Sansar News- Online for Global Nepali

के माधव पुरै खेदिएका हुन् ?

निलम शर्मा
१ महिना पहिले
के माधव पुरै खेदिएका हुन् ?

१ चैत्र, काठमाडौं । सत्तारुढ दल नेकपा(एमाले)यतिबेला विभाजनको गम्भिर मोडमा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट चालिएका एकपछि अर्का कदमका कारण नेकपा(एमाले)भित्र मात्र होइन कम्युनिष्ट आन्दोलन नै संकटमा परेको छ । सर्वोच्च अदालतले तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बीचको एकतालाई टुङ्गाइदिएर पुरानै अवस्थामा पु¥याइदिएपछि पुरानै पार्टीमा फर्कन बाध्य बनेको माधव नेपाल–झलनाथ खनाल पक्षलाई पार्टी अध्यक्षबाट लगातार पेल्ने र खेद्ने काम भएको छ ।

यो लेख ७ वर्ष अघि (२०७० चैत्र) तत्कालिन अवस्थामा लेखिएको भएपनि अहिलेको समसामयिक राजनीतिमा पनि मेल खाने खालकै छ । यो बीचमा थुप्रै उतार चढाब भएपनि अहिले नेकपा(एमाले) ७ वर्ष अघिको अवस्थामै रहेको यथार्थ पुष्टि हुन्छ । पार्टी भित्र माधव नेपाल पक्ष खेदिएका छन् । यसले नेपाली राजनेताहरुको चरित्र कहिल्यै पनि परिवर्तन हुँदैन भन्ने कुराको समेत पुष्टि गर्दछ । समसामयिक राजनीतिमा मिल्ने हुँदा कतिपय विषयवस्तुहरु पुराना भएपनि पुनः ताजगीका लागि यो लेख जस्ताको त्यस्तै प्रकाशित गरिएको हो । – संपादक

किन खेदिए कामरेड माधव ?
समकालीन नेपाली राजनीतिका शीर्ष र प्रभावशाली नेता माधवकुमार नेपाल यतिबेला आफ्नै पार्टी नेकपा एमालेभित्रै खेदिएजस्तो अनुभूति नेपाली राजनीतिमा गर्न थालिएको छ । भौतिक कदमा होचो भएपनि अग्ला व्यक्तित्वको पहिचान पाएका माधव नेपालको प्रभाव घटेर वा जनविकर्षण बढेर उनी खेदिएजस्तो भएका भने होइनन् । नेताहरूको वान –टु वान महत्व र शीर्षस्थान जाँच्ने हो भने एमालेभित्र अझै उनले सबैलाई उछिन्ने स्थितिमा छन् तर पार्टीभित्रको पछिल्लो समिकरणका कारण भने उनी खेदिएजस्तो देखिएको पक्का हो ।

नेपालको विगत :
कम्युनिष्ट आन्दोलनमा नेतृत्व सक्रिय लिएदेखि नै अधिकांश समय दोस्रो बरियाताभन्दा तल बस्न नपरेका माधवकुमार नेपाल एमालेमा भाग्यशाली नेतासमेत भनेर पनि चिनिन्छन् । बल गरेको नदेखाइकन सजिलै गोल हानेर र अरुलाई नछक्याएको छनकमै सुविधाजनक परिणाम देखाउन सक्ने चतुर राजनीतिज्ञका रुपमा पनि उनी स्थापित छन् । तत्कालिन कोओर्डीनेसन केन्द्र हुँदै २०३९ सम्मको सी.पी नेतृत्वमा उनी दोस्रो बरियतामा पुगिसकेका थिए भने २०३९ देखि २०४६ सम्म तत्कालिन मालेको चौँथो महाधिवेशनसम्म आइपुग्दा उनी झलनाथ पछिकै वरिष्ठमा पर्दथे । उनी मदन भण्डारीको उदयपछि शक्तिशाली बनेर देखा परे । फलस्वरुप तत्कालिन मालेको तर्फबाट संयुक्त वाममोर्चामार्फत संविधान मस्यौदाका लागि महत्वपूर्ण प्रतिनिधिका रुपमा कार्य सम्पादन समेत गरे । तत्कालिन माले–माक्र्सवादी एकतापछि बनेको नेकपा एमालेमा उनी मनमोहन अधिकारी, मदन भण्डारी र साहाना प्रधान पछि चौँथो बरियतामा देखिएपनि कार्य जिम्मेवारीका हिसाबमा उनी दोस्रो नम्बरमै पर्दथे ।

नेकपा एमाले बनिसकेपछि पाँचौ महाधिवेशनबाट उनी सर्वसम्मत प्रक्रियाको व्यवस्थापन गर्ने महत्वपूर्ण पात्रका रुपमा देखा परे । पाचाै महाधिवेशनको दुईवर्ष नबित्दै शक्तिसाली महासचिव मदन भण्डारी र संगठकका रुपमा स्थापित नेता जीवराज आश्रितको दासढुंगा दुर्घटनामा षड्यन्त्रपूर्ण हत्या भएपछि नेकपा एमालेले एकप्रकारको ठूलो विपत्ति नै व्यहोर्नु प¥यो । राष्ट्रले नै भविष्य देखेको भर्भराउँदा नेता मदन भण्डारीको मृत्यु अस्वभाविक रहेको स्थितिमा पार्टीमा कार्यकारी महासचिवको बागडोर कसलाई दिने भन्ने विषयमा एमाले केहिदिन अन्यौलमा प¥यो । “नेताको हत्या गरेर शक्ति हस्तान्तरण गर्ने प्रवृत्ति कम्युनिष्टहरूमा हुन्छ” भन्दै एमालेभित्रै हत्यारा खोजिनु पर्ने प्रचार काँग्रेस नजिकबाट गराइएको थियो भने “प्रगतिशील रुपान्तरणको कोर्स पुरा गर्न नदिन प्रतिक्रियावादी र दक्षिणपन्थीहरुको गठजोड अर्थात् देशीविदेशी शक्तिहरुको षड्यन्त्रमा मदन भण्डारीको हत्या गरिएको” तर्क बामवृत्तबाट सम्प्रेषित थियो । यस्तो स्थितिमा पार्टीको कार्यकारी महासचिवको पद लिने विषय पनि चूनौतीपूर्ण नै थियो । माले आन्दोलनको धरोहर भनेर चिनिएका पुराना नेता सी.पी मैनालीतर्फ धेरैका आँखा पुगेको थियो । अर्थात् सि.पी पुनः महासचिव बनेर मदन भण्डारीको रिक्तता पुरा गर्नुपर्ने मनोकांक्षा एमालेका धेरै कार्यकर्तामा रहेको थियो । “बहुदलीय जनवाद मेरो लाइन होइन्, लाइन एउटाको र नेतृत्व अर्काको हुँदैन, विकल्प खोज्नुपर्छ” वरिष्ठ नेता सी.पीले यस्तो भनेपछि मनमोहनले बाटो खुलाइदिएको बुझे । त्यतिबेलै वरिष्ठ नेतामा गनिने अमृतकुमार बोहोरासमेतले जोडबल नगरेपछि मनमोहन अधिकारीको प्रस्ताव र केशव बडालको समर्थनमा माधवकुमार नेपाल महासचिवमा चयन भएका थिए ।

उपमहासचिवमा वामदेव : माधवलाई छायाँ
माधवकुमार नेपाल महासचिवमा चयन भए लगत्तै एमालेले दासढुंगा काण्डलाई हत्याकाण्डको रुपमा आन्दोलनकै एजेण्डा बनायो । यो आन्दोलनको अगुवाइ गर्दै वामदेव गौतमले पार्टीभित्र आफ्नो हैसियत र पकड विस्तार गर्दै गए । यसैबिच महाकाली सन्धिको प्रश्नले एमालेमा ठूलो बहस गरायो । शुरुमा महाकाली सन्धिको विपक्षमा रहेको भनिएका माधव, ओलीको बोलीबाट कन्भिन्स भएका थिए । वामदेव गौतमले महाकाली सन्धिको विपक्षमा नेतृत्व गरिरहेका बेला पार्टी फुटलाई जोगाउन एमालेभित्र पुनः प्रयत्न नभएको पनि होइन् । महाकालीको विपक्षमा लागेका १४ जना केन्द्रीय सदस्यमध्ये नोट अफ डिसेन्ट लेखेरै ‘राष्ट्रघात भयो’ भन्ने केशवलाल श्रेष्ठलाई केन्द्रीय सदस्यमा राख्न सकिन्न भन्ने माधवकुमार नेपालको त्यतिबेलाको अडान नै माले विभाजनको अन्तिम कारण बन्न पुग्यो । वाम आन्दोलनमा एकता चाहानेहरूले माधव–ओलीको त्यो नचाहिँदो अडानले नै पार्टी फुटाएको आरोप लगाउने गर्छन । “माधव नेपालले विभाजनबाट रोक्ने अबसर पाएका थिए, त्यतिबेला उनलाई मैमत्तावादले उराल्यो र पार्टी फुट्यो ।” एमालेका एक केन्द्रीय सदस्यको टिप्पणी रहेको छ ।

माधवमाथि मालेको आक्रोश
माधव नेपालको महासचिवकत्वमा उपमहासचिव भएर कार्यकारी अभ्यासको रसले जिब्रो लोभ्याएका वामदेव गौतमले पुराना नेता सीपी र राधाकृष्ण मैनाली (आर.के मैनाली)लाई साथ लिएर माले बनाएपछि माधवले एकछिन झमेला मुक्त महशुस भने गरे । घटनाक्रम यतिसम्म भयो की वामदेव गौतमलाइ १ नम्बरको भ्रष्टाचारी भनेर बदनाम गर्न प्रदीप नेपालमार्फत काठमाडौँको खुलामञ्चमा विशालसभा गराइयो । ३ सु (सुन, सुरा र सुन्दरी) का खलनायक बनाएर वामदेव गौतमको उछित्तो समेत काढियो । यसका पछाडि माधव नेपालकै ग्राण्ड – डिजाइन छ भनेर माले पक्षले माधव नेपालविरुद्ध आक्रोससमेत पोख्यो । माले पुनर्गठनपछि संसदमा मालेले प्राप्त गरेको जिरो (०) सिट र खस्केको एमालेका सम्बन्धमा समेत गहन समिक्षा भयो । अन्ततः १ नम्बरका भ्रष्टाचारी वामदेवलाई रातो कार्पेट बिछ्याएर बल्खु प्रवेश गराइयो । त्यतिबेला यस्तो टिप्पणी गरियो की “आँफूसँग निहुँ खोज्नेको हालत पातल बनाउन र समर्पण गरेपछि लाजैमर्दो गरी झुकाउन” माधव नेपाल सफल भएका हुन् । वामदेवले माओवादीसँग मिल्नुभन्दा पुरानै घरमा बसेर ‘लगानी र ब्याज असुल्ने’ कार्ययोजना बनाएर कृत्रिम हार्दिकता देखाउँदै माधवकै नेतृत्वमा एमालेको कार्यकता बन्छु भनेर एमालेमा विलय भए ।

लम्पसार फोटो र दरबारीया हुइँया

एमालेभित्र भएको यो एकतासँगै माधवसँग जोडिएको अर्को महत्वपूर्ण घटना राजदरबार हत्याकाण्ड छानविन थियो । शालिन, भद्र, प्राज्ञिक राष्ट्रवादी र लोकतान्त्रिक छविका तत्कालिन राजा विरेन्द्रको वंशनाश हुनेगरी नारायणहिटी हत्याकाण्ड घटाइएपछि त्यसको छानविन गर्न नयाँ राजा ज्ञानेन्द्रले माधव नेपालको नाउँसमेत राखे । आफूलाई नसोधिकन राखिएको भनेर पार्टी पंक्तिमा प्रष्टिकरण दिएका नेपालले केही दिनमै त्यो समितिबाट राजिनामा समेत दिए । सम्भावित थप षड्यन्त्रबाट टाढा रहन उनले त्यो चलख्याइँ गरेपनि पूर्वराजा ज्ञानेन्द्रको गद्दि अभिषेकमा भने उनले कला प्रयोग गर्न पाएनन् । विपक्षी दलको नेता जो भएपनि तत्कालिन स्थितिमा त्यसो गरिनु बाध्यतै थियो तर लम्पसार परेर दाम राखेर ढोगेको माधव नेपालको तत्कालिन फोटो २०६४ को निर्वाचनको परिणामसँग पनि गाँसिन पुग्यो । माधव नेपालको हिसाब ‘विपक्षी नेताको भूमिका अदाह’ गरेकोसम्म भएपनि त्यो क्षण र फोटो आन्दोलनका विभिन्न जीवनमा कलंक जस्तै बनाएर देखाउन खोजियो । माधव नेपाललाई लाग्दो होला, ‘भूमिका पुरा गर्ने नाउँमा किन त्यसो गरे हुँला ?’ यो लम्पसार प्रकरणपछि माधव नेपाल अर्को घटनामासमेत व्यङ्ग्यका पात्रसँग जोडिन पुगे । तत्कालिन राजाले प्रधानमन्त्रीको दरखास्त आव्हन गरेपछि सडक चर्चित लक्ष्मणसिंह खड्का दुईवटा हात्ती भाडामा लिएर दरबारमा बिन्तिपत्र हाल्न पुगे । लोककृष्ण भट्टराईलाई निवेदन लेखाएर अर्का दुई पात्र रामकुमार सुवेदी र डा. रामप्रसाद उप्रेती ओजपूर्ण कवितासहित प्रधानमन्त्रीको दरखास्त हाल्न दरबार पुगे । हैसियत यहि र यस्तै नभएपनि माधव नेपालले दरबारमा बिन्तिपत्र हालेको भनेर तिव्र प्रचार भयो । माधव नेपाल स्वभाविक दावीका साथ त्यहाँ पुगे पनि उनको विपक्षमा धेरै प्रोपोगाण्डाहरू भए ।

माधव नेपालले अघिल्ला घटनाक्रमहरुबाट पाठ सिक्दै सतर्क हुन सक्नु पर्दथ्यो । शुरुमा त्यस्तो देखिएन तर उनले प्रतिगमन सच्चिएको वा नसच्चिएको विषयमा पार्टीभित्र जुन मत राखे, बाहिर त्यसले ठाउँ पाएन । वामदेव–ओली र झलनाथहरू प्रतिगमन सच्चिएकोले सरकारमा जानुपर्दछ भनिरहँदा माधवसहितका १३ भाइले नसच्चिएको नै भनिरहेका थिए । यस्तो अल्पमतमा पर्दा पनि उनले बहुमतीय समिकरण खोजिरहे । माधवको राजनैतिक जीवनमा जान वा अन्जानबाट जे जति कमजोरी र गल्ति भएका थिए वा पछिल्लो पटकको लम्पसार प्रकरण जुन रुपमा उछालिएको थियो उनले त्यो सबैलाई चिर्ने उपर्युक्त समय र स्थान त्यहि बैठक थियो । त्यतिबेला उनले “अल्पमतमा भैसकेपछि महासचिव पदबाट राजिनामा दिन्छु मात्र भनिदिएको भए” उनको उचाइ बढ्ने कुरा निर्विवाद थियो । तर उनी त्यहाँ पनि, फेरि चुकेको देखियो ।
आत्मामा राजावादी नहुँदा पनि राजावादी दाग थोपरीएका माधव नेपालले तत्कालीन राजाको खेललाई राम्रोसँग बुझेका थिए । पार्टीभित्रका कतिपय वरिष्ठ नेताहरूलाई नयाँ ध्रुविकरणमा ल्याउन उनलाई बडो मुस्किल परिरहेको थियो, कतिपय नेताको आशंका यो छ की केपी ओलीलाई माओवादीसँगको वार्ता निकट पु¥याउन, १२ बुँदेको आधारभूमि तय गर्नं र निरंकुशता विरुद्धको संयुक्त आन्दोलनमा सहमत गराउन उनले काँग्रेसका नेताहरूमार्फत अरु शक्तिलाईसमेत गुहारेका थिए । फलत, माधवकै योजनामा हुँदै आएका लखनउ, सिलगुडी, गौरीफण्टा र दिल्लीवार्ता परीणाममुखी हुन सके । राजा र माओवादी दुबैलाई साइजमा नल्याइकन बहुदलीय व्यवस्था सुदृढ नहुने बुझाइमा रहेका गिरीजाप्रसाद र माधव नेपालबिच उच्चस्तरीय समझदारी भएअनुरुप पछिल्ला दिनमा माओवादीप्रति नरम हुँदै राजतन्त्रका विरुद्ध निशाना साँध्ने काम भएको थियो । यसकारण पनि राजाले उनलाई थुन्ने आदेश दिएका थिए । दुई नेताबिचको सहमति र प्रचण्डको पछिल्लो समझदारीले माधव नेपाल देशका तीन शीर्ष नेताको पंक्तिमा रहन सके । गिरीजाप्रसादको अवसानपछि पाका नेताकै हैसियतमा उनको चहलपहल अरुको भन्दा बढी हुनु पर्दथ्यो तर यो बिचमा उनको पार्टी र गिरीजाप्रसादकै कांग्रेसलाई समेत धेरै माथ गरेर प्रचण्ड नेतृत्वको माओवादीले बहुमतकै हाराहारीमा चुनावी परिणाम पु¥याइदिएपछि माधव स्वयम्ले पार्टीको कार्यकारी पदबाट राजीनामा दिए ।

निर्वाचनमा हारसँगै माधवको राजीनामा
तर, उनलाई पदबाट राजीनामा गर्नैपर्ने बाध्यता कसैले सिर्जना गरेको थिएन । एनेकपा माओवादीको पछिल्लो स्थितिमा प्रचण्ड जसरी असजिलोमा परेका छन् उनको त्यो अनुपातमा माधवका विरुद्ध खास गठजोड भएको थिएन । उनी आँफैले पदबाट राजीनामा दिएर झर्दा पनि उनको कद अग्लै थियो । उनले राजीनामा दिए लगत्तै पार्टीभित्रको कार्यकारी पदमा आँखा पुग्नु भित्रका प्रतिस्प्रर्धीहरु बिच स्वभाविक थियो । अहिलेसम्म पार्टीको प्रमुख पद नपाएका केपी ओलीले माधवको प्रस्ताव आँफूलाई आउँछ भनेर आश गर्दागर्दै झलनाथलाई प्रस्ताव पुगेपछि केपीले भित्रि इगो माधवसँगै राखेको भनिन्थ्यो । तर यस बिचमा मिलेर जाने सहमति गरियो । बुटवल महाधिवेशनसम्म आइपुग्दा केपीले माधवको समर्थन जुन रुपमा पाउनु पर्दथ्यो त्यो पाएनन्, अन्ततः झलनाथ–वामदेवको संस्थापन धारबाट अध्यक्षमा झलनाथ निर्वाचित हुनसकेका थिए ।

संविधानसभा र सरकार गिराउने तथा बनाउने खेलमा भने माधवको भूमिका निकै बढ्यो । निर्वाचन हारेका माधव मनोनयनपछि संविधानसभाको संवैधानिक समितिको सभापति भए । कटवाल प्रकरणमा प्रचण्डलाई सरकार छाड्न बाध्य बनाइएपछिको स्थितिका बिच नेता गिरीजाप्रसाद कोइरालाको ठाडो प्रस्तावमा माधवलाई प्रधानमन्त्री बन्ने अबसर मिल्यो । गिरीजाले प्रधानमन्त्री बनाइदिएका माधवलाई ओलीकोसमेत सर्मथन रहेको थियो भने झलनाथहरू खटपटमा थिए । यसलगतै प्रचण्डको ठाडो बलमा झलनाथ प्रधानमन्त्री बने । तर झलनाथलाई असजिलो पार्ने काममा माधव नेपाल लागेको खासै देखिएन । सरकारको समिकरणमा झलनाथ पछाडि बाबुराम प्रधानमन्त्री बनेर आइपुगे । त्यो बेला कतिपय झलनाथ पक्षधर भन्ने गर्थे, “माधवको रुचि देखिएन, ओली कमरेड चाहिँ बाबुराम बोेकेर हिंड्नु भएको छ… ।” नेकपा एमालेको पछिल्लो समिकरण हेर्दा चाखलाग्दो कथा देखिएपनि अस्वभाविक भने छैन । शक्ति कसको पछाडि छ भन्ने प्रश्नले गुट–उपगुटको चहल पहल बढाउने हुँदा गुट बनाउने काममा प्रत्यक्ष नभिडेका माधव नेपालको पछाडि भविष्य सुरक्षित नदेखिनुले नेताहरू बिचको समिकरणमा बद्लाव आएको मान्न सकिन्छ । केपी ओलीको हकमा भने उनी स्वयम् अध्यक्षका दाबेदार रहँदै आएको स्थिति हो भने वामदेव गौतमको बाहिरी अभिव्यक्ति चाहि ‘नेतृत्व हस्तान्तरणको सैद्यान्तिक अभ्यास’ मात्र हो । एमालेमा सबैभन्दा जब्बर आशंका उठेको के मा हो भने वामदेव गौतम कसरी रातारात ओलीसँग मिल्न पुगे ? यो मिलन ‘माधवलाई खेद्नुसँगको मात्र हो वा तत्कालीन अवसरहरूको उपयोगसँग मात्र ?’ कार्यकर्ताको बिचमा यो प्रश्न छिरलिएको छ ।

विद्या भण्डारी, विष्णु पौडेल र शंकर पोखरेल लगायतका ओलीका पुराना कट्टरहरूको योजनामा वामदेव तानिएका हुन भन्ने विश्लेषण पनि गरिएको छ । सैद्यान्तिक तर्क राख्न सिपालु विष्णु पौडेलले नेताहरूको उमेर, स्थिति र महाधिवेशनका सम्भावित चित्रहरूसहित वामदेवलाई “पावर– पोइन्ट” प्रिजेन्टेशन गरेपछि पार्टी, सत्ता र राजकीय सत्ताबाट सधैँ गुम्नु पर्ने कुराले उनलाई घुमाएको हुनसक्ने अड्कल गरिएको थियो भने केहि महिना अगाडिबाटै नयाँ समिकरणमा लागेका ईश्वर पोखरेलको हकमा भने कुरा अलिकति फरक छ । नवौँ महाधिवेशनमा ओलीलाई अगाडि सार्दा झलनाथ– माधव एकैचोटी बाहिरीने र पाङ न पुङका भनिने वामदेवलाई लोप्पा खुवाउँदै ओलीको प्रतिकुल स्वास्थ्यमा पार्टी–सत्ता सिधैँ आफूले लिने भित्रि राजनीतिका साथ ईश्वर चलेको मानिन्छ । यी विभिन्न ताकमा गरिएको नयाँ प्रयास अझै पूर्ण आकारमा परिपक्व भने छैन ।
अस्थायी समिकरणः स्थायी दाउ
ओलीले कुन रुपमा क–कसलाई बचन दिए, त्यो आफ्नो ठाउँमा छ तर महाधिवेशन लगत्तै संसदीय दलको नेता बनाइदिने वामदेवप्रतिको आश्वासन र दशौँ महाधिवेशनसम्म पुग्दा ‘पार्टी नै तिमीलाई’ भन्दै ईश्वर पोखरेललाई बाँडेको मिठाइको विषयमा अब कसैले आशंका नगरे हुन्छ । विद्यालाई राष्ट्रपति बनेको हेर्ने चाहना र विष्णु तथा शंकरहरूलाई क्रमशः पार्टी सुम्पने ओलीको मनशाय एमालेमा नयाँ मानिदैन । भविष्य सुरक्षित नदेखेपछि पुराना हितैषीहरूले एक–एक गरी छाडेका हु्न भन्ने अनुभूति पछिल्ला दिनमा माधव नेपाललाई भएपनि ओली–वामदेव–ईश्वर पोखरेलहरूको गठबन्धनलाई कृत्रिम र अस्थायी ठान्दै माधव नेपाल नयाँ दाउमा जाँदैनन् भन्न सकिने स्थिति पनि छैन । त्यसो त ग्राण्डीमा बैठक राख्ने कुरामा झलनाथसँग पनि तितो मत पोखेका माधवले आँफू नजिकका व्यक्तिहरुमार्फत झलनाथसमेतको सूचना बटुलिरहेको कुरो ओली निकटले सार्वजनिक गरिरहेका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै भइसकेका र सत्ता स्वाद लिइसकेका झलनाथ अरुसँग पिरिएर कार्यकारी पद लिनु भन्दा ओली समेतको समर्थनमा राष्ट्रपति बन्न उचित हुने कुरामा भुलिरहेका छन् भन्ने अनुमान माधव समर्थकहरूको रहेको छ । तर, उनले यहि विषयमा माधवसँग प्रष्टिकरण पु¥याउँदै भनेका छन् रे “मलाई राष्ट्रपति भनेर प्रचार गरिँदैमा मप्रति आशंका नगर्नुस्, कसैसँग समर्पण गरेको छैन् । केवल अध्यक्षको सन्तुलित भूमिकामा मानवीय व्यवहार मात्र गरेको हो ।” खनालको राष्ट्रपति बन्ने चाहनालाई स्वभाविक ठान्दै माधवले पार्टी सत्ता ओलीको कब्जामा जानासाथ धेरै कुरो गुम्नेतर्फ सजग गराउन खोजेको सुन्नमा आएको छ भने आँफूप्रति आक्रोशित भएका गौतमप्रति नरम व्यवहार गर्दै उनका स्वार्थको प्याकेज बनाएर ईश्वर पोखरेलसमेत आँफूतिर तान्ने प्रयत्नमा माधव नेपाल लागिरहेको पनि ओली पक्षको आशंका छ । विद्या, विष्णु र शंकरको भरपर्दो टिममध्ये विष्णुलाई महासचिव लडाएर जिताउने र विद्यालाई जसरी पनि राष्ट्रपति बनाउने ओलीको योजनाका कारण उधारोमा नफस्न भन्दै माधव पक्षीय नेताहरू वामदेव र ईश्वरकोमा पुग्न थालेको पनि सुनिँदैछ ।

एमालेको संसदीय दलको निर्वाचनमा माधवले विश्वास गरेका सबै मान्छेले झलनाथलाई मत नदिएझैँ ओलीले ऐलान गर्दैमा ओलीका सबै मान्छेले वामदेवलाई नमान्न सक्ने कुरा पनि वामदेवको कानमा पुगिसकेको छ । “संसदीय दलमा ओलीलाई भोट दिँदैमा पार्टी अध्यक्ष उनलाई नै छोड्नु पर्ने के छ ?” भन्दै वामदेवले सबैलाई थर्काउन थालेको पनि सुनिँदैछ । यस्तो स्थितिमा एमालेको वर्तमान समिकरण महाधिवेशनसम्म पुरै टिक्छ भन्न सकिने स्थिति छैन । केपी ओलीको प्रतिकुल स्वास्थ्य, वामदेवको होस्लाङे शैली र भलनाथको शालीन बहिर्गमनका बिच स्वास्थ्य शरीरसहित मध्यमार्गबाटै पार्टी चलाउन सक्रिय हुन्छु भन्ने माधव नेपाललाई पार्टीको बागडोर दिनै पर्दा छोटो लाइनबाट छिटो परिकल्पना
गर्नेहरुलाई सिधा ठेस देखिन्छ नै । सक्रिय राजनीति गरिरहे पनि गुटमार्फत व्यक्तिगत सुरक्षाको कबोल नगर्ने माधव प्रवृतिकै कारण पछिल्लो अस्थायी समिकरण देखिएको हो भन्ने ठाउँ त छ तर माधवकै कारण धेरैवर्ष कुर्नुपर्ने र नेतृत्व हस्तान्तरण भइनहाल्ने सम्भावनाले पनि पछिल्लो बद्लाव देखिएको हो भन्न पनि सकिन्छ ।

खेदिएको ठान्नु भ्रम कि वास्तविकता ?
माधवले आश्वस्त नपारेकै कारण ईश्वर पोखरेल मात्र होइन्, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गदेखि माधवकै सूचीबाट सभासद् बन्नेहरूले समेत उनलाई छाडिदिएका छन् । एकातिर केपी–वामदेव, ईश्वर पोखरेल–विद्या भण्डारी, विष्णु पौडेल–शंकर पोखरेलहरू उभिनु र अर्कातिर सन्तुलित भूमिकाका नाउँमा झलनाथलेसमेत माधवलाई पुछ्न छाड्नुले उनमा आक्रोस र विद्रोह पक्का जन्मेको छ । माधव नेपाल यति हुँदाहुँदै पनि शालिनताका साथ यो खेदाइलाई स्विकारेको देखिन्छ । एकपटक पनि प्रधानमन्त्री बन्न नपाएका केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर पार्टीको बागडोर कसरी लिने भन्ने खेलमा उनी अझै लाग्दैनन् भन्न सकिन्न । विचार, अन्तरसंघर्ष र स्थायी गुटका कारण वर्तमान समिकरण नबनेको हुँदा पनि नयाँ शक्तिसंचयका साथ माधव नजोसिएलान् भन्न पनि सकिदैन् ।
सधै सक्रिय भइरहन चाहने, मुल्य र मान्यतासँग सम्झौता गर्न नचाहने, पार्टीभित्र भ्रष्टाचारीहरूलाई ठाउँ दिन असजिलो मान्ने, भेटघाट र पहुँच सहज दिने, सरल–शिष्ट– शालीन र मध्यमार्गी स्वभावका माधवको लोकप्रियता घटेको छैन बरु उनकै दलका अरु नेता भन्दा उनी, अझै माथि छन् । मुटुमाथि ढुंगा राखी सजिलै हाँस्न सक्ने अर्थात् उनको भाषामा ‘नीलकण्ठले झैँ विष पिउन सक्ने’ खुवी उनमा देखिँदै आएको छ । घटनाक्रमले उनलाई खेदेजस्तो देखाएको छ । तर, सैद्यान्तिक आधारको योजनाबद्ध खेदाइ नभएका कारण उनी खेदिएकै हुन भनेर पर्गेल्न सक्ने स्थिति पनि छैन् । राजनीतिभित्र राजनीति र कुटनीति भित्र कुटनीति जानेका माधव अब स्थायी रुपमै खेदिएका हुन भनेर सोँच्नु भ्रम मात्र पनि हुन सक्छ ।

माधवका बारेमा कसको के धारणा छ ?

माहिर खेलाडी हुन्
सोमत घिमिरे, राजनैतिक विश्लेषक
माधव नेपाल लगभग ३० वर्ष सत्ताको वरिपरी आफूलाई राख्न सफल भए । मदन भण्डारी महासचिव हुँदा पनि पार्टी सत्ताको
केन्द्रमा उनै थिए । ०४६ र ४७ को आन्दोलनपछि संविधान सुझाव आयोगको सदस्य भएर राज्य सत्तामा प्रवेश गरे । मदन भण्डारीको मृत्युपछि लामो समय पार्टी सत्ताको प्रमुख बने । पार्टीको प्रमुख बने, संसदीय दलको नेता बने, विपक्षी दलको नेता बने र अझ पार्टी तेस्रो स्थानमा भएको
बेला प्रधानमन्त्री पनि बने । ससर्ती हेर्दा के देखिन्छ भने उनी लामो समयसम्म शक्तिको अभ्यास गरेका मानिस हुन् । शक्तिको कारणले आउने सबै अहम् उनमा छन् । शक्तिको प्रयोग र दूरुपयोगका माहिर खेलाडी हुन् । गुटबन्दीमा विश्वास गर्ने, सानो टिममा बस्न रुचाउने, साथी होइन दास खोज्ने, थोरै कार्यकर्ताको बिचबाट आफ्नो धारणा बनाउने, गहिरो सैद्धान्तिक ज्ञानप्रति अरुची राख्ने नेताका रुपमा माधव नेपाललाई बुझ्न सकिन्छ । विपक्षीप्रति शैली, शब्द चयनका हिसाबले नरम देखिए पनि आशयमा अत्यन्तै कटु र बहसमा विश्वास नगर्ने नेता हुन् । छोटकरीमा माधव नेपाल शक्ति विना एकछिन पनि बस्न नसक्ने नेता हुन् । अहिले उनको छटपटाहट पार्टी र संसदीय दलबाट बाहिर परेपछि बढेको हो । संस्कृतिका हिसाबले उनी कमजोर संस्कृतिका हुन् लामो समयसम्म इख पाल्ने, सानो कुरामा उत्तेजित हुने, समग्र मुलुक र पार्टीको हित सोच्न नसक्ने र जनता परिचालन गर्न नसक्ने नेताका रुपमा बुझ्न सकिन्छ ।

माधव थाकेका होइनन
जनिशा भट्टराई, बालुवाटार, काठमाडौ“
नेपाल कम्युनिष्ट पार्टी एमाले दोस्रो सविधानसभाको चुनावबाट दोस्रो ठूलो पार्टीको रुपमा अहिले सदनमा प्रस्तुत भएको छ । माथिल्लो तहको समकालिन नेता ३ जना बिच टकराव भएको जस्तो देखिन्छ र वास्तवमा टकराव छ, पनि ।

जसले जे अनुमान गरे पनि झलनाथ खनाल पार्टीको अध्यक्षको हैसियतले र यदि अध्यक्ष पनि नहुने र चुनाव पनि नजित्ने हो भने झलनाथ खनालको पार्टीभित्रको हैतियत उच्चतम देखिँदैन । यस्तै ओलीको त बोली नै गोली छ । उखान टुक्काको भरमार प्रयोग गर्ने अनि पर्यायबाची शब्द प्रयोग गरी आफनो कुरालाई प्रष्टयाउन खोज्ने भएकोले ओलीको दम पार्टीमा उच्चतम देखिएको छ ।

यी जे जस्ता भए पनि पार्टीमा निरन्तर रुपमा कहिल्यै नथाकिकन धर्यतापूर्वक कहिँ कतै विचलनमा नआइकन पार्टी र पार्टी भन्दा माथि उठेर सोच्ने कोही छ भने पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नै देखिन्छन् । जसले २ ठाउँबाट पटक पटक चुनाव हार्दा पनि कहिल्यै हारेको महसुश नगरिकन धैर्यतापूर्वक कार्यकर्तासँग लागेर नजिक भएर कार्य गरेको पाइन्छ ।

यसरी पार्टी भित्र होस् वा हिजो माओवादीको द्वन्द्व कालमा माओवादीसँग वार्ता गर्न सुटुक्क भारत गएर वार्तामा ल्याउन प्रयास गर्ने आफनो छवि अहिलेसम्म कहिले पनि चुक्न नदिने नेताका रुपमा देखिने माधवकुमार नेपाल देखिन्छन् । नेकपा एमालेमा त्यत्तिको कुटनितिज्ञ दम अरु नेतामा देखिदैन । जुनसुकै पार्टीसँग वार्तामा बसेर कुरा गरी निकासको लागि प्रयास गर्ने नेता नै नेपाल हुन् ।

हिजो प्रधानमन्त्री हुँदा माओवादीले गाउँबाट कार्यकर्ता ल्याएर ५ दिनसम्म नेपाल नै ठप्प बन्द गर्दा पनि नेपाल आफनो ठाउँबाट टसको मस नभई धैर्यतापूर्वक काम गरे । अरु नेता कति गन्हाए तर माधवकुमार नेपाल सरल जीवन बिताएर नै आफनो पहिचान बनाएका छन् । सर्वसाधारण वा कार्यकर्ता कसैलाई पनि सहजै भेट दिने कुरा सुन्ने बानी नै नेपालको अरुलाई आकर्षित गर्ने क्षमता हो ।

हिजोआज एमालेका सर्वोच्च नेताहरु सबै सदनमा आएका छन् । त्यसैले पनि माधव नेपाल छाँयामा परेजस्तो देखिएको हो । तर यो यथार्थ होइन । मेरो बुझाईमा माधवकुमार नेपाल थाकेका छैनन । बरु अरु उर्जा मिलेको छ, नियम उल्लंघन गर्न नचाहने । नियममा नै बसेर काम गर्न रुचाउने माधव नेपाल जस्तो नेता यस पार्टीमा छन ।

माधबलाई खुइल्याउन अन्तैबाट प्रयास भएको छ

एकराज चौहान, समाजवादी अभियन्ता
धेरै जनतालाई यो लागेको होला की माधब नेपाल अहिले ओली, गौतम र पोख्रेलको गठबन्धनबाट पीडित छन र खेदिएजस्तो भएका छन् । तर सत्य कुरो यो होइन । र आन्तरिक विवाद पनि प्रधान होइन । कुरो सुशील अंँठिएको शक्तिसँग पनि जोडिन्छ । सुशीललाई गएका केही वर्ष जताबाट धेरै कर्नर पारियो, त्यसकै वरपरबाट माधवमाथि प्रहार गरिएको छ ।

व्यक्तिगतरूपमा भन्नुपर्दा एमालेभित्र सबैभन्दा बढी राजनैतिक चेतना भएका परिपक्व राजनीतिज्ञ उनै माधव नेपाल हुन् । शालिन र भद्र पनि छन् । झलनाथलाई उचालेर आफ्नो सरकार गिराएको घाउ उनले भुलेका थिएनन् तर झलनाथका बेला उनले काँध थापे । आफ्नै पार्टीका वरिष्ठ नेताहरूले नयाँ समिकरणको हुइँया मच्याउँदा माधव नेपालले प्रतिवाद गर्न खोजे । माधव नेपाललाई नखुइल्याए सम्म र नखेदेसम्म एमाले सङ्लो बस्छ भनेर पिर चिन्ता गर्नेहरू यो काममा उपयोग भएका छन् । आन्तरिक कुरो त बबुरो हो, पात्रहरूलाई प्रयोग गरेर माधबलाई खुइल्याउने प्रयास अन्तैबाट भएको छ । माधवका कमी कमजोरी र हैसियत आफ्नै ठाउँमा भएपनि उनी माथिको वर्तमान अचाक्ली लामो नरहला ।

पार्टी बचाउने हो भने माधव नेपालले पनि गुट बनाउनु पर्छ

पुर्ण गौतम, एमाले कार्यकर्ता
बाहिरबाट हेर्दा कता–कता माधव कमरेड खेदिएजस्तो र सकिएजस्तो देखिएपनि वास्तवमा त्यस्तो होइन । एमालेलाई माया गर्ने तर कुनै गुटमा नलाग्ने कार्यकर्ताको मूलपंक्तिको नेतृत्व उहाँले नै गर्नुभएको छ । पार्टी राम्रो होस् भन्नेहरू माधव नेपाल बढी सक्रिय हुनुपर्छ भन्छन् । माधवको एउटा मात्र कमजोरी भनेको उहाँको निःस्वार्थता र उदारता हो ।

माधव कतिसम्म उदार छन् भन्ने कुरो २०६२÷६३ को जनआन्दोलनका घटनाक्रम सम्झँदा पनि प्रष्ट हुन्छ । त्यतिबेलाको आन्दोलनलाई केपी ओलीले “ठेला गाडा चढेर अमेरिका नपुगिने” भन्दै आन्दोलन आँफै भाँडिने र तुहिने बताएका थिए । त्यस्ता व्यक्तिलाई समेत लाइनमा ल्याएर निरंकुशता विरोधि आन्दोलन सम्पन्न गराउनु र गिरीजा तथा प्रचण्डँसँग सहकार्य गरेर गणतन्त्र घोषणा गराउनुमा उनको योगदान छ । त्यतिबेलाको कुरो उचालेर माधवले केपीलाई अहिलेसम्म माइनस गर्न र साइडमा राख्न सक्थे, त्यो गरेनन् । एमालेको स्वत्व र निष्ठामा आँच आउन नदिन उनले डन–प्रवृत्तिलाइ पुरस्कृत गरेनन् । कसैसँग पनि वायस नभैकन नेताहरूको नेता नै देखिए उनी । तर, अहिले उनी पुरानो पाराले चलेर हुने स्थिति छैन । पार्टी एकता बचाउनका लागि एकताप्रेमी तथा मुलधारका एमालेहरूको गुट बनाउन उनी तत्पर हुनुपर्छ ।

 

सर्बाधिक पढिएको

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह

एमाले नेता अर्यालद्वारा प्रधानमन्त्रीसँग स्पष्टीकरण माग, ३ दिनभित्र जवाफ दिन आग्रह ४ हप्ता पहिले | संसार न्यूज़

१० चैत, काठमाडौं । नेकपा (एमाले)का युवा नेता दामोदर अर्यालले…

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना

कतारमा रहेका नेपालीहरुका लागि दूतावासले निकाल्यो यस्तो सूचना ४ हप्ता पहिले | संसार न्यूज़

१२ चैत्र, काठमाडौँ । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरुको जानकारीका…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… १ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ७ दिन पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…