१८ फागुन, धादिङ । एक्स्काभेटरको ठक्करबाट घाईते भएकी एक महिलालाई जिउँदै पुरेर चालक फरार भएको घटना बाहिर आएको छ ।
त्रिपुरा सुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्कदै गरी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएपछि उनी खाल्डोमा खसेकी थिइन् । तर कुमाललाई उद्धार गर्नुको साटो एक्स्काभेटर चालक भीम बहादुर बुढाथोकीले खाल्डो वरिपरीको माटो खनेर कुमाललाई पुरिदिएको समाचार मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ ।
उक्त घटनापछि काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुर्यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।
सडक निर्माणमा खटिएका मजदुरहरु त्यतिबेला खाना खान थालेको र महिला पुरिएको थाहा पाएपछि खाल्डो खनेर कुमालको शब झिकेका थिए ।
पुरिएकी महिलाको टाउकोमा ठूलो घाउ र रगत देखिएको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयका सब इन्सपेक्टर भानुभक्त आचार्यले बताएका छन् । दाङ घर भएका बुढाथोकीलाई पक्राउका लागि खोजि भइरहेको पनि प्रहरीले बताएको छ ।