दरबारको सिंहासनमाथि उभिएर
म आदेश जारी गर्दै छु
सुरक्षामा खटिएका पहरेदारहरू हो
बन्द गर दरबारको मूलद्वार
र टाँगिदेऊ सूचनापाटीमा
मेरो आदेशको लालमोहर
आजैदेखि बन्द रहनेछन् सहरका यावत द्वारहरू ।
खबरदार !
छिर्न नपाऊन् अस्पतालको परिसरभित्र
भाइरसकै अनुहारसित हुबहु मिल्ने आँखाहरू
बन्द गरिदिनू उपचारका आकस्मिक सेवा
र, निर्मलीकरणपश्चात् यथावत् राख्नू शैथ्याहरू
सतर्क रहनू जुनसुकै बेला आउन सक्छु
विश्रामका लागि अस्पतालको आरामदायी कक्षमा ।
होसियार !
सबैलाई जानकारी रहोस्
जुनसुकै बेला चल्न सक्छ भारदारी दौडाहा
तसर्थ बन्द गर
शिक्षालयका प्रवचन र अनुसन्धान कक्ष
र, योजना गर प्रयोगशालाहरूमा
कसरी रूपान्तरण गर्न सकिन्छ ?
अधिकार खोज्ने मानिसलाई यन्त्रवत् गुलामहरूमा ।
कतै जस्केलातिरबाट लुसुक्क निस्कन नपाऊन्
अराष्ट्रिय अनुहार बोकेका प्रतिगमनका चाकरहरू
अधिराज्य समृद्धिको बाटोमा लम्किरहेको बेला
अचानक झुल्किन सक्छन्
यी माग्ने जस्तो अनुहार परेका सर्वहाराहरू
समातेर एक एक राजद्रोही मतियारहरूलाई
कोचिदिनू सदर जेलखानाभित्रका निर्मम कोठीहरूमा
उतै गोलघरको कापतिरबाट देख्नेछन्
उनीहरूले महाराजको प्रतापको उज्यालो घाम ।
दरबारी शयन कक्षको बार्दलीबाट
म शाही फर्मान जारी गर्दै छु
सबैले तम्तयार रहनू
जुनसुकै बेलामा चल्न सक्छ
म र मेरा भारदारहरूको सवारी कारकेड
म मेरो अधिराज्यको भूगोलभित्र
निर्भयसाथ परिभ्रमण गर्न चाहन्छु
सिद्धार्थलाई बहकाएझैँ बज्रस्वाँठहरूले
मेरो यात्राको गन्तव्य नबिथोलून्
तसर्थ बन्द गर
सडकमा गुडिरहेका यावत वाहनहरू
आकाशमा चराझैँ उडिरहेका वायुयानहरू
सडकपेटीमा हिँडिरहेका मान्छे जस्ता आकृतिहरू
र, बन्द गर
हठात् लालदरबार चिहाउन खोज्ने
उत्तरआधुनिक सन्झ्यालहरू
दरबारभित्र तयार हुँदै छन् रैतीका बडापत्र
दरबारभित्रै तयार हुँदै छ मुलुकको बन्डापत्र
महाराजको जो हुकुम बक्स भयो
सहरलाई चारै दिशाबाट कब्जा गर
र, पहरा देऊ
कतै जस्केलातिरबाट लुसुक्क निस्कन नपाऊन्
अराष्ट्रिय अनुहार बोकेका प्रतिगमनका चाकरहरू
अधिराज्य समृद्धिको बाटोमा लम्किरहेको बेला
अचानक झुल्किन सक्छन्
यी माग्ने जस्तो अनुहार परेका सर्वहाराहरू
समातेर एक एक राजद्रोही मतियारहरूलाई
कोचिदिनू सदर जेलखानाभित्रका निर्मम कोठीहरूमा
उतै गोलघरको कापतिरबाट देख्नेछन्
उनीहरूले महाराजको प्रतापको उज्यालो घाम ।
गोलन्जोर ६, सिन्धुली हाल पेप्सीकोला काठमाडौँ