गोरूको बहर दाउने हैन
सिङ्गो देशका जनता दाउने
जसलाई जोतेर
धर्तिमातामा राटाहरू मेटाउने
उर्वरायुक्त जमिन
सधै अनाज उमार्ने
देशको माटोमा
मलाई हली चाहियो ।
सबै साँडेहरू झै
मातिएका छन् जनता
रोजगार छैन्
पिता पुर्खाले आर्जेको धर्ति
चौपट्ट बाँझो छ
तिघ्रेहरू यत्रतत्र भौतारिएका छन्
त्यसैले राष्ट्रको उर्वरा गर्न
चिम्टिएको माटोलाई
रुवा जस्तै फुर्फुराउदो पार्ने
मलाई हली चाहियो ।
धमिराहरूले पनि माटोलाई
खुकुलो पार्न सकेनन्
आजकलका धमिराहरू
पहिला जस्तो खुकुलो पार्न सक्दैनन्
कोच्चिएर र चेप्टिएर बसेका छन्
आफ्नै मौनतामा आवाज दविएर
लालची र लाचारी बनेका छन्
हो ! मेरो चञ्चलतामा अब
मलाई हली चाहियो ।
गड्यौला युक्त कृतिम मल झै
स्वस्थ र फुर्तिलो बनाउने
रोग निरोधक खाना
देशमा चम्किएको राजनीतिक
क्यान्सर हटाउन धर्तिमा
युरिया र डिएपिले किटिएको माटोमा
राजनीतिले रोगिएको भुँई आमैमा
भ्रष्टाचारका राटा मेटाउने
हो ! मलाई साच्चिकै
मेरो देश बनाउन गोरु दाउने
हली चाहिएको छ ।