वैचारिक तर्कमा घोलिएको स्वार्थको रछ्यान,
दृष्टिले छुट्टाउन सकिनँ र,
सधैं सधैं दुर्गन्धमै लत्पतिएर रहेँ
भन यार !
अब म कसरी चोखिन सक्छु
निर्धन बा,ले
परिवारको समस्या
नबुझेझै गरेको
मैले बुझेर,
दाह्रा किट्किटाउदै बा,को पीडा कैयौंपटक निलेँ,
म कसरी अबुझ छु, यार !
नजानेर गर्भ तुहाउने विधि
विष सेवनले दिदीको मृत्यु हुँदा
मालिकले भने बमोजिम
मुर्छा परेर मरेको बयान दिएर
भाइ बहिनीलाई पेटभरभात निलाएँ,
बा,लाई स्वाभिमान दिलाएँ
सच्चा त म पनि कहाँ छु र, यार !
स्वार्थ लुप्त सखा सखिहरु
चरित्र हत्या गर्न संगठित हुँदा
छिमेकीको लाजले
झुटो लाञ्छना निलेँ
केही हदसम्म त म
तिमी भन्दा लजालु नै छु यार !
दुधले धोइएकाहरु नजिक पर्दा
सिनो,सिनोको हस्को आइरहँदा पनि
आफन्तको सम्बन्ध कायम राख्न
कुहिएको दुर्गन्ध निलेँ, निलिरहें
कुरा छिपाउन त
म पनि सक्छु नि यार !
गेरु बस्त्रधारीहरुको धमिलो नजर,
भृकुटीमा चन्दन लेपन गर्नेहरुको बहिरो पन,
समाजको अग्रपंतिका सेवकहरुको अपांगता पन,
सबै सबै देखेजतिको निलेँ
स्वार्थ त म मा पनि छ
समाजबाट खेदिनँ
कहाँ सक्छु र यार !
पद,पहुँच, धन र यौवनको उन्मादमा
सत्यता फिट्ने निर्लज्ज
एक्का बास्साहरुको खेल रेकर्ड
अब जतनले राख्नेछु
कुनै बेला मैलेपनि ‘सो’
गर्ने दिन आउन सक्छ यार !
काँढाले कोतर्दैमा ऐया,ऐया नगर
पैतालाको खिल चस्काउँदै यात्रा गर्नु पर्छ
झिनामसिना चिथराई त सहनु पर्छ सहु यार !
म सहन्छु र,त
हरेक अँध्यारो रात छिचोल्दै
सधै सुन्दर बिहानी देखेको छु
त्यसैले त म भन्छु-
नयाँ नौलो देख्दैमा नभुकिदिनू
मष्तिष्कले दाँज्नु
चेतनाले सुँघ्नु
स्तरले चिन्नु
उस्को सतह दृष्टि लगाउँनू
देख्दैमा,
नजिक पर्दैमा,
नभुकिदिनूम सहन्छु
सबै सहदै गएँ भने पो
मेरो मानसिकता पनि सबल होला
अरे यार !
दुनियाँले त म पागल भएको
हेर्ने चाहना बोकेको छ
तिमी मलाई लाचार भन सहि
तर म धर्ती हुँ सबै सहन्छु यार !
माटोमा अनेकौं बीउ छ भन्दैमा
एकैपटक कहाँ उम्रिन्छ र !
फूल पनि त ऋतु ऋतुमा फुल्छ नि
समय बदलिन्छ
यहाँ सबै परिवर्तनशिल छ
तथापि
चेतना बन्दक नबनाउनू यार !
परिस्थितिले लगाएको मुकुण्डो
र,
नियतबस गरेको नाटक बुझ्नु पर्छ
म त सबै सहन्छु, निल्छु
तर निलिसकेको ओकलेर कहिल्यै उग्राउँदिनँ यार !
म बात सहन्छु
लाञ्छना सहन्छु
सके कर्मले मन भरिदिन्छु
कान भरेर मस्तिष्कमा विष कदापि भर्दिनं यार !
म सहन्छु र,त
हरेक अँध्यारो रात छिचोल्दै
सधै सुन्दर बिहानी देखेको छु
त्यसैले त म भन्छु-
नयाँ नौलो देख्दैमा नभुकिदिनू
मष्तिष्कले दाँज्नु
चेतनाले सुँघ्नु
स्तरले चिन्नु
उस्को सतह दृष्टि लगाउँनू
देख्दैमा,
नजिक पर्दैमा,
नभुकिदिनू
जतिखेर पनि बास्ने भालेले
उज्यालोको संकेत दिँदैन यार !
त्यसैले म मिर्मिरे हुदासम्म मौन छु ।