मुगुको चैन गाउँमा रहेको प्राचिन र प्रशिद्ध धार्मिक छायाँनाथको मन्दिरलाई कलात्मक शैलीद्धारा निर्माण गरिएको छ ।
छायाँनाथ रारा नगरपालिकाले तीन दशक अघि बनेको जीर्ण छायाँनाथको मन्दिर भत्काएर आधुनिक प्रबिधिको कलात्मक शैलीले जीर्णाेद्धार गरेको छ ।
उक्त मन्दिर निर्माणको लागि नगरले प्रथमपटक ३२ लाख बजेट बिनियोजन गरेको थियो । सो बजेट अभाव हुने अबस्था आएपछि पुन ७ लाख थप्न निर्णय गरेको छ ।
तीनदशक पछि छायाँनाथ ठाकुरज्यूको मन्दिर कलात्मक शैली बाट निर्माण भएको नगरपालिका वडान–२ का वडाअध्यक्ष परेकराज चौलागाईले बताए ।
मन्दिर निर्माण कार्य सम्पन्न गर्न करिव डेढबर्ष समय लागेको उनको भनाई छ । सन् १९९० सालपछि छायाँनाथमा कलात्मक मन्दिर निमाण हँुदा भक्तजन पूजारी स्थानीयबासीमा उत्साह थपिएको अध्यक्षको भनाई छ ।
मन्दिर निर्माणको लागि केही जुम्लाका र केही स्थानीय दक्ष सिपयुक्त मिस्त्री प्रयोग गरिएको थियो । पुरानो ढुंगा र माटोको गारो बाट बनेको मन्दिर भत्काएर काटेका ढुंगा, सिमेन्ट फलामे रड र काठमा बिभिन्न प्रकारका फुलबुट्ट भरेर मन्दिर बनाइएको छ ।
कलात्मक छायाँनाथ मन्दिर निर्माण कार्यको लागि चैन गाउँका असुनी कुमार हमाल र भरत हमालको बढी योगदान देखिएको छ । मन्दिरको वरिपरि दिप प्रज्वलन गर्ने स्थान समेत बनाइएको छ । मन्दिरलाई रंगरोगन गरेर चिटिक्कै पारिएको छ । कलात्मक मन्दिर निर्माणले गर्दा भक्तजनदेखि पुजारीलाई आत्मा खुशी तुल्याएको छ ।
धार्मिक प्रर्यटन प्रर्बद्धनको लागि छायाँनाथको मन्दिर कलात्मक आधुनिक शैलीको बनाइएको नगरप्रमुख हरिजंग शाहीको भनाई छ । सिमित छायाँनाथ मन्दिरमात्र नभएर नगरभित्रका सबै देबि देवताका मठमन्दिर जीणोद्धारमा पहिलो प्राथमिकता रहेको शाहीको भनाई छ ।
रारासंगै धार्मिक पर्यटन क्षेत्रलाई पनि जोड दिनुपर्ने अबस्था आएको नगर प्रमुखको भनाई छ । रारा भ्रमण आउने पर्यटकलाई छायाँनाथ दर्शन गराएर फर्काउने नगरको लक्ष्य रहेको छ ।
छायाँनाथको छायाँ
बद्रीनाथ केदारनाथ भारतमा छन भने छायाँनाथ मुगुमा छ । धार्मिक तिर्थस्थलको हिसावले मुगु उत्कृष्ट जिल्लामै पर्ने गरेको छ । मुगुले भगवान बाट दुई बरदान पाएको छ रारा र छायाँनाथ । सतिदेवीको एउटा अंग मुगु छायाँनाथमा परेको हुँदा छायाँनाथ तिर्थस्थल रहेको किबदन्ती छ ।
छायाँनाथप्रति जो जसले आस्था राखेर पूजापाठ दर्शन गर्छ उसैको फलिफाप हुने पुजारी लक्ष्मी प्रसाद चौलागाईको भनाई छ । तीन पटक छायाँनाथको दर्शन र भेटी दान गर्ने ब्यक्तिलाई मनमा चिताएको काम पूरा हुने बरदान प्राप्त हुने र निसन्तालाई सन्तान दिने शक्ति छायाँनाथमा रहेको पूजारीको भनाई छ । छायाँनाथलाई बिशेष गरि शिब–पार्वतीको प्रमुख तिर्थस्थलको रुपमा पुजापाठ हुने गरेको छ ।
छायाँनाथमा पूजा अर्चना
मुगुको चैनगाउँमा रहेको बेलुका पुजापाठ हुने गरेको छ । छायाँनाथको दर्शन गर्न बिहान गमगढीबाट कर्मचारी तथा आन्तरिक पर्यटक चैन पुग्ने गरेका छन् । शहरी क्षेत्रका धार्मिक मठमन्दिर बिहानै भक्तजनको भीड देखिने गरेपछि प्रशिद्ध छायाँनाथमा भने भक्तजनको बाक्लो उपस्थिति देखिदैन ।
गमगढी देखि चैन गाउँ पुग्न पैदल मार्गबाट १५ मिनेट र सवारी साधनबाट ८ मिनेट लाग्ने गरेको छ । बिशेष गरि छायाँनाथ मन्दिरमा जैनपूर्णीमामा पूजापाठ हुनेगरेको छ । जनैपूर्णीमामा चैन गाउँबाट पूजारी र सुरक्षाकर्मी सहितको टोलीले ठाकुरज्यूको गाथ अर्थात मूर्ती मुगुम कार्मारोङ गाउपालिकाको डोल्फू लैजाने र त्यहा एकसाता सम्म पुजापाठ गर्ने चलन छ । साथै हरेक बर्षको दशैं घटस्थापनाको दिनमा बाजागाजा सहित छायाँनाथको शिबलिङ्ग फेर्ने चलन छ ।
चैन गाउँदेखि डोल्फू छायाँनाथ तिर्थस्थलसम्म पुग्न २ दिन समय लाग्ने गरेको छ । डोल्फूको छायाँनाथ मन्दिर समुद्री सतहदेखि करिव ४५ सय मिटर उचाईमा अबस्थित र उक्त क्षेत्रलाई हिमरेखा मानिन्छ ।
छायाँनाथका पूजारी
प्रशिद्ध तिर्थस्थल छायाँनाथका पूजारी प्राचिनकाल देखि नै चैन गाउँका चौलागाई रहि आएका छन् । मन्दिरको पूजापाठ भक्तजनलाई टिका प्रसाद दिने काम चौलागाईँले गर्दै आएका छन् । अचेल चैन गाउँका लक्ष्मी प्रसाद चौलागाई भीम प्रसाद चौलागाई र तिलक प्रसाद चौलागाईले महिना–महिनामा पालो लगाएर चैन गाउँको छायाँनाथ मन्दिरमा बिहान बेलुका पूजापाठ दिप प्रजवलन गर्ने गरेका छन् । ऋणीमोक्ष र डोल्फूको छायाँनाथमा पनि चौलागाईँले नै पूजापाठ गर्दै आएका छन् ।
छायाँनाथमा पुण्यकार्य
छायाँनाथमा बिशेष गरि प्राय सबै पुण्यकार्य हुने गरेका छन् । ब्रतबन्ध बिबाह समेत गरिने गरेको छ । जनैपूर्णीमामा बिशेष गरि मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फूमा रहेको छायाँनाथ मन्दिर भक्तजनले पिण्डदान गौदान गर्ने गरेका छन् । धामी झाक्रीहरुले घण्ट माला चोख्याउने जस्ता कार्य हुने गरेका छन् छायाँनाथबाट नयाँ देवताको अबतार भई झाक्री हुने गरेका छन् ।
जनैपूर्णीमामा डोल्फू छायाँनाथ तिर्थस्थलमा बिभिन्न जिल्ला बाट हजारौ भक्तजन तथा झाँक्रीको लर्को लाग्ने गरेको छ ।
छायाँनाथको वरिपरि बढी देउताको
छायाँनाथ रारा नगरपालिकाभित्र प्रशिद्ध छायाँनाथ मन्दिर त छदैछ । वरिपरि उस्तै देवी देउताको बढी संख्या छ । गमगढीको बीच बजार क्षेत्रमा रहेका कालिका मालिका मन्दिर पनि आकर्षित र शक्तिमान छन् । उक्त मन्दिरमा पनि हरेक बिहान पूजापाठ हुने गरेको छ । नगरको वडान–१३ थार्प गाउँमा प्रशिद्ध मष्टा देउताको बास रहेको छ । उक्त मष्टा देउता पनि बढी शक्तिमान देखिन्छन । मष्ट देउताको पुजापाठ दर्शन गर्न बिभिन्न जिल्ला बाट तिर्थालुको बाक्लो सहभागी रहने गरेको छ । राजाबाट सिक प्राप्त गरेको मष्टाप्रति स्थानीयको ठूलो आस्था र बिश्वास रहेको वडान–१३ का वडाअध्यक्ष चक्र सावतको भनाई छ ।
छायाँनाथ रारा नगरपालिकाको वडा नं १ देखि १३ सम्म करिव ७ सय भन्दा बढी देवी देउताको मठमन्दिर छन् । उक्त देवी देउतालाई स्थानीयले आ–आफनै तरिकाले पूजापाठ गर्ने चलन छ ।
फोटो सौजन्य तस्वीर कबिराज कार्की