हो, गल्ती मेरै हो ।
मैले मान्छे चिन्नु पर्थ्यो ।
आफ्नै बाटो हिड्नु पर्थ्यो ।
मनको कुरा सुन्नु पर्थ्यो ।
मनमनै कुरा गुन्नु पर्थ्यो ।
तैँले भनेको नगर्नु पर्थ्यो ।
रातभर पर्चा नछर्नु पर्थ्यो ।
स्वसम्मानबाट नझर्नु पर्थ्यो ।
तेरो मार्ग तर्फ नसर्नु पर्थ्यो ।
अब हामी सही गलत छुट्याउन सक्छौं ।
नढाँट्, नत्र तेरो घाँटी चुट्याउन सक्छौं ।
एकताको बलले कपाल भुत्ल्याउन सक्छौं ।
होस गर तुच्छाशय ! देश बाहिर हुत्याउन सक्छौं ।
चाल तेरै हो ।
हो, गल्ती मेरै हो ।
त्यो शत्रु हो त्यसलाई ठोक भनिस्, ठोकेँ ।
यो हाम्रो मान्छे हो यसलाई बोक भनिस्, बोकेँ ।
हाम्रो सत्ता हो विपक्षीलाई रोक भनिस्, रोकेँ ।
ढुङ्गालाई अम्बा भनिस् र टोक भनिस्, टोकेँ ।
कालो देखाई सेतो भनिस्, सेतै भनिदिएँ ।
कह्यौ मित्रलाई शत्रु ठानि, करङ्ग गनिदिएँ ।
बिधुवा, टुहुरा रुवाउँदै, खाडल खनिदिएँ ।
फजुलमा तेरो आज्ञाकारी, गधा बनिदिएँ ।
चाल तेरै हो ।
हो, गल्ती मेरै हो ।
’सबैले अधिकार पाउँछ’ भनिस्
’देशमा विकास आउँछ’ भनिस्
’रोजगारी सिर्जना गर्छौं’ भनिस्
’हामी देश बनाउछौं’ भनिस्
चुपचाप पत्याइदिएँ विश्वास तेरै गरेँ ।
राम्रा, हाम्रा केही नहेरी तेरै भर परेँ ।
तँलाई जिताउन सधैँ अघि–अघि सरेँ ।
झुट्टो तेरो नीतिको खोला नदी तरेँ ।
चाल तेरै हो ।
हो, गल्ती मेरै हो ।
च्याप्प समातेर गर्दनलाई खिचौं झैं लाग्छ ।
गर्छु भनेर नगर्नेको घाटी थिचौं झैं लाग्छ ।
जे पर्ला पर्ला बरु कानुन मिचौं झैं लाग्छ ।
माफिया गद्दारलाई ढुङ्गाले किचौं झैं लाग्छ ।
अब हामी सही गलत छुट्याउन सक्छौं ।
नढाँट्, नत्र तेरो घाँटी चुट्याउन सक्छौं ।
एकताको बलले कपाल भुत्ल्याउन सक्छौं ।
होस गर तुच्छाशय ! देश बाहिर हुत्याउन सक्छौं ।
होस गर तुच्छाशय ! देश बाहिर हुत्याउन सक्छौं ।