छ ।