घुम्दैफिर्दै फेरि त्यो दिन आईपुग्यो । फेरि एकपटक उनीहरुको स्मरण गरियो । शालिक र तस्बिरमा फूलमाला चढाईयो । प्रमुख वक्ताले उनीहरुको प्रशंसा गर्दै र दुखद दुर्घटनाको स्मरण गर्दै ‘घटनाको निष्पक्ष छानबिन हुने र दोषीलाई दण्डीत गरिने’ बताए ।
पररर ताली बज्यो ।
उनीहरुको गुणगान गाउँदै उनले अगाडि भने ‘हामी वहाँहरुले देखाउनु भएको बाटोमै हिंडेका र हामी यसैगरी सँगसँगै हिंड्ने छौं । यसो गर्दा वहाँहरुको आत्माले शान्ति पाउने छ ।’
फेरि पनि पररर ताली बज्यो ।
कार्यक्रम सम्पन्न भयो । तितरबितर भई सबैजना आआफ्ना बाटा लागे ।
कार्यक्रममा सहभागी हुन गएका बाबुसँग पछि लागेर पुगेको बालक यो दृष्य देखेर आश्चर्यमा प¥यो । उसले बाबुसँग भन्यो–‘अघि भर्खर एउटै बाटो सँगसँगै हिंड्ने भनेका अङ्कलहरु त फरकफरक बाटो पो लाग्नुभो ! ठूला मान्छे पनि झुट बोल्दारहेछन् है बा !’