फागुन १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूह एकाकार रहेको बताईरहँदा समूहभित्र भने तीन धार स्पष्ट रुपमा देखिन थालेको छ । नेकपालाई औपचारिक रुपमा फुटाउने वा पुनः एकै ठाउँमा ल्याउने भन्ने विषयमा ओली समूहभित्र तीन धार देखिएको हो ।
केहि नेता जसरी पनि पार्टी विभाजन रोक्नुपर्ने र कतिपय तत्कालै पार्टी फुटाउनु पर्ने लाईनमा देखिएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा पार्टी विभाजनबारे नेताहरुबीच भनाभनसमेत भएको स्रोतले बताएको छ ।
तत्कालै पार्टी विभाजन गर्नुपर्ने पक्षमा बहुमत
शुक्रबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले मन्त्रिहरुसँग आगामी रणनीतिबारे सुझाब मागेका थिए । जसमा अधिकांश मन्त्रीहरुले तत्कालै पार्टी विभाजन गरेर जानुपर्ने बताएको स्रोतले बताएको छ ।
जनाएअनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित पूर्वमाओवादी खेमाका मन्त्रिहरुले तत्कालै पार्टी विभाजन गरेर जानुपर्ने सुझाब राखेका थिए । उर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु शाह, खानेपानी मन्त्री मणि थापालगायतले तत्कालै पार्टी विभाजनको विकल्पमा जानुपर्ने सुझाब दिएका थिए ।
उनीहरुले पुरानो एमालेलाई ब्यूताउने गरि जानुपर्ने पनि सुझाब राखेको स्रोतले बताएको छ ।
प्रचण्ड–नेपाल समूहका गतिविधिका कारण पार्टी एकताको सम्भावना नरहेको भन्दै मन्त्रीहरुले तत्कालै पार्टीलाई एकत्रीत गर्न पनि विभाजनमा जानुपर्ने सुझाब दिएका थिए । जनाइएअनुसार मन्त्रिहरुले एमाले ब्यूताउन सकिने पुनः पूर्वएमालेको स्थितिमा पुर्याउन सम्भव भएको विचार राखेको स्रोतले बतायो ।
तर, मन्त्री पौडेलसहित केहिको सुझाब – फेरि पार्टी जुटाउन पर्छ
पार्टीको अनौपचारिक विभाजनपश्चात पनि महासचिव विष्णु पौडेल पार्टीलाई जुटाउनु पर्छ भन्ने लाईनमा छन् । उनी र उनी पक्षको समूह पार्टी एकतालाई अगाडि बढाउनुपर्ने धारणामा छ ।
शुक्रबारको मन्त्रिपरिषद बैठकमा पनि पौडेलसहित केहि पूर्वएमाले पक्षधर मन्त्रीहरु पार्टीलाई एक ठाउँमा ल्याउनुपर्ने बुझाइएमा देखिएका थिए ।
स्रोतले जनाएअनुसार पौडेलसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलगायतले पार्टीलाई पुनः एक बनाउन छलफल अगाडि बढाउन आग्रह गरेका थिए ।
पोखरेल र पौडल पक्षबीच भनाभन
शुक्रबारको बैठकमा तत्कालै पार्टी फुटाउनु पर्ने र पार्टी एकतामा तत्कालै जुट्नुपर्ने विरोधी भनाईका बीच दुईबीच भनाभनसमेत भएको बुझिएको छ । जनाइएअनुसार मुख्यगरि उपप्रधानमन्त्री पोखरेल र अर्थमन्त्री पौडेलबीच भनाभनसमेत भएको थियो ।
पौडेलले पार्टी फुटाए भविष्य कमजोर हुने बताएका थिए ।
अलमलमा बादल
ओली समूहमा पुगेपछि आफुँ पक्षधर नेताहरुको साथ गुमाएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने आगामी कदमबारे अन्यौंलमा छन् । स्रोतले बताएअनुसार शुक्रबारको बैठकमा पनि उनी मौन बसेका थिए ।
पूर्वमाओवादी पक्षका मन्त्रीहरु तत्कालै पार्टी विभाजन गरेर जानुपर्ने सुझाब राखिरहँदा उनी मौन रुपमा सुनिरहेका थिए । जनाइएअनुसार पछिल्लो समय थापासहित केहि मन्त्रीको अवस्थाबारे प्रधानमन्त्रीले जिज्ञासा राखेका थिए । उनीहरुको पक्षमा सांसदहरु नभएको भन्दै प्रधानमन्त्रीले ‘सोंच्नुपर्ने’ बताएपछि थापा असन्तुष्ट छन् ।
शुक्रबार बैठकमा पूर्वमाआवादी पक्षका मन्त्रीहरुले पुनः एकता गर्दा आफुँहरु अपमानित हुने भनाई राखेको बुझिएको छ ।