१९ फागुन, काठमाडौं । सरकार र विप्लव समूह नेपाल कम्युनिष्ट पार्टीसँग एकै दिन दुई चरणको वार्ता भएको छ ।
सरकारले बनाएको वार्ता टोलीले विप्लव समूहको वार्ता टोलीसँग बुधबार नै दोस्रो चरणको वार्ता गरेको हो । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत दोस्रो चरणको वार्ता बुधबार साँझ भएको जानकारी दिएका छन् ।
यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो ।
वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको भट्टराईले लेखेका छन् ।
सरकारले प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्नका लागि मंगलबारमात्र गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारले वार्ता टोलिको नाम सार्वजनिक गरे लगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय टोलीको नाम सार्वजनिक गरेको थियो ।
दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत भएको,दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ— Rajan Bhattarai (@Rajanktm) March 3, 2021