फागुन ४, काठमाडौं । तत्कालिन माओवादीका शीर्ष नेताद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई गत फागुन १ (जनयुद्ध दिवस)को दिन एउटै मञ्चमा देखिए । तत्कालिन माओवादी जनयुद्धका यी दुई सारथी झण्डै १६ महिनापछि एउटै मञ्चमा देखिएका थिए ।
बाबुरामको पुस्तक ‘गुमनाम आमाहरुका कथा’ विमोचन कार्यक्रममा दुई नेताहरु सँगै देखिएका थिए । कार्यक्रममा प्रचण्डलाई प्रमुख वक्ताको रुपमा निम्त्याइएको थियो ।
जनयुद्ध दिवसकै दिन पारेर गरिएको किताब विमोचन र प्रचण्डलाई प्रमुख वत्ताको रुपमा बोलाइएको उक्त घटनाप्रति अहिले राजनीतिक वृत्तमा निकै बहसहरु सिर्जना भएका छन् । कार्यक्रममा उपस्थित जसपा नेता अशोक राईले जनयुद्धबारे दिएको अभिव्यक्तिले अझ बहस रोचक बनेको छ । उनले ‘जनयुद्ध जारी छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
ओलीको कदमसँगै नजिक छन् प्रचण्ड र बाबुराम
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गराएका थिए । जुन घटनासँगै सत्तारुढ नेकपाभित्र विभाजन आएको थियो । विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीको उक्त कदमविरुद्व सडक आन्दोलन गर्दै आएको छ ।
ओलीको कदमविरुद्वमा आन्दोलन छेडेका प्रचण्डले त्यसयता विपक्षी पार्टीहरु र पूर्वमाओवादी खेमाका नेताहरुसँग छलफल बढाएका छन् । उनले पूर्वमाओवादीभित्रका नेताहरुमध्ये बाबुराम भट्टराईसँग नजिकबाट छलफल पनि अगाडि बढाएका छन् ।
प्रचण्डको योजनामै गत माघ ९ मा उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा दुई नेताबीच गोप्य छलफल पनि भएको थियो ।
प्रचण्ड र बाबुराम उक्त छलफलपश्चात नजिक देखिएका छन् । त्यसयता प्रचण्ड र बाबुरामबीच आन्तरिक रुपमा छलफल पनि चल्दै आएको उनीहरु निकट नै बताउँछन् ।
विभाजनले सकिएको थियो माओवादी आन्दोलन
शान्ती प्रक्रियामा आए लगत्तै २०६५ सालमा प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र (मसाल)बीच पार्टी एकता भएको थियो । तर, श्रेष्ठसँग एकता गरेको माओवादी पार्टीको मुलधारमा छोटो समयभित्रै विभाजन आएको थियो । २०६९ सालमा मोहन वैद्य किरणको नेतृत्वमा पार्टी विभाजन भएको थियो । वैद्यसँगै रामबहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरु प्रचण्ड नेतृत्वको माओवादीबाट अलग भएका थिए ।
तर, वैद्यको नेतृत्वमा पार्टी गठन हुँदा नहुँदै पुनः २०७० को मंसिरमा विप्लवले पनि पार्टी विभाजन गराएका थिए । त्यसयता पूर्वमाओवादीका अन्य केहि नेताहरुले पनि फरक–फरक नाममा पार्टी खोल्ने क्रम देखिएको थियो । त्यसक्रममा मणि थापा, मातृका यादव र गोपाल किँरातीले पनि प्रचण्ड नेतृत्वको माओवादीबाट अलग रहेर बेग्लै पार्टीको गठन गरेका थिए ।
माओवादी पार्टीमा विभाजनको लहर सुरु भएकै बेला २०७२ असोज ३ मा बाबुराम भट्टराईले पनि प्रचण्डसँग सम्बन्ध विच्छेद गर्दै नयाँ शक्ति निर्माणको घोषणा गरेका थिए । पूर्वमाओवादी र केहि स्वतन्त्र शैलीका मानिसहरु जम्मा गरेर खोलीएको नयाँ शक्ति पनि छोटो समयमै विभाजित बनेको थियो । तत्पश्चात भट्टराईले नयाँ शक्ति पार्टी पनि विघटित गर्दै तराई केन्द्रीत पार्टीसँग एकता गरेका थिए ।
माओवादी आन्दोलनको मुख्य नेतृत्वमा रहेका प्रचण्डले पनि २०७५ जेठ ३ मा तत्कालिन माओवादी केन्द्रलाई विघटित गर्दै तत्कालिन एमालेसँग एकता घोषणा गरेका थिए । एमालेसँग प्रचण्डले एकता गरेसँगै माओवादी आन्दोलन नै सकिने स्थितिमा पुगेको थियो ।
तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै माओवादी आन्दोलनका नेताहरु नजिक देखिएका छन् ।
पूर्वमाओवादीबीचको एकता कति सम्भव ?
देशमा परिवर्तन ल्याउन मुख्य भूमिका खेलेको तत्कालिन माओवादी आन्दोलन शान्ती प्रक्रियामा आएसँगै भने विभाजन र टुटफुटले सकियो । जनयुद्ध गरेका मुख्य नेताहरु माओवादी आन्दोलनलाई बिर्सँदै विकल्पहरुको खोजी गर्न थालेपछि पार्टी सकिएको थियो ।
तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै भने माओवादी आन्दोलनका नेताहरु एक ठाउँमा आउने स्थिति बन्न थालेको छ । यसबीच माओवादी खेमाका नेताहरुले गरेको छलफल र भेटघाटले पनि त्यस्तै संकेत गरेको देखिन्छ । तर, पूर्वमाओवादी आन्दोलनका सबै नेताहरु भने एक ठाउँमा आउने स्थिति छैन् ।
राजनीतिक उथलपुथलका बीच वैचारिक रुपमा नजिक देखिएका मात्रै नजिक हुनसक्ने सम्भावना देखिन्छ । एकातिर संसदीय व्यवस्थालाई मान्ने प्रचण्ड र बाबुरामसहितका पंक्ती एक ठाउँमा आउनसक्ने देखिन्छ भने हालको व्यवस्थाको विकल्प खोजेका वैद्य, विप्लव, गोपाल किराँती, आहुतीलगायतका नेताहरु एक ठाउँमा हुनसक्ने देखिन्छ ।
प्रचण्ड र बाबुरामले सहकार्यको लागि छलफल बढाईरहेकै बेला वैद्य र विप्लवसहितका नेताहरुले पनि मोचा गठनको प्रयास थालेका छन् । तर, प्रचण्ड–बाबुरामको सहकार्य र वैद्य–विप्लवको गठनबन्धन भने एकअर्काका विरोधी छन् ।