९ माघ, काठमाडौं । नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ ।
कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि टेलिकमले ‘पाठशाला सियुजी सिम’ निःशुल्क उपलब्ध गराउन थालेको हो ।
उक्त सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी तथा शिक्षकहरुले एकआपसमा अनलिमिटेड (असीमित) कुराकानी गर्न, शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्य सामग्री रहेको वेबसाइट चलाउन पाँच जीबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएस समेत पठाउन सक्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।
यो सुविधा प्रयोग गरेवापत मासिक रुपमा लाग्ने ९९ रुपैयाँ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अनुसार स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ । यो योजना अनुसार कक्षा १ देखि १२ सम्मका सरकारी तथा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले एक थान निःशुल्क पाठशाला सीयूजी सिमकार्ड लिन सक्नेछन् ।
प्रसस्त सहुलियत प्रदान गरिएको यो आकर्षक योजनामा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहेमा उनीहरुले पहिलेदेखि नै प्रयोग गरिरेको प्रिपेड सिमकार्डलाई समेत पाठशाला सीयूजीमा आबद्ध गर्न समेत सक्नेछन् ।
नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने विद्यार्थी वा शिक्षकहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिन सक्ने टेलिकमले जनाएको छ । विद्यार्थीको लागि सिमकार्ड लिंदा विद्यार्थीको नाममा वा अभिभावकको नाममा लिन सकिन्छ ।
यसरी आवेदन फारामको साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपी, विद्यार्थीको नागरिकताको प्रतिलिपि वा नागरिकता नबनेको भएमा अभिभावकको नागरिकताको प्रतिलिपि संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनुपर्नेछ ।
विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा समेत लिन सक्नेछन् ।
विद्यालयले उक्त योजनामा आवद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नामसहित स्थानीय तहको सिफारिसका आधारमा नजिकको टेलिकम कार्यालयमा सम्पर्क गरी सो वापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ । उक्त अवधि सकिए पनि निःशुल्क रुपमा प्रयोग गरिएको सिम अन्य प्रयोगकर्ता सरह नै निरन्तर प्रयोग गर्न सकिने प्रवक्ता जोशीले जानकारी दिए ।