मान्छेको मनमा अनेक थरिका हुन्छन् अरे भावना
कोहीले तनको विचार नगरी आशा उमार्छन् घना
चिप्ला छन् कति, नीति, दर्शन सबै आफैं बुझेकासरि
निन्दा गर्दछ अन्यको अनि स्वयं ठान्दोछ सर्वाेपरि ।
मौरीको रस चाख भन्छ मनले छैनन् कुनै बन्धन
हुन्नन् मौलिक स्वाद तै पनि पिऊ सन्तोष मानीकन
आऊ भोजनमा तयार छ भनूँ ? मैंले कता हो कता
गुम्ला नीति र धर्म, मान ममता सारा हुँदै बेपत्ता ।
उर्लेको छ अगाध स्नेह सरिता चस्केर छाती भरी
गङ्गा तुल्य सदैव कञ्चन बगोस् यो भावनाको झरी !
छानो दिव्य बनोस् सदा गजुर भै तिम्रो नहट्ने भई
भावी सन्तति ती समर्पित बनुन् आस्था लिई, खारिई
आत्मा सिञ्चित होस् बगेर पसिना दीक्षा र सद्ज्ञानले
मर्यादा उसकै गरिन्छ, छ भलो जो ज्ञानले, मानले
मान्छेका मनमा सधैंभरि बगोस् कल्याणको भावना
पाऊन स्नेह कनिष्ठले पनि सधैं पूरा गरून् कामना ।
आफ्नो राष्ट्र बचाउने यदि भए राम्रो प्रतिज्ञा गर
मेरो हो नभनेर देश सबको÷हाम्रो छ भन्ने गर
केको लागि गरिन्छ घोर झगडा शान्ति र सौहार्दमा ?
बाटो रोज सुरम्य राख सबमा माया र सद्भावना