Sansar News- Online for Global Nepali

के हुन्छन् भन्सारका साझा चरित्र ?

हरिहर पौडेल
४ हप्ता पहिले
के हुन्छन् भन्सारका साझा चरित्र ?

प्रत्येक भन्सारको आ-आफ्नै चरित्र हुन्छ, त्यहाँको संस्कृति, वस्तुहरुको उपयोग, व्यापारिक संरचना, सुविधा, बाटोघाटोको अवस्था, छिमेकी देशको अवस्था आदिबाट भन्सारको चरित्र निर्माण भएको हुन्छ । तसर्थ सवै भन्सारमा समान स्वरुपले, समान अर्थमा, समान औचित्य प्रमाणित गर्न गाह्रो हुन्छ ।

हाम्रो समाज भन्सार भन्ने वित्तिकै जिब्रो टोक्छ । कति पैसा होला त्यो संग, धेरै मान्छे चिनेको होला त्यसले, त्यसको शक्ति माथि सम्म छ आदी आदी । सायद हाम्रो समाजले चित्रण गरेको मानसपटलीय भन्सारको चरित्र यही हो । भन्सार सुधार भएर कहाँदेखि कहाँ पुग्यो, त्यहाँ के हुन्छ, कसरी काम हुन्छ र भन्सारको मर्म के हो, यदि भन्सारले गलत काम गर्यो भने के हुन्छ जस्ता कुराहरुमा कसैको ध्यान गएको देखिँदैन । भन्सार सुधारको अभियान्ताको हिसाबले सधैं जागिरका पीडाहरु लुकाएर अब बस्न सकिँदैन, किनभने हामीले गरेका कामहरु अब बाहिर आउनै पर्छ । सधैं विश्व व्यापार संगठनका मर्महरु, भन्सारका प्रविधिहरु, विश्व भन्सारका संगठनका मापदण्डहरु एवं सिद्धान्तहरु धेरै लेखिए तर लेखिएनन् ती पात्रहरु जसले आरोप भित्र रहेर भन्सारलाई एउटा जीवन्त आयाम बनाए ।

कतै कुनै मुलुकको कुनामा कहिँ पनि सामान्य अनियमितता भयो भने भन्सार नै बन्यो त्यो अड्डा भनेर पत्रिकामा छापिने चलन पनि कुनै नौलो होइन हाम्रो समाजमा । तर यतिभन्दा भन्दै अनियमितता र गैरकानूनी क्रियाकलापलाई समर्थन गरेको नबुझियोस् । हामी यस्तो अवस्थामा छौं कि कुनै कानुन उल्लंघन नगरी घरवाट अड्डा र अड्डावाट घर गर्नै नसक्ने अवस्थामा पुगिसेकेको कुरा विर्सन हुँदैन । अवको दुनियामा कुरामा आदर्श समाज र व्यवहारमा आफू नै सर्वे सर्वा बन्ने प्रवृत्ति चिरफार गर्नै पर्दछ ।

आजको विषय यस्ता कुरालाई थाती राखेर भन्सारका सामान्य चरित्र बारे कुरा गरौं । सामान्यरुपमा भन्सार सबै देशहरुका पूराना अड्डाहरुमा पर्दछन् । त्यसैले भनिन्छ भन्सार एउटा परम्परा पनि हो र दैनिक नयाँ पनि हुन्छ । प्रत्येक भन्सारको आ-आफ्नै चरित्र हुन्छ, त्यहाँको संस्कृति, वस्तुहरुको उपयोग, व्यापारिक संरचना, सुविधा, बाटोघाटोको अवस्था, छिमेकी देशको अवस्था आदिबाट भन्सारको चरित्र निर्माण भएको हुन्छ । तसर्थ सवै भन्सारमा समान स्वरुपले, समान अर्थमा, समान औचित्य प्रमाणित गर्न गाह्रो हुन्छ । एउटा मुलुकी कानून भन्सार ऐन जसले एउटा मुलुकका सीमा भित्रका भन्सारहरुलाई एउटै सियोमा उन्ने कोशिस गर्दछ । भन्सार देशभित्रको मात्र होइन देश बाहिरको पनि समन्वय गर्ने मुल अड्डा भएकाले यसको चरित्र सीमाविहिन नै हुन्छ भन्न सकिन्छ । यस्तै यस्तै विदेशी भन्सारहरुसँग समन्वय गर्ने, भन्सार सुधार अभियानमा लागिरहँदा सुनेका भनिएका कुराहरुलाई यहाँ संयोजन गरी भन्सारका साझा चरित्रहरु नामाकरण गर्ने प्रयास गरिएको छ ।

१. सीमाको इज्जत : भन्सार अक्सरत सीमामा हुन्छ । एयरपोर्ट भन्सार र केही सामुद्रिक भन्सार बाहेक सबै भन्सारहरु मुलुकको सीमामा रहेका हुन्छन् । मुलुकको सीमाको संस्कृति भन्सारमा देखिइहाल्छ । कि त अति राष्ट्रवादिता कि त राष्टहित विपरित । दुवै पक्ष भन्सार सहयोगी होइनन् । यही वीचमा रहेर भन्सारले कार्य सम्पादन गरि रहेको हुन्छ । त्यसैले विश्व भन्सार संगठनले भन्सार प्रशासन नै समन्वयात्मक सीमा व्यवस्थापनको नेतृत्वकर्ता हो भनेर भनेको पनि छ । आजभोली जमीनमा हुने मुलुकका भन्सारहरु पनि मुलुकको वीच भाग तिर रहने गरेका छन् जसलाई सुख्खा बन्दरगाह भनेर जानिन्छ ।

२. गन्ध : भन्सार आयो भनेर सडक किनारमा लेखिएका बोर्डहरु हेरिरहन पर्दैन रे । त्यहाँ पुग्न लाग्दा एक किसिमको गन्ध आइरहेको हुन्छ भनिन्छ । विभिन्न किसिमका वस्तुहरुको भण्डारण, ओसार पसार र नष्ट गर्ने प्रकृयाले गर्दा विभिन्न गन्ध तथा वास्नाहरुको चरित्रमा भन्सारलाई चित्रण गरिएको छ ।

३. दृष्ट्री : भन्सारमा वस्तुहरु जाँच्ने क्रममा वस्तु के वाट बनेको, कुन प्रकृया अबलम्बन भएको, कुन कानुनमा के भनेको छ ती कुराहरुको समग्र दृष्ट्रिकोण भन्सारले राख्दछ तसर्थ भन्सार एउटा समग्र दृष्ट्रिको पर्याय हो भनिन्छ ।

४. स्वाद : अर्को कुरा भन्सारमा सबै प्रकारका मालवस्तुहरु आयात निर्यात भई रहेका हुन्छन् ती वस्तुहरुको स्वाद भन्सार कर्मचारीले थाहा पाउनु पर्दछ भनिन्छ । ती सवै किसिमका गन्ध र स्वादहरुको मिश्रण नै भन्सारको एउटा बेग्लै अचम्मको स्वाद र गन्ध हुनु हो रे ।

५. भिषा : भन्सारका कर्मचारीलाई भिषा चाहिँदैन भनिन्छ । समकक्षी भन्सार अर्को मुलुकको संगै काम गर्ने साथी । अनि उसले उसको मुलुकको पल्लो सीमामा पुर्याई दिन्छ अनि त्यहाको अर्को मुलुकको साथीले अर्को सीमामा । भएन त संसार भ्रमण ?

६. फोहोर र धूलो : कहाँ वाट के आएको हुन्छ । कतिपय वस्तु कसको हो भन्ने पनि पत्ता हुँदैन । ट्रक, कन्टेनर लगायतमा टासिएका फोहोर देखि चालक, सहयोगी र श्रमिकहरुले गर्ने फोहोरवाट कुनै पनि भन्सार अलग छैन नै ।

७.   पेट : भन्सार भनेको पेट जस्तै हो, मनले चाह्यो मुखले खायो पचाउन सकस पेटलाई परेको छ । हो भन्सार त्यस्तै चरित्रको हुन्छ । के कहाँवाट आएर त्यहाँ ठोकिन्छ थाहा छैन ।

८. मिश्रित विषय : भन्सार सबै विषयहरुको जानकारी भएको वस्तु ज्ञानको भण्डार हो भनिन्छ । त्यहाँ रसायनिक, इन्जिनिरिङ, स्वास्थ्य, वातावरण, कानून, कृषी लगायतका विषयमा केही न केही जानकारी राख्नु पर्ने अनि सोही अनुरुप वस्तु वर्गीकरण गर्ने र सम्भद्ध कानूनहरुको सुची र ती कानूनहरुको कार्यान्वयन जटिल स्वभाविक नै छ । तसर्थ यो मिश्रण चरित्र अझ महत्वपूर्ण छ भनिन्छ ।

९. अन्तिम हतियार : सामान्यतया कम विकसित तथा विकासोन्मुख देशहरुमा आन्दोलन तथा विरोधको अन्तिम हतियार भन्सार बन्ने गरेको छ । सीमा अबरुद्ध गर्न सकियो भने समास्या छिटो सम्बन्धित निकायमा पुग्ने र सम्बोधन छिटो हुने विश्वास जो रहेको छ ।

१०. छिटो निर्णय र समाधान : जस्तो सुकै समस्या पनि भन्सारमा छिटो निर्णय गर्नु पर्दछ । जब निर्णयमा ढिलाई हुन्छ, व्यवस्थापन गर्न सकिँदैन । वस्तुहरुको व्यवस्थापन, मान्छेहरुको व्यवस्थापन लगायतका लागि तत्काल निर्णय हुन जरुरी मानिन्छ । सीमा व्यवस्थापन, विवाद र निरुपणका उपाएका लागि मान्छे अन्तिम विन्दु भन्सार सम्म पुगेर समाधान भेट्टाउँछ । तसर्थ भनम्सार एउटा समाधान पनि हो ।

११. भन्सारको भाषा र मुद्रा : भन्सारको भाषा र मुद्रा अन्तरराष्ट्रिय हुन्छ । राष्ट्रिय समन्वय र राजस्व संकलनको लागि भने होइन है । भन्सारले उत्पादन गरेका कागजपत्रलाई अर्को मुलुकको भन्सारले चेकजाँच गर्ने भएकाले भाषा र भन्सारमा आयात निर्यातका लागि अन्तरराष्ट्रिय मुद्रामा कारोवार हुने भएकाले भन्सारको भाषा र मुद्रा फरक फरक हुने एउटा साझा चरित्र बनेको छ ।

१२. सहजीकरण र नियन्त्रण : भन्सार एउटा नेपाली “तातो पानी तताए तताइदेऊ नत्र चिसै पानीले” भन्ने भनाईसंग मिल्दो जुल्दो हुन्छ । यदि त्यसो गरिएन भने भन्सार एउटा विशाल भन्डारण क्षेत्रमा परिणत हुन्छ र व्यापार सहजीकरण हुन सक्दैन । त्यसै गरी नियन्त्रण हुन नसक्दा राजस्व मर्ने मात्र होइन समाजको सुरक्षा पनि हुन नसकेर विग्रह उत्पन्न हुन जान्छ ।

उल्लिखित चरित्रहरु सामान्यतया भन्सारका मुख्य साझा चरित्रहरु हुन् । यस बाहेक अगाडी भनिए जस्तै भन्सार विच्छे फरक चरित्र निर्माण भएका हुन्छन् । अझ चरित्रहरु थप गर्न पनि सकिन्छ । पछिल्ला दिनमा भन्सार व्यापार सहजीकरणको एउटा पर्याय निकायको रुपमा हेर्ने गरिएको छ । विभिन्न अन्तरराष्ट्रिय संघ संगठनहरुले व्यापार सहजीकरणका लागि मापदण्ड र मापन औजार बनाएका पनि छन् । त्यसै गरी मुलुक हीत र जन सुरक्षाका लागि भन्सार उत्तिकै महत्वपूर्ण नियन्त्रणात्मक निकाय पनि हो भनेर बिर्सन सकिँदैन । अलमलको विषय भनेको कहा निर सहजीकरण गर्ने र कहा निर नियन्त्रणात्मक हुने भन्ने नै हो ।

हाम्रो जस्तो तीन तिर खुला सिमाना भएको मुलुकमा भन्सार अझ नियन्त्रणात्मक हुने हो भने चोरी पैठारी र निकासीले थप पश्रय पाउँदैनन भन्न नसकिने अवस्था छ । परिवर्तन तत्काल गर्नु पर्ने धेरै कुराहरु होलान् तर ती सबै परिवर्तन एकै पटक भयो भने के होला त्यसका असरहरु पनि अध्ययन हुनै पर्दछ । तसर्थ विस्तार विस्तार एउटा संजालमा ल्याउनलाई भन्सारले भरथेग गर्नै पर्दछ, जुन थोपा थोपाले समुद्र बन्दछ ।

भन्सार एक परम्परा पनि हो भनियो तर प्रत्येक बिहानै संगै भन्सार नयाँ भएर उठ्नु पर्छ । हिजोको निर्णय वा परम्परा आज लागू गर्नै पर्छ भन्ने छैन यदि त्यसो भयो भने सुधार कहाँ निर होला र ? तसर्थ नयाँ आयामका साथ भन्सार अनुबन्द भएका धेरै मापदण्डहरुको पालना र कार्यान्वयन, मुलुकी कानून, नियम कार्यविधिहरुको कार्यान्वयन र पालना गर्नु गराउदै अनुहारमा लागेको पोतो हटाउन धेरै प्रयासहरु गरिएका पनि छन् । समन्वयात्मक सीमा व्यवस्थापनको नेतृत्वदायी भूमिकामा भन्सार प्रशासनका व्यवसायिक पहलहरुले मुलुकको हीतका लागि भरथेग गरेकै छन् भन्न सकिन्छ ।

सन् २०१२ मा विश्व भन्सार संगठनले अन्तरराष्ट्रिय भन्सार दिवसको नारा “सीमावाट विभाजन: भन्सारवाट संयोजन” भनेर राखिएको थियो र यद्दपी आज पनि त्यो भन्सारीयाहरुको मन मतिष्कमा एउटा गायत्री मन्त्र भएर रहेको छ । भन्सार वास्तवमा नै अन्तरराष्ट्रिय सीमालाई जोड्ने महत्वपूर्ण निकायको रुपमा रहेको सबैले स्वीकार गरिएको विषय पनि हो । कानून एउटा परिदृष्यमा बनेको हुन्छ निश्चित उद्देश्यका लागि । त्यही कानूनको कार्यान्वयनमा हुने जटिलता नै कतिपय अवस्थामा परिवर्तनको अवरोध पनि हुन पुगेको देखिन्छ । कानूनको अक्षरस पालना त हुनै पर्दछ तर मुलुकको सर्वाङ्ग्रीण इज्जत, प्रतिष्ठा र हीतलाई सर्वोपरी बनाएर उद्देश्य अनुरुप कार्य गर्नु कम चुनौतिपूर्ण छैन ।

व्यवसायिक संहिताको पालना गर्दै धेरै जनहरुले यस ठाँउवाट विदा लिइ सकेका छन् ती कर्मठ योगदानहरुलाई सादर सम्झना !

हाल: वीरगंज भन्सार कार्यालय

सर्बाधिक पढिएको

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक

सि.स. ६१ अधिकृत क्याडेट पदमा उर्तीण हुनेहरुको नामावली सार्वजनिक ३ हप्ता पहिले | संसार न्यूज़

३ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी…

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम  सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा आवेदन फारम सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा…

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली

इजरायलको भूमिमा अस्ताइन् एक नेपाली चेली १ हप्ता पहिले | संसार न्यूज़

११ फागुन, इजरायल । इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात…

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका संशोधन गरिएको सूचना

त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका संशोधन गरिएको सूचना २ हप्ता पहिले | संसार न्यूज़

६ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन…