जालीहरू आँगन टेकेपछि
अक्सर मन लाग्छ
अक्षरका तरबारले
टुक्रा टुक्रा पारेर काटिदिउ
र
विना हिनताबोध
निशब्द शान्तिको श्वास फेरौं
मन लाग्छ
तिम्रो ताण्डबको बिचमा
अक्षरका बारुद भरेर पड्काउँ
क्षतबिक्षत गिदी टिपेर
फोहोरका कन्टेनरमा मिल्काउँ
शब्दकै आँधिबेहरीमा
तिम्रो टाउको चुँडिएर यज्ञ कुण्डमा जलोस्
र
शब्दकै अग्नि कुण्डबाट
बोकाको टाउको जोड्दिन सकौं
मलाई
संसारमा सबैभन्दा शक्तिशाली
शब्दको हतियार चलाएर
शब्दको सिर्जना
हेर्न मन छ
हुन त धेरै हेरियो
धेरै जोखियो
दायाँबायाँ ढल्किएको विचारको तराजु
कहिल्यै तटस्थ बसेन
र त
थोरै श्रद्दा बाँकी छैन मैदानमा
थोरै हावाले हल्लिने
तराजुको काँटामा बार हालेर
यि अक्षरका पहाड
पहाडजस्तै भएर उठिदिए
सायद
विनाशको बाटो थुनिएर
मनको जलन
विचारको स्खलन रोकिन्थ्यो
धुवाँ र रगतबाट जन्मिएका अक्षरहरू
धुवाँमा लटपटिएर
शान्तिको आकाश देखाउने थिए
जहाँ
अग्ला वा होचा हातहरू
एउटै साङ्लोमा गाँसिएका हुन्थे