मेवाको बिउ रोपेर बिरूवा उम्रिएपछि
भविश्य सम्झिएर
मालीहरूले गर्नु जति मलजल गरे
हेर्दा हेर्दै
टुप्पोमा हाँगा फैलिएर
हुर्कियो सुरीलो मेवाको बोट
टुप्पोमा फल फल्ने
टुप्पो मात्रै हरियो हुने मेवाको बोटमा
भुईँतिर फैलिएनन् हाँगाहरू
जति हाँगा फैलिएर मौलाए
टुप्पामै मौलाए
धराको रस चुसेर हुर्किएका जराहरू
कति भरपर्दो गरि अडिए देखिएन्
मेवाका बोटहरूमा
फूल फुले
लोभ लाग्दो मेवाका दानाहरू फले
देख्नेहरू
मेवा देखेर लोभिए
जति कमलो र स्वादिष्ट भएपनि मेवा
भेट्नु कुहिएर बोटबाट खसेपछि
छ्याल्लब्याल्ल हुँदोरहेछ
भुईँमा झरेपछि
कुहिदै गरेको मेवालाई
फर्किएर हेर्दैन रहेछन् कुनै मान्छे र मालीहरू
नाक थुनेर हिड्दारहेछन्
परन्तु
अग्लो बोटको टुप्पामा फलेका मेवा
हावाको झोक्का
हुरी बतास थेगेर केहिदिन झुन्डिए पनि
जब बाँदरहरू रूखको टुप्पोमा पुगे
ठूलो हुरी चले झै मेवाको बोट हल्लियो
एक दाना र अर्को दाना मेवामा
टकराव भो
मेवा पाक्दै गरेको देखेर खुसी भएका मालीहरू
मेवा पाक्दा पाक्दै
टुप्पो मै बाँदरहरू देखेपछि
भेट्नु कुहिएर मेवा झर्न थालेको देखेपछि
फेदमा मल हालेर मात्रै खुसी भएनन्
जति कमलो र स्वादिष्ट भएपनि मेवा
भेट्नु कुहिएर बोटबाट खसेपछि
छ्याल्लब्याल्ल हुँदोरहेछ
भुईँमा झरेपछि
कुहिदै गरेको मेवालाई
फर्किएर हेर्दैन रहेछन् कुनै मान्छे र मालीहरू
नाक थुनेर हिड्दारहेछन्
जति उचाई नापेपनि
टुप्पोमा फुलेर
अडिने धरातल मक्काउनु पनि
जीवनको पहिचान गुमाउनु रहेछ
मालिले जराहरू छोपेपनि
छोपिएका जरा
पुनरउत्थान हुन सहज हुँदैन