Sansar News- Online for Global Nepali

कथाः जेनेरेशन ग्याप

ओमार बहादुर गुरुङ, स्पेन
२ महिना पहिले
कथाः जेनेरेशन ग्याप

टह टह जुनको उज्यालो सुनसान रातमा हामी एक हुल युवाहरु बगैचा र बारीका कान्लाहरुमा फक्रिरहेका छन् । यो रमणीय बेला बायुमण्डलमा रातकी रानी फूलबाट आइरहेको मधहोस् र सुगन्धित पवन फैलिरहेको छ । हामी आज बडादशैँको महा–अष्टमीको दिन कालरात्री मनाउन गईरहेका छौ । गाऊ घरमा यो रात नसुतिकन कालरात्री मनाउने परम्परा चल्दै आइरहेको छ । हामीहरु गाउँको प्रधानको घरमा गएर रोधी बस्न शुरु गर्छौ । कसैले मादल, कसैले बासुरी त धेरैले ताली बजाउदै हाम्रो रोधी शुरु हुन्छ । यो रात स्थानीय भाकाको लोक दोहोरीले प्राथमिकता पाउछ । गीत, संगीत र गीतसंगैको टुक्काहरुले युवा हृदयहरुमा रस र नसाको काम गर्छ । सारा दुःख,बेदना र अभाबहरु भुलेर स्वर्गीय अनान्दमा लिप्त हुन्छन् । अहिलेको आधुनिक संसारको लोकप्रिय डिस्कोथेकहरु भन्दा यो प्राकृतिक डिस्को बढी रमाइलो र आनन्दमय छ ।

जताततै दशैको चहलपहल छ । प्रकृतिले पनि दशैँ मनाईरहे झैँ लाग्थ्यो । घर माथिबाट झर्ने खहरे खोलाको गडगाडाहट अब बिस्तारै कम भईसकेको थियो । गाउँको बीचको चौतारोमा हालेको लठ्ठे पिङ्ग र जाँते पिङ्गबाट आइरहेको च–च हुई, च–च हुई आवाजहरुले हामी युवाहरुमा उत्साह, उमंग र आनन्दीको सन्देश दिईरहेको थियो । अनि गाउँ तलको बेसीमा पहेंलपुर भएर बयेली खेलिरहेका धानबालीले गाउँका कृषकहरुको मनमा हर्ष र खुशी बाँडी रहेको थियो ।

दशैको टिकाको दिन घरमा बुवाको हातबाट टीका ग्रहण गरेपछि म काइँला बुवा कहाँ गए । काइँला बुबाकोमा अरु पनि धेरै नै मानिसहरु क्रमिक रुपमा टीका ग्रहण गरिरहेका थिए । केही समयपछि मेरो पालो आयो ।

‘जय काली ! भद्रकाली !!…’ मन्त्र भट्टाउदै दही–चामलको सेतो अक्षेता काइला बुवाले मेरो निधारमा लगाई दिनुहुन्छ । ‘दुर्गा भवानीको अर्शिबादले ठागु (मेरो घरमा बोलाउने दोश्रो नाम ) भविष्यमा डाक्टर ! इन्जीनियर !! भएर, आमा–बाबालाई सधै खुशी राख्नु ।’ काइला बुवाको आशिर्बाद नसकिदै ‘मलाई त मन परेन हजुरको आर्शिवाद । अरु नै दिनु होस् !’ मैले भने ।

‘ए तिमी त कुरा गर्न सिपालु छौ । ल ! यो देशको ठुलो नेता भएस् ! प्रधानमन्त्री भएस् !! ’ काइँला बुबाले भन्नु भयो ।

‘यो पनि भएन !’ मैले पुनः भने ।

‘अनि कस्तो आर्शिवाद चाहियो त ? तिमी आफैले भन् !’ काइँला बुबाले पुनः भन्नु भयो ।

‘उही क्या सेबेदर, सुबेदार मेजर र लेफ्टिन; क्यप्टिन भएस भनेर दिनुस न ! भै हाल्यो नि !’ मैले फेरि भने ।

‘ए ! ल ! ल !! त्यो त म दिदै छु नि छोरा । ल भविष्यमा गोर्खामेजर भएर ठागु ! हाम्रो कुलको इज्जेत राखेर’ काइँला बुबाले भन्नु भयो ।

मैले खुशी हुदै वहालाई ढोग गरे ।

म नौ बर्षे केटाको लाहुरे बन्ने सपना देखेर त्यहाँ उपस्थित सबैमा हाँसोको लहर चल्छ । जीवनमा लाहुरे हुनु नै सबैभन्दा भरपर्दो स्थायी नोकरी हो भन्ने ज्ञान मलाई त्यसबेला भएको हुनुपर्छ । त्यहिँ उमेरदेखि नै मेरो जीवनको प्रमुख उद्धेश्य लाहुरे बन्नुमा केन्द्रित हुन् थाल्यो । लाहुरे बनेर आमा–बुबा, आफ्नो कुल र आफ्नो सपना साकार पार्ने संकल्प गर्न थाले ।

ब्रिटिश गोर्खा क्याम्प दीप पोखराको गेट बाहिर हजारौ युवाहरु भर्ति हुन जम्मा भएका छन् । लामो प्रतीक्षापछि मात्र गेटको ढोका खुल्यो र हामी भित्र पस्यौ । एक –एक गर्दै हाम्रो नागरिक प्रमाणपत्र र एसएलसी पासको सर्टिफिकेट चेक गरेर अझ भित्र लगेर गयो । मेरो बचपन देखिको सपना, मेरो बुबा–आमाको चाहाना र मेरो जीवनको प्रमुख लक्ष्य पूरा गर्न आतुर भएर लाइनमा उभिरहेको थिए । तर, अप्रत्याशित घटनाले म क्याम्पबाट बाहिरिएँ । मेरा बचपन देखिको सारा सपनाहरु सिसा फुटे झैँ चक्नाचुर भयो । मेरा बाबा–आमाको चाहनामा ठूलो बज्रपात भयो । यस घटनाले मेरो जीवनमा नै हलचल ल्याईदिएको थियो । जीवनमा अब म कहिल्यै सैनिक सेवामा जागिर खान अयोग्य ठहरिए । म मा आँखामा हुने बंशनुगत रोग कलर ब्लाइण्ड ( colour blind) रहेछ । यस्ता ब्यक्तिहरुले रंगीबिरंगी रंगहरुलाई छुट्टाउन नसक्दा रहेछन र यस्ता ब्यक्तिहरु सैनिक सेवामा अयोग्य ठानिदो रहेछन । मेरो बचपन देखिको सपना सिशा फुटे झैँ टुक्रा –टुक्रा भएर छरपस्ट भएको थियो । आफू बस्ने होटलको कोठामा आएर म रुन थाले । संगैका साथीहरुले सम्झाउने कोशिश गर्न थाले । तर म झन् चर्को स्वरमा ग्वाँ–ग्वाँ डाँको छोडेर रून थाले । किन –किन मेरो आँखाहरुबाट बलिन्द्र आँसुका धाराहरु बगि नै रह्यो । मेरो युवा र कलिलो हृदयमा ठूलो चोट परेको थियो । त्यतिबेला मेरो बुझाईमा जीवन नै बर्वाद भएको झैँ लागेको थियो । अचानक त्यति बेलामा कताबाट हो कुन्नि स्कुलमा म्याथ Math) पढाउने भीमलाल सर कोठाभित्र छिर्नु भयो ।

‘ठागु (मेरो उपनाम )के भयो ? किन रोएको ?’ वहाले प्रश्न गर्नु भयो ।

म नबोली रोई नै रहे ।

सगैंका साथीहरुले भीमलाल सरलाई मेरो सम्पूर्ण कहानी सुनायो ।

‘धत् नरोउ ! तिमी जस्तो प्रतिभाशाली युवा यो समाज र देशलाई खाँचो छ । छोड्देऊ अर्काको देशमा गएर गुलामी गर्ने पेशा । तिमी त साइन्स बिषय लिएर क्याम्पस पढ्नु पर्छ । मेहनत गरेर पढ्यो भने यहाँ तिम्रो र यो समाजको भबिष्य उज्वल हुन्छ ।’ यस्तै –यस्तै मातृभूमी, यो समाज र देशप्रति हामीजस्ता युवाहरुको कर्तव्य प्रति वहाले धेरै कुराहरु भनेर सम्झाउनु भयो ।

भीमलालसरकै मार्ग निर्देशनमा म क्याम्पस पढ्न गाउँबाट पोखरा झरे र पोखराको पृथ्बीनारायण क्याम्पसमा आईएस्सीमा भर्ना भएर पढन् थाले । आईएस्सी सकिएपछि मेरा धेरैजना साथीहरु ब्रिटिश लाहुरे, नेपाली सेनाको सह–सेनानी र प्रहरी सहायक निरीक्षक पदमा प्रतिष्पर्धा गर्न गए । धेरैजना सफल पनि भए । तर म बीएड पढ्न भर्ना भए । बीएड सकिएपछि पनि धेरै मन मिल्ने साथीहरु प्रहरी निरीक्षक र शाखा अधिकृतको लागि प्रतिष्पर्धामा उत्रिए । कति जनाले अधिकृत भएर जागिर पनि शुरु गरे । तर म आफ्नै स्वास्थको कमजोरीले जान सकिनँ । ‘किन खुम्चिस मरिच आफ्नै रागले’ भन्ने नेपाली उखान झैँ । समयको डोर्र्याइमा म एकदिन पृथिबी नारायण क्याम्पसमा बिहानी कक्षामा एमएमा भर्ना भए र दिउसो पोखराको अमरसिंह हाईस्कुल रामघाट पोखराको म्याथ –साइन्स पढाउने चके मास्टरमा नियुक्ति भएँ ।

आज बिहानको अन्थ्रोफोलोजी (Anthroropogy)पढाउने सरको अनुस्पथितिले क्लास भएन । म क्याम्पस हाताभित्र रहेको पश्चिमाञ्चल क्षेत्रिय लाईब्रेरिमा पसे । एलन म्याकफर्लेन (Allan Macfarlane) र इन्द्र बहादुर गुरुङ्गले संयुक्त रुपमा लेखेको ‘अ गाइड टु गुरुङ्ग’ किताब सरसर्ती हेरेर एकाध घण्टापछि बाहिर निस्किए । क्याम्पस गेटनिर आइपुग्दा अचानक एक महिलाले कारको झ्याल खोल्दै टाउको निकालेर बोलाइन् ।

ओ ठागु दाइ सबन मु ?’ उनी कारको अघिल्लो भागको ड्राइभर सिटसँगको बायाँ सीटमा बसिरहेकी थिइन् ।

म एक छिन टोलाएर हेरिरहे ।

‘मलाई चिन्नु भएन ?’ उनी मलाई हेरेर प्रतिउतर मागिरहेकी थिइन् ।

म अझ अलमलमा परि रहे । निक्कै लामो प्रयासपछि पो बल्ल चिने उनी त मेरो बाल्य –सखी सम्झना रहेछिन् ।

‘सम्झना ! तिमी !! कता बाट ?’ म आश्चर्य हुँदै भने ।

म यहि क्याम्पस गेटसम्म हो भन्दै ड्राईभर सिटमा बसिरहेको पुरुषलाई देखाउदै भनिन् ‘वहाँ मेरो श्रीमान ।’

मैले नमस्ते गर्न पाउँदा नपाउदै उसले आफ्नो हातहरु मतिर बढायो ।

यहि बेला सम्झना बसेको कारको पछिल्लो ढोका खोलेर एकजना हिउँ जस्तै सेती युवती भित्र पसिन् । सम्झनाले आफ्नो श्रीमान र ती सेती युवतीलाई मेरो परिचय दिइन् ।

‘वहाँ मेरो बच्चा देखिको साथी ठागु !’

कारमा बसेकी सेती युवतीले नमस्कार गरिन् र मैले फर्काए ।

‘वहाँ मेरो नन्द–हेमा, यहि क्याम्पसमा बिएड. पढ्छिन ।’ सम्झनाले उनको परिचय दिइन् ।

लामो समयपछिको भेटघाट भएकोले केही समय सम्झना र म गफमा गफिन थाल्यौं ।

सम्झनाले मलाई पनि आफूहरुसंगै आफ्नो घरमा जान आग्रह गरिन् । उनको श्रीमानले सम्झनालाई साथ दिदै जाउँ भनेर जोड गर्न थाले । मैले स्कुलको क्लास लिन ढिलो हुने बहाना बनाएर बिदा मागे । पछि समय मिलेर आउला भनि टारे । सम्झना मार्फत् चिनजान भएी हेमा र मेरो क्याम्पसमा पटक–पटक भेटघाट हुन थाल्यो ।

भेटघाट हुँदै जाने क्रममा एकदिन हेमा र मेरो सम्बध प्रेमपछिको मागी बिबाह बन्धनमा टुंगियो । पोखराको रामघाटको बौद्ध अर्घौ सदनमा गएर भगवान बुद्धलाई साँछी राखी बौद्ध परम्परा अनुसार हाम्रो बिवाह भयो । मेरो सम्पूर्ण परिवार गाउँमा नै थियो । बिवाहपछि मैले हेमालाई भाडाको कोठामा ल्याएर राखे । हेमाले पनि बिएड.पास गरेर बोर्डिंग स्कुलमा शिक्षिका भएर पढाउन शुरु गरिन् ।

हेमा र मेरो बीचमा धेरै कुराहरुमा बिचार र ब्यवहारमा समानताहरु कायम रहयो । उनी सानो कुरामा पछि बिशेष ध्यान दिएर हाम्रो सम्बन्धलाई प्रगाढ बनाउने कोशिश गर्थिन् । म उनको यो ब्यवहारले अति प्रसन्न थिएँ । हाम्रो बीचमा असमानता भन्नु नै आर्थिक हैसियतको थियो । हेमा सम्पन्न परिवारमा हुर्केकी सहरिया महिला थिइन् । म गाउँको मध्यम बर्गको किसानको छोरो । हेमाका बुबा–आमा, नातेदार र इष्टमित्रहरु प्राय सबै सम्पन्न परिवारका थिए । उनीहरु लाखौ–करोडौ पर्ने कारमा हिँडडुल गर्थे । महंगा–महंगा कार, गाडी, सुनका गर–गहनादेखि बजारका बहुमूल्य जग्गा जमिनहरु खरिद गर्ने योजनाहरु सुनाउँथे । उनीहरुको यो कुराहरुले मलाई मनमा कता–कता च्वास च्वास बिझाई रहन थाल्यो । त्यसैले मैले एकदिन हेमासँग बिदेश जाने प्रस्ताब राखे । यो होडबाजीको संसारमा किन आफु पछि पर्ने ? मैले आफूलाई मनमनै सोधी रहेको थिएँ ‘जीवन कसरी उत्कृष्ट बनाउन सकिन्छ ?’ बिज्ञानको विधार्थी भएकोले नाताले अस्तित्वमा रहन आफ्नो वरीपरीको बातावरणसँग संघर्ष गर्नुपर्छ भन्ने जीब बिकासको सिद्धान्तलाई स्वीकार्दै म पनि बिदेशमा गएर संघर्ष गर्ने प्रण गरे । मेरो प्रस्ताबलाई हेमाले पनि सहर्ष स्विकारिन् र एकदिन म जर्मनीमा पाइला टेक्न आइपुगे । ‘आफु नमरेसम्म स्वर्ग देख्न पाइदैन’ भन्ने नेपाली उखान बिदेश लागेपछि मात्र थाह पाएँ । आफू जन्मेको देश स्वर्ग भन्दा प्यारो हुन्छ अर्थात् (जननी जन्म भूमिश्च स्वर्गदपि गरीयसी ) भन्ने कुरा साँचो अर्थमा अनुभब गर्न पाएँ ।

यहाँ आएपछि कामको खोजी शुरु गरे । कतै कामको खोजीमा गयो कि सबैभन्दा पहिला भाषाको समस्या । भाषा जानेको छैन, के–कसरी कुरा गर्ने ? यहाँका मानिसहरुले अंग्रेजी बोल्न त्यति नजन्दो रहेछ । जानी हाले पनि बोल्न मन नपराउने रहेछ । बल्ल तल्ल जानी नजानी बीच –बीचमा अंग्रेजी मिसाएर यहाको भाषामा कुरा गरे । के काम जानेको छ ?कामको परमिट छ कि छैन ?प्रश्न माथि प्रश्न बर्साउन थाल्छन । कामको लागि बिदेश हिड्नु भन्दा पहिला हामीले आफुलाई कुनै काममा निपुण र पोख्त बनाउनु आवश्यक रहेछ । बिदेशमा कुनै काममा दक्ष –अर्धदक्ष कामदारहरुले राम्रै काम पाउने सम्भावना धेरै हुँदो रहेछ । सीप र भाषा नभएकोले काम पाउन मुस्किल हुँदो रहेछ । यदि पाई हालेमा पनि कम तलब, लामो समय ड्युटी, खतरापूर्ण काम पाइँदोरहेछ ।

मेरो बर्षौको मेहनतले प्राप्त डिग्री सर्टिफिकेटको यहाँ कुनै मान्यता थिएन । बल्ल तल्ल एउटा इण्डियनको रेस्टुरेन्टमा भाँडा धुने काम पाएँ र खुशीले गर्न तम्सिएँ । अदक्ष कामदार र कामको परमिट थिएन । कम तलबमा पनि काम गर्न हारेश खाईन । मेहनत र संघर्षका दिनहरु क्रमश बित्दै गए । गुरु अर्थात ओस्ताद एकदमै आदरणीय र सम्मानीय शब्द । हजारौ दिनहरु ऋाफू एक्लैले गरेको प्रयास भन्दा असल गुरुको साथमा एकदिन शिक्षा लिएर गरेको काम गुणस्तरिय र भरपर्दो हुँदोरहेछ भन्ने अनुभब मैले गरे । मैले यहाँ गडवाली ओस्तादसँग काम गर्ने अवसर प्राप्त गरे । अनि कुकिङ्ग सम्बन्धी कला सिक्दै गए ।

मेरो टिका थाप्ने पालो आउन अझै थुप्रै समय थियो । म आफ्ना अतितका बाल्यकालका दिनहरुमा घोत्लिन थाल्छु । मैले बचपनमा काइला बुबासँग मागेको आर्शिवाद झलझली आँखा सामुन्ने नाच्न थाल्छ । अनि भर्खरै प्रदीपले बाजेसँग मागेको आर्शिवादसँग तुलना गर्न थाले । लगभग उही मेरो बचपनको उमेरसँग मिल्ने र उही तरिकाले मागेको अर्को खाले अशिर्बादले म झस्किए । समयले कोल्टो फेरिसकेको रहेछ । ज्ञान –बिज्ञान र प्रबिधिले मानब जीवनमा परिबर्तन ल्याईरहेको छ । त्यहिँ परिबर्तन सँगसंगै मानिसका इच्छा,चाहना र आवश्यकतामा परिबर्तन भैरहेको छ ।

चक, डस्टर र कलम समात्ने हातहरु अब क्रमस डाडु ,पनियो, फ्राईपेन, छुरी र चक्कु समात्न अभ्यास्त हुन थाल्यो । तलब राम्रो र काम सजिलो हुन थाल्यो । शुरुका दिनहरुमा गरेका दुःखहरु क्रमस बिर्सिदै जान थाल्यो । तर, पनि काम गर्ने परमिट नभएकोले बेला–बखत श्रम–बिभागबाट चेकिङ्ग आउँदा लुक्नुपर्ने वा भाग्नुपर्ने बाध्यता रही नै रह्यो । ‘रात रहे अग्राख पलाउ छ’ भन्ने नेपाली उखान सम्झेर कुर्दा –कुर्दा निक्कै लामो प्रतीक्षा र संघर्ष पछि बल्ल मैले यहाँको बैधानिक कागज, हाम्रो नेपाली जनजिब्रोमा प्रचलित ग्रीनकार्ड प्राप्त गरे ।

झन्डै दश बर्षहरु पछि ग्रीनकार्ड पाएर म मातृभूमि नेपाल फर्किएँ । नेपालमा भरखरै शान्ति प्रक्रियाबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको थियो । गृहयुद्धको चपेटाबाट मेरो देश टीबी लागेको मानिस झैँ अस्थीपन्जर शरीर लिएर लर्खराउदै भरखरै टाउको उठाउन खोजिरहेको झैँ लाग्यो । मानिसहरु बल्ल शान्तिको स्वास लिइरहेको महशुस गरि रहेका थिए । शहरहरुमा भौतिक परिबर्तनहरु धेरै भैसकेको रहेछ । बाटोहरुमा बिदेशको झैँ लामो गाडीका लाइन लाग्ने भै सकेको रहेछ । टेम्पो, बस र अन्य बाहनहरुमा महिला चालकहरुलाई देखेर महिला जागरण बढेको जस्तो लाग्यो । तर टुरिष्ट एरियामा पहिला जस्तो पर्यटकहरुको भीड भाड थिएन । ठमेल जस्तो टुरिस्ट एरियामा पनि सुनसान बाताबरण देख्दा नेपालको अर्थतन्त्रर्मा प्रतिकूल असर परिरहेको सजिलै अनुमान लगाएँ ।

धेरै बर्षहरुपछि सुन्दर शरद ऋतुको बिहानीपख माछापुछ्रे र अन्नपूर्णमा रंगिन प्रभात देख्न पाउँदा म हर्षले गद–गद भएँ । म मेरो देशको प्रकृतिमाथि गर्व गरिरहेको थिए । फेवातालको आँगनमा बसेर निश्चल पानीका तरंगहरु खेलाई रहँदा मेरो मन पुनः एक पटक भाव–विव्हल भयो । अनि गहिरिएर अबिरल सुसाईमा लुकी हिड्ने सेती नदीको सुसाईसंगै सुसेल्दै म कल्पनाको महासागरमा पुगे । यो मेरो देश धर्तीको एउटा अनुपम स्वर्ग हो । यो मेरो देश संसारकै सुन्दर बगैचा हो । अनि आफूलाई नै प्रश्न गर्न मन लाग्यो । यति बिध्न रमणीयस्थल मेरो देशका हामी नेपाली जनता किन गरिब, भोकमरी र अभावमा पिल्सिरहेका छौ । तर, उतर पाउन सजिलो छैन । म केहि समय सेती नदीको गहिराईलाई नियाल्दै टोलाई रहे ।

नेपालीहरुको महान चाड बिजया दशमी नेपालीहरुको घर घरमा भित्रियो । टुँडीखेलमा खसी, बोका र भेडाका बथानहरु झुण्ड–झुण्डमा बेच्न राखेका छन् । हाम्रो गुरुङ्ग समुदायमा बिजयादशमी पहिलेको झैँ आजभोली धुमधाम सँग मनाउदैनन् । बिजया दशमी मान्ने र नमान्ने बिषयमा गुरुङ समुदायमा अझै बिवाद छ । पुराना पिढीका बुढा पाकाहरु परम्परा देखि मान्दै आएको संस्कारलाई हतपत छोडन मान्दैनन् । हेमाको घरमा पनि यसपटकको दशैँ मान्ने र नमान्ने बिषयमा बहस चल्यो । हेमाको बुबा असी नाघी सकेको र आफ्नो सास छउन्जेल दशैँ मान्ने बिचार ब्यक्त गरेपछि दशैको दिन हामी सबैले हेमाको बुबाको हातको टीका थाप्न शुरु गर्यौ ।

हामी यहाँ धेरै परिवारका सदस्यहरु छौ । सम्झना र उनको छोरा प्रदिप पनि । प्रदिप झन्डै सात –आठ बर्षको किशोर अवस्थाको उमेरमा हुर्कदै छ । दशैमा पहिला सानो मानिसबाट क्रमश ठूलो मानिसमा टिका ग्रहण गर्ने परम्परा छ । यहि नियम मुताबिक प्रदीपको टिका थाप्ने पालो पहिला आयो ।

‘ल ! नाति (निधारमा अक्षेता लगाई दिदै ) ठूलो भएर लेप्टीन–क्यप्टिन भएस ।’ हेमाको बुबाले आशिर्बाद दिनुहुन्छ ।

‘नाई मलाई त यस्तो आशिर्बाद मन परेन । अर्कै अशिबार्द दिनोस् न बाजे ।’ प्रदीपले विनम्रताको भावले भन्यो ।

‘के भनिस ?मैले त बुझिन ।’ हेमाको बुबाले भन्यो ।

‘यो आशिर्बाद भएन क्या बाजे । अर्कै दिनुस्’ हेमाको बुबाले कान अलि कम सुन्ने भएकोले प्रदिप बाजेको कानको नजिक गएर चर्को अवाजले बोल्छ ।

‘ए !ल !! ल !!!पढेर डाक्टर भएस् । इन्जिनियेर भएस । म त राम्रो आशिर्बाद दिन जान्दैनन क्या’ बुढौली उमेरको मन्द हाँसो हाँस्दै हेमाको बुबाले भन्छ ।

‘नाइँ त्यो पनि होइन । यो बजे त कस्तो रहेछ । आर्शिवाद दिन पनि नजान्ने ।’ प्रदीप रीसले पहिला भन्दा अझ चर्को स्वरले कराउछ ।

प्रदीपको इच्छा बिपरितको आर्शिवाद भएकोले हेमाकी आमाले श्रीमानको कानमा गएर चर्को स्वरमा कराइन् ।
‘नातिलाई यो आर्शिवाद पनि भएन रे ! अरु नै दिनु पर्यो !’

‘कस्तो–के भनेर दिने त ? लौ तिमी आँफै भन् ।’ हेमाको बुबाले प्रदिपलाई सोध्यो ।

‘पुसाइको (मलाई देखाउदै) जस्तै ग्रीनकार्ड पाएस भनेर दिनुहोसन्’ प्रदिप चर्को स्वरमा कराउछ ।

‘ए ! ल ल !! मेरो नाती ठूलो भएर अमेरिका ! युरोप !! को ग्रीन कार्ड पाओस् ।’ हेमाको बुबा खुशी हुदै आर्शिवाद दिन्छन् ।

प्रदिप खुशीले फुरुङ्ग हुँदै बाजेलाई ढोग गर्छ । अनि चलन अनुसार क्रमश अरुलाई ढोग गर्न लाग्छ ।

मेरो टिका थाप्ने पालो आउन अझै थुप्रै समय थियो । म आफ्ना अतितका बाल्यकालका दिनहरुमा घोत्लिन थाल्छु । मैले बचपनमा काइला बुबासँग मागेको आर्शिवाद झलझली आँखा सामुन्ने नाच्न थाल्छ । अनि भर्खरै प्रदीपले बाजेसँग मागेको आर्शिवादसँग तुलना गर्न थाले । लगभग उही मेरो बचपनको उमेरसँग मिल्ने र उही तरिकाले मागेको अर्को खाले अशिर्बादले म झस्किए । समयले कोल्टो फेरिसकेको रहेछ । ज्ञान –बिज्ञान र प्रबिधिले मानब जीवनमा परिबर्तन ल्याईरहेको छ । त्यहिँ परिबर्तन सँगसंगै मानिसका इच्छा,चाहना र आवश्यकतामा परिबर्तन भैरहेको छ । मैले मन–मनमा अड्कल बाजी लगाएँ सायद यहि नै होला जेनेरेशन ग्याप भनेको ।

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…