२१ फागुन, काठमाडौं । बहराइनको राजरिवारका सदस्यको टोली सगरमाथा आरोहण गर्न नेपाल आउने भएका छन् ।
उक्त टोली सगरमाथाको आरोहणका लागि मार्च १५ (चैत २ गते) नेपाल आउने भएको नेपाली दूतावास बहराइनले जनाएको छ ।
उक्त आरोहण टोलीका सदस्यहरुले बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासँग बिहीबार भेट गरेर उक्त कुराको जानकारी गराएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिकसहितको १६ जनाको टोली विशेष विमानबाट नेपाल आउँदैछन् ।
उनीहरु झण्डै ३ महिना नेपालमा रहने दूतावासद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ । साथै सगरमाथा आरोहणका लागि आवस्यक बन्दोवस्ति नेपालस्थित सेभेन समिट ट्रेक्स प्रा.लिले गर्ने भएको छ ।
सो टोलीले सन् २०२० को अक्टोबरमा लीवुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक सम्पन्न गरेको छ ।