माघ ९, काठमाडौं । सरकारले संसद विघटनको सूचना झण्डै ३५ दिनपछि पुरानै मिति राखेर राजपत्रमा प्रकाशित गरेको छ । सर्वोच्च अदालतमा संसद विघटनविरुद्व परेका रिटमाथि सुनुवाई गर्ने क्रममा अधिवक्ताहरुले राजपत्रको सूचना माग गरेपछि सरकारले रातारात सूचना राजपत्रमा प्रकाशित गरेको हो ।
सरकारले किर्ते रुपमा रातारात प्रकाशित गरेको सूचनालाई नै महान्याधिवक्ता अग्नि खरेलले शुक्रबारको संवैधानिक इजलासमा पेश गरेका छन् ।
बिहिबार सुनुवाईको क्रममा अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नगरिएको बताएका थिए । बहसका क्रममा अधिवक्ता अर्याल र टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ ?’ भनी प्रश्न तेर्साएपछि इजलासले संसद विघटनको सूचना राजपत्रमा प्रकाशित भएरनभएको निश्चित गर्न सूचना मागेको थियो ।
अहिले किर्ते छापिएको राजपत्रको सूचना सरकारले वेबसाइटमा पनि राखेको छ । तर, आज छापिएको सूचनाको मिति पुरानै अर्थात् पुस ५ गतेकै राखिएको छ ।
सरकारले किर्ते गरेको कुरा वेभसाईटको सार्वजनिक सूचनाको क्रमांकबाटै स्पष्ट हुन्छ । संसद विघटनको सूचना अघि माघ ५ मा पर्यटन, श्रम, उद्योग वाणिज्य मन्त्रालयका सूचना क्रमबद्ध छापिएका थिए ।
सम्बन्धित समाचार