माघ ९, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज (शुक्रबार) बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक दिउसो १ बजेका लागि बोलाएका छन् ।
आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्व दर्ता अविश्वासको प्रस्ताव टेबुल हुने प्रचण्ड–नेपाल समुहले जानकारी दिएको छ । यसअघि अधिवेशनको पहिलो दिन अविश्वासको प्रस्ताव टेबुल भएको थिएन ।
अधिवेशनको पहिलो दिन सभामुख श्रेष्ठले विना कारण प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगन गरिदिएका थिए । अविश्वासको प्रस्ताव दर्ताका बीच बैठक स्थगन गरिदिएपछि दलहरु आक्रोशित भएका थिए । दलहरुको निरन्तर दबाबका बीच सभामुखले बैठक डाकेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै प्रचण्ड(नेपाल समूहका ४५ जना प्रदेश सांसदले गत पुस १० गते प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । १ सय १० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ५६ जनाको समर्थन चाहिन्छ । तर, अविश्वासको प्रस्ताव दर्ता गराएसँगै मुख्यमन्त्री पौडेल अल्पमतमा परेका छन् ।
१ सय १० सदस्यीय प्रदेश सभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ र स्वतन्त्रबाट १ सांसद छन् ।