१० फागुन, बेलायत । प्रवासी नेपाली एकता मञ्च युकेले बलत्कारपछि हत्या गरिएकी भागरथी भट्टको स्मृतिमा ‘भागरथी भट्ट महिला शसक्तिकरण अभियान कोष’ खडा गरेको छ ।
२१ फेब्रुवरी २०२१ मा सरस्वती केसीको नेतृत्वमा २७ सदस्यीय महिला बिभागको गठन गर्दै नेपालको बैतडी जिल्लाको सनातन माबिमा कक्षा १२ मा पढ्ने १८ बर्षकी भट्टको स्मृतीमा नेरु पाँच लाखको ‘भागरथी भट्ट महिला शसक्तिकरण अभियान कोष’ खडा गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष भक्त गुरुङले जानकारी दिएका छन्।
कोषको लागि बैठकमा दुईलाख रुपैयाँ संकलन भईसकेको र बाँकी रकम मार्च आठसम्म संकलन गरी भागरथी भट्टको परिवारलाई सहयोग गर्नुका साथै अक्षयकोष खडा गर्ने निर्णय गरेको गुरुङले बताए । उक्त कोष महिलामाथि हुने हिंसा, अन्याय र अत्याचारको बिरुद्ध महिला शसक्तिकरणको आवाज बुलन्द गर्न स्थापना गरिएको जानकारी दिँदै गुरुङले सहयोगको लागि सबैसँग अनुरोध गरेका छन् ।
साथै भेलाले अन्तराष्ट्रिय महिला दिवस आठ मार्चमा भव्य रुपमा मनाउने निर्णय समेत गरेको छ।